Subscribe Us

डनको हतियारमाथि सिंहको निगरानी ,
उपत्यकामा महाशाखाको स्वीप अप्रेशन

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले हचुवाको भरमा दिएका  लाईसेन्स प्राप्त हतियारमाथि महानगरीय अपराध महाशाखा टेकुले निगरानी बढाएको छ । हतियारको आवश्यकता भन्दा सौख र गुण्डागर्दीको लागि केही व्यक्तिले प्रशासनलाई प्रभावमा पारेर हतियारको लाईसेन्स लिएको सुचना महाशाखाले पाएपछि ति हतियार र हतियार बोक्ने माथि महाशाखाले अनुसन्धान थालेको हो । प्रहरीको ब्ल्याकलिस्टेड सूचिमा रहेका दुई दर्जन भन्दा बढीसँग हतियार रहेको महाशाखाको अनुसन्धानबाट खुलासा भएको छ । 

गत साता जनप्रहारले राजधानीमा लाईसेन्स प्राप्त हतियारको आतंक शिर्षकमा समाचार प्रकाशित गरेपछि महाशाखाले यस बिषयमा चासो व्यक्त गर्दै अनुसन्धान सुरु गरेको हो । हतियारको लाईसेन्स लिने अधिकांश व्यक्ति गुण्डागर्दीमा सक्रिय, मिटर व्याजका नाईके तथा मानव तस्करीमा सक्रिय भेटिएपछि महाशाखाले अनुसन्धानलाई तिब्र बनाएको हो । 

अनुसन्धानमा लागेका महाशाखाका एक डिएसपीका अनुसार अबैध धन्दामा लागेका दुई दर्जन भन्दा बढीसँग हतियारको लाईसेन्स छ । अर्काको नाममा लिएर पछि आपराधिक पृष्ठभुमीका व्यक्तिले हतियारको लाईसेन्स नामसारी गरेको पाईएको छ । दुई हजार राउण्डसम्म गोली लिईएको छ । ति गोली के कती छन् र खर्च भएको भए के कती काँहा किन र कुन अवस्थामा खर्च गरीयो त्यसको पनि लोखाजोखा महाशाखाले खोज्न थालेपछि लाईसेन्स प्राप्त हतियारधारीको भागाभाग मच्चिएको छ । 

यहि हतियारको कारण प्रहरीलाई सुरक्षा चुनौती थपिएको समेत प्रहरीको बुझाई छ । आपराधिक पृष्ठभुमिका व्यक्तिहरूले ईजाजत पाउँदा हतियारको दुरुपयोग हुनुको साथै सुरक्षामा चुानैति थपिएको महाशाखाको ठम्याई छ । अवैध तरीकाले असुलेको रुपैयाँबाट नबधनाडयको सूचिमा रहेका एकान्तकुनाका महेशबहादुर सिंहसँग प्रहरीले तीन वर्ष अघि ईजाजत  प्राप्त ६ थान हतियार बरामत गरेको थियो । त्यस्तै त्यहि बर्ष शंकरदेव क्यामपसका स्ववियु सभापति सुकबहादुर बस्नेत लाईसेन्स प्राप्त हतियारबाट मारिएको हरिणसहित पक्राउ परेका थिए ।

 बस्नेतको पक्राउ पश्चात् आफ्नो व्यक्तिगत सुरक्षाको लागि लिएको हतियार बस्नेतले संरक्षित बन्यजन्तुको शिकार गर्न प्रयोग गरिएको खुलासा भयो । मिटर व्याजका नाईके महेश सिंहको लाईसेन्स प्राप्त हतियार चार बर्षदेखि ललितपुर प्रहरीको नियन्त्रणमा छ । हतियारको दुरुप्रयोग गरेर सिंहले सोझासाझालाई धाक धम्कि दिने गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएपछि उनको हतियार प्रहरीले फिर्ता नगरेको हो । 

सिंहकै शैलीमा मिटर व्याजका नाईके काभ्रेका वीरेन्द्रलाल श्रेष्ठ र गुण्डा नाईके काजी शेर्पाले वैध हतियारको दुरुपयोग गर्दै आएको महाशाखाले ठम्याइ गर्दै उनीहरूको हतियार जफत प्रक्रिया सुरु गरेको छ । श्रेष्ठले सुकेधारामा दुई सय राउण्ड गोली चलाउनु परेको कारण समेत महाशाखाले अनुसन्धानमा राखेको छ । कुख्यात गुण्डा नाईके काजी शेर्पाले ठेक्का पट्टा कब्जा गर्न लाईसेन्स प्राप्त हतियारको दुरुप्रयोग गर्दै आएको महाशाखाको अनुसन्धानबाट खुलासा भएको छ । 

यी अधिकांश गुण्डा नाईकेसँग जर्मन स्पोटर्स गन (जीएसजी–५) नामक अर्धस्वचालित हतियारको लाईसेन्स छ । यसैबीच महाशाखाले उपत्यकामा चोरी बढेपछि   स्वीप अप्रेशन चलाएको छ । आइतवारबाट चलाएको स्वीप अप्रेशनमा एक दिन दुई दर्जन चोर पक्राउ परेको महाशाखाका एसएसपी सिंहले बताएका छन् । पक्राउ परेका केहीबाट चोरीएका गहना समेत फेला परेको छ । १५ दिन सम्म चल्ने यो अप्रेशनले उपत्यकामा चोरी कम हुने महाशाखाको ठम्याई रहेको छ ।

Post a Comment

0 Comments