Subscribe Us

३३ किलो प्रकरण,
वन र शाक्यलाई दोष दिदै ठूला उम्काउने खेल

काठमाडौं । विमानस्थलबाट काठमाडौ भित्रिएको ३३ किलो सुन हराएपछि उत्पन्न परिस्थितिले लहरो तान्दा पहरो खस्ने सम्भावना बढेपछि आत्महत्या गरेका सानु वनलाई दोष थोपरेर पन्छिने काम भैरहेको छ । माघको पहिलो साता दुबई हुँदै काठमाडौ आएको ३३ किलो सुन गायव भएसँगै ३ जनाको ज्यान गएको छ भने सो काण्डमा निवर्तमान प्रहरी महानीरिक्षकदेखि केही नेता व्यापारीहरू समेत तानिने सम्भावना बढ्दै गएकाले सुन हराउने सानु बन र लुटपाट गर्ने सनम शाक्य दुवैलाई दोषी देखाएर उम्कने प्रयास भैरहेको गृहमन्त्रालय स्रोतले जनाएको छ । 

सुनकाण्डको बिस्तृत अनुसन्धानका लागि सरकारले गठन गरेको अनुसन्धान समितिले पूर्वडिआईजी गोविन्द निरौला लगायतका प्रहरी अधिकारीहरूलाई उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरेसँगै २९ चैतमा अबकास पाएका निरौला पक्राउ परिसकेका छन् भने अन्यलाई पनि क्रमश पक्राउ गर्ने तयारी भैरहेको छ । निवर्तमान प्रहरी महानीरिक्षक प्रकाश अर्याल, पूर्व डिआईजी निरौला, एसएसपी श्यामबहादुर खत्री, र डिएसपी संजय राउत अनुसन्धानको दायरायमा तानिने सम्भावना बढेर गएको छ ।

सानु बन र सनम शाक्यले सुन लुकाएको अन्य यसमा दोषी देखिने सम्भावना कम भएको भन्दै समितिले उच्च पदस्थलाई जोगाउन खोजेको स्रोतले दाबी गरेको छ । त्यसैगरी सुन व्यापारी पवन अग्रवाल, राजेन्द्र शाक्य बाजेको सेकुवा सञ्चालक चेतन भण्डारी पनि मुछिएका छन् । त्यस्तै वर्तमान सत्ताधारी नेताका आफन्तहरू पनि तानिएको स्रोतले जनाएको छ । 

समितिले बयानका लागि बोलाएकोमा उनलाई नियन्त्रणमै लिएर थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै आईतबार बेलुकाबाट हिरातमा लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर गत २१ पुष र ९ माघमा दुबैपटक भित्रिएको साढे ३३ किलो सुन तथा घटनामा जोडिएका ३ जनाको मृत्यु प्रकरणपछि प्रहरी व्यापारी राजनीतिज्ञ समेत यो काण्डमा मुछिन थालेका छन् । 

काण्डमा मुछिएका एसएसपी खत्री प्रहरी प्रधान कार्यालयमा कार्यरत छन् । प्रहरी रेकर्डमा २०७२÷२०७३ मा विमानस्थल प्रमुख रहेका डिआईजी गोविन्द निरौला निरन्तर सुन तस्कर गिरोहसँग सम्पर्कमा रहेको अनुसन्धानबाट खुलासा भएको छ । उनकै कार्यकालमा गतवर्ष २१ पुषमा साढे ३३ किलो सुन केन्द्रीय अनुसन्धान ब्यूरोले बरामद गरेको थियो । सो समय विमानस्थलमा रहेका एसएसपी श्यामबहादुर खत्री  कारवाहीमा परेका थिए । 

तर मुद्दामा किल्न चिट नपाईकन उनलाई पूर्वआईजी प्रकाश अर्याललको समुहले प्रहरी प्रधान कार्यालयमा हाजिर गराएको थियो । त्यही समयमा विमानस्थलमा रहेका डिएसपी राउत पनि अहिले अनुसन्धानमा तानिएका हुन् । समितिले अनुसन्धानका लागि बोलाएका अधिकारीहरूको सुन तस्करीका नाईके गोरे भनिने चुडामणि उप्रेतीलगायतका तस्कर समूहसँग सम्पर्क देखिएको स्रोतले जनाएको छ । 

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित ९ सदस्यीय समितिले सुन तस्करीमा प्रत्यक्ष संलग्न रहेका प्रहरी, भन्सार अधिकारी, विमान कम्पनीमा कार्यरत उच्च तहका अधिकारी र व्यवसायीको सूची तयारै गरेर पक्राउ गर्न थालेको हो । 

फ्लाई दुबईको विमानबाट आएको ३३ किलो सुन विमानस्थल कटाएर अर्को व्यक्तिलाई ह्याण्डओभर गर्ने जिम्मा लिने व्यक्ति एलबी मगर भए पनि उनको संलग्नताबारे कहीँ कतै उल्लेख गरिएको पाइदैन । २०७४ माघ ९ गते विमानस्थलमा सुन आईपुग्यो, तर एलबी आएनन् । यसपछि सुन तस्करका नाइके चुडामणि उप्रेति ‘गोरे’ ले सो सुन पुरानोबानेश्वरसम्म लगेर छाड्ने जिम्मा सानु वनलाई दिए ।

सानु तिनै हुन् जसले गएको माघ २२ गते विमानस्थलमा गुड्दै गरेको ट्याङ्करको चक्कामा ठोक्किएर आत्महत्या गरेका थिए । स्रोतका अनुसार ५५ बर्षिय सानु वन थाई एयरवेजका इन्जिनियर हुन् । सानु वन स्कुटरको पछाडी थिए, स्कुटर चलाउने व्यक्ति अर्कै थिए । सुन बोकेको स्कुटर काठमाडौँको नयाँ बानेश्वर स्थित रत्नराज्य स्कूलमा पुगेको मात्र के थियो, त्यहिँबाट बनले ‘गोरे’ लाई फोन गरेर सुन लुटिएको जानकारी गराएका थिए । 

‘गोरे’ ले सुन लुटिएको कुरा पत्याएनन्, अनि बनलाई रातदिन टर्चर दिन थाले । ‘संगठीत रूपमा भएको सुन तस्करी र सनम शाक्य हत्या प्रकरण’ छानविन गर्न बनेको समितिका एक सदस्यका अनुसार समितिले सानु बनलाई टर्चर दिएको भिडियो फेला परेको छ । सो भिडियोमा ‘गोरे’ ले बनलाई ‘सुन लुकाएको ठाउँ देखाइस् भने तलाई जीवनदान दिने बताएका थिए । 

हरेक दिनको टर्चर अनि ‘गोरे’ले जीवन नै सिध्याउने धम्की दिन थालेपछि वनले आत्महत्याको बाटो रोजेको हुनसक्ने प्रहरीको अनुमान छ । माघ २२ गते थाई एयरवेजको ग्राउण्ड ह्याण्डेलिङ इक्विपमेन्ट राख्ने स्थान नजिकै गुडिरहेको इन्धन बोक्ने एआर–२७ नम्बरको ट्याङ्करमा दौडिएर उनी चक्कामुनि पसेको सिसिटीभी फुटेजमा देखिन्छ । सानु वनका छोराले आफ्नो बुबाले आत्महत्या नै गरेको समितिका सदस्यहरूलाई बताएका छन् । 

समितिका एक सदस्यका अनुसार उनको छोरालाई हामीले बोलाएर सोधपुछ गरेका थियौँ, आत्महत्या नै गरेको भनेर घटना स्थापित गर्ने शर्तमा मात्रै उनले बयान दिएका थिए । फागुन १८ गते धरानमा यातना दिने क्रममा मारिएका मोरङको उर्लाबारी–७ का सनम शाक्य सुन तस्कर ‘गोरे’को एकाउन्टेन्ट थिए । 

समितिको छानविनका क्रममा शाक्य समेतको मिलेमतोमा सुन गायब गराइएको भन्दै ‘गोरे’ ले उनलाई यातना दिएका थिए । यातना दिने क्रममा शाक्यको मृत्यु भएसँगै ‘गोरे’ र महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सन्जेलबीचमा शव व्वस्थापनकै लागि पाँच करोडबाट शुरू भएको बार्गेनिङ दुई करोडमा टुंगिएको थियो । 

समितिसमक्ष बयान दिने क्रममा सञ्जेलले हत्यारा पक्राउ गर्न र शव बरामद गर्नका लागि आफुले राम्रो उद्देश्य राखेर (गुड फेथमा) त्यस्तो बार्गेनिङ गरेको बताएका छन् । यद्यपि छानविनको क्रममा शंकास्पद भूमिका देखिएको र प्रहरी प्रधान कार्यालयको लिखित आदेशविना कार्यक्षेत्र ख्यालै नगरीकन धरान पुगेको भन्दै महाशाखाका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई प्रधान कार्यालयले महाशाखाको जिम्मेवारीबाट हटाइसकेको छ । 

धरानको जंगलमा सनम शाक्यको मृत्यु हुनुअघि उनले बोलेको र यातना दिएको भिडियो समितिले फेला पारेको छ । सो भिडियोमा सनमले ‘डिआईजी गोविन्द मामा’ भनेर सम्बोधन गरेका थिए । चैत २९ गते अवकास पाएका डिआईजी निरौलामाथि पनि अनुसन्धान भईरहेको समितिका एक सदस्यले बताएका छन् । 

पछिल्लो पटक प्रहरी प्रधान कार्यालय सरूवा हुनुअघि निरौला त्रिभुवन विमानस्थलमा कार्यरत थिए । काठमाडौं उपत्यका मात्रै कार्यक्षेत्र भएको अपराध महाशाखाका तत्कालिन एसएसपी दिवेश लोहनीले तत्कालिन प्रहरी महानिरीक्षक प्रकाश अर्यालको आदेशले पूर्वमा गएको बयान दिएका छन् । ‘पूर्वमा त्यहीँ स्थानिय प्रहरी हुँदाहुँदै लिखित आदेश बिना किन महाशाखाबाट प्रहरी पठाइयो भन्नेबारे प्रश्न उठेको छ । अर्यालकै आदेशमा गएका कारण उनलाई पनि बयानका लागि समितिले बोलाउने भएको छ । चुडामणि उप्रेतिले धेरैजसो फलाई दुबई र थाई एयरवेजबाट सुन ल्याउँथे । 

छानबिन समितिका एक सदस्यका अनुसार ‘गोरे’ ले प्रतिमहिना १० पटकसम्म सुन ल्याउने गरेको खुल्न आएको छ । गृह–मन्त्रालयका सह–सचिव पौडेलको नेतृत्वमा बनेको छानविन समितिले अहिलेसम्म सुन तस्करीको चेनमा जोडीएका २१ जनालाई पक्राउ गरेर संठगित अपराध तथा कर्तव्य ज्यान मुद्दा चलाएको छ । अहिलेसम्म पक्राउ परेकाहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरूङसहित बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लाल बहादुर मगर, राजु महर्जन, भारतीय नागरिक महाविर गोल्यान, एल बी मगर, आरके ज्वैलर्सका सञ्चालक राजेन्द्र शाक्य रहेका छन् । केही दिनअघि शाक्यसँगै पक्राउ परेका प्रेमलाल चौधरीको महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतमा रहस्यमय मृत्यु भएको थियो । चौधरी सहित उक्त सुन प्रकरणमा मृत्यु हुनको संख्या ३ पुगेको छ ।

Post a Comment

0 Comments