Subscribe Us

एकताअघि नै एमाले–माओवादीभित्र ‘क्रस’ समिकरण

प्रचण्ड बहुमतमा उभिने दाउमा पार्टी एकीकरणमा भट्टराई यादवलाई सहभागी गराउने खेलमा लागेका छन् भने ओली माओवादीभित्रै खेल्ने दाउमा छन् .

प्रारम्भिक चरणमा माधव नेपाल, बामदेव गौतमको खेमा प्रचण्डको गुटमा भिज्न चहान्छन् भने नारायणकाजी श्रेष्ठ बर्षमान पुन ओलीको खेमाका उत्तराधिकारी बन्ने लक्ष्यमा छन् 

काठमाडौं । मदन भण्डारी महासचिव भएका बेला एमाले विभाजनको समिकरण तयार पारेका केपी शर्मा ओली र बामदेव गौतमको पोल्टामा छ, अहिलेको पार्टी । सशक्त अर्को कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रसँग एकीकरणको अन्तिम विन्दुमा पुगिसकेको छ । 
एकीकरण घोषणापछिको नेपाल कम्युनिष्ट पार्टी घोषणा गर्ने तयारी पनि भएको छ । यो तयारीसँगै पार्टीभित्र गुटका लागि ‘क्रस’ समिकरण अहिले नै तयार भइसकेको छ । 

एकीकृत पार्टीको शक्तिशाली अध्यक्ष र प्रधानमन्त्री समेत हुने महत्वकांक्षामा रहेका प्रचण्ड र प्रधानमन्त्री रहेका ओलीलाई पार्टीको जिम्मा लगाएपछि दुवै पार्टीको क्रस समिकरणको अभ्यास भएको छ । खासगरी ओली क्याम्पमा माओवादीबाट नारायणकाजी श्रेष्ठ, बर्षमान पुन, जनार्दन शर्मा, रामबहादुर थापा बादल, पम्फा भुसाल छिर्ने प्रयासमा छन् । उता प्रचण्ड क्याम्पमा भने एमालेका माधवकुमार नेपाल, बामदेव गौतम, इश्वर पोखरेल, सुरेन्द्र पाण्डे, लालबाबु पण्डितलगायतका नेताहरूले क्याम्प बनाउने तयारी गरेका छन् । 

यस्तो समिकरण राजनीतिक नाफानोक्सानको हेक्का राखेर तयार गरिएको छ । कतिपयले अहिलेका नेतृत्वले आफुलाई गरेको व्यवाहारको परिणाम देखाउन पनि समिकरणमा अदलबदल गर्न लागेका हुन् । प्रचण्डले बादल, भुसाल, शर्मा, पुनलगायतका नेतालाई किचेन क्याविनेटमा राखे पनि उनीहरूको निर्णयलाई सर्वस्वीकार्य बनाउन सकेका छैनन् । परिवारको घेराभित्रबाट चल्न थालेका प्रचण्डले मन्त्रीमा पठाए पनि उक्त मन्त्रालयका काममा प्रत्यक्ष हस्तक्षेप गरेका कारण नेताहरू रुष्ट छन् । 

‘राजनीतिमा समिकरण परिवर्तन क्षणिक निर्णय होइन, यसले एउटा लामो अन्तराल र नाफानोक्सानको हिसाब राख्छ’, माओवादी उच्च स्रोतले भन्यो,‘अबको राजनीतिक लाइन र भविष्यलाई लेखाजोखा गरेरै नेताहरूको यस्तो चरित्र देखा पर्ने हो ।’
एमालेभित्र ओलीको सत्तालाई बलियो बनाउने उपाध्यक्ष वामदेव गौतम बाम एकताको मुख्य सुत्राधार र प्रचण्डको विश्वास पात्र, माधवकुमार नेपाल आगामी नेतृत्वको प्रलोभन, इश्वर पोखरेल मन्त्रालयको जिम्मेबारी दिँदा गरिएको हेलापनका कारणले प्रचण्डसँगको समिकरणमा लागेका छन् ।

 सुरेन्द्र पाण्डे चितवनको निर्वाचन क्षेत्र र ओली समुहबाट प्रताडित भएका कारण प्रचण्ड क्याम्पमा छिरेका हुन् । उनले एमालेको गतिविधिका बारेमा प्रचण्डलाई गोप्य व्रिफिङ नै गर्दै आएका छन् । त्यसो त नेतृत्वविरुद्ध क्याम्प फेर्ने मात्र होइन, असन्तुष्ट भएर पार्टी फुटाउने चरणसम्म पुगेका उदाहरण कम छैनन् । माओवादीमा बादल समुह विभाजन पछि एकीकरणमा आएको थियो । एमालेभित्र यो स्थापना कालदेखिकै रोग थियो । 

०४८ साल अघि एमाले विभाजनका लागि ओली र गौतम सक्रिय रहेको खुलासा भइसकेको छ । जसलाई कारबाहीको तयारी तत्कालिन पार्टी प्रमुख मदन भण्डारीले गरेका थिए । ‘पार्टीभित्रको आन्तरिक संघर्ष अस्वभाविक चरणमा पुग्दा विभाजन र स्वभाविक चरणमा क्याम्प परिवर्तन हुने गर्छ । यो राजनीतिको चरित्र पनि हो । नेतृत्वमा पुग्ने होड सबैमा हुने भएकाले बाम एकतापछि हुने समिकरण दलबदललाई ठूलो मान्नु हुन्न’, उच्च स्रोतले भन्यो,‘एमाले पनि विभाजनपछि एकता भएको पार्टी हो । माओवादी त भर्खरै विभाजन भएर एउटा समुह एकीकरणमा आएको पार्टी हो । कम्युनिष्टमा यो चरित्र ज्यादा देखिन्छ ।’

त्यसो त समिकरण बदल्ने विषयमा प्रधानमन्त्री ओलीले केही समय अघि गरेको ट्वीटले पनि संकेतहरू गरेकै थिए, जसको जवाफ प्रचण्डले दिनु परेको थियो । खासमा पार्टीभित्रका नेताको समिकरण बदल्ने चरित्रलाई लिएर ओलीको त्यो ट्वीट आएको थियो ।

एकता संयोजन समितिले पार्टी एकीकरणको विवाद समाधानको काम ओली र प्रचण्डलाई जिम्मा दिँदै अबको संरचनामा पार्टीमा दुई पिल्लर केही समयका लागि राख्ने सर्वसम्मत निर्णय गरेका कारणले पनि समिकरणमा आन्तरिक हेरफेर भएको बताइन्छ । ‘पार्टीभित्र पनि कुनचाहीँ शक्तिको छहारीमा बस्ने भन्ने विषय नेता स्वयम्ले निर्णय गर्ने भएकाले दलबदल सामान्य जस्तो नै ठान्नुपर्छ’, एमाले एक पोलिटव्युरो सदस्यले भने,‘एमालेभित्र यस्तो त कतिपय समयमा देखिएको छ ।’

माओवादीभित्र कुनै पिल्लर नै बाँकी नरहेका कारणले प्रचण्ड अहिले पुनः नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई वाम एकतामा ल्याएर आफ्नो समिकरण बलियो र बहुमतको बनाउने तयारीमा लाग्नु यसको उदाहरण हो । एमालेमा भने यस्ता धेरैवटा पिल्लर रहेका कारणले अवसरका लागि क्रस समिकरणको बाटो नेताहरूले राजेका हुन् । 

Post a Comment

0 Comments