काठमाडौं । सुन तस्करीको अनुसन्धान गर्न बनेको उच्च स्तरीय छानवीन समितिले अदालतमा पेश गरेको विवरण हेर्दा अपुष्ट प्रमाणको सहारा लिएको छ । तल्लो दर्जाका प्रहरी कर्मचारीको बयान, सुन तस्करीको व्यवस्थापक देखिएका चुडामणी उप्रेतीको डेरामा भेटिएको डायरी, टेलिफोन कल विवरण र हत्या अनुसन्धानमा प्रहरीले अपनाएको अनुसन्धान प्रक्रियाको आधारमा आरोपितहरूलाई लगाएको मुद्धामा अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै सफाई दिने संकेत देखिएको छ । 

बहालवाला एसएसपी, एसपी, डिएसपी, सई र प्रहरी जवान र अवकास पाएका डिआइजीसहित सुन तस्करीका लगानीकर्ता, योजानाकार र सहयोगी सहित ६३ जनालाई अभियुक्त बनाउँदै जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला न्यायधिवक्ताको कार्यालय मार्फत जिल्ला अदालत मोरङमा अभियोग पत्र दर्ता भए पनि त्यसको संकेत निको देखिएको छैन । 

अहिलेसम्म सरकारी वकिलको कार्यालय मार्फत अदालतमा बयान दिनेहरूले बयान समेत फेर्दे आएकाले छानविन समितिको अनुसन्धान फितलो भएको बताइएको छ । अभियोगपत्रमा अभियोगका आधार सुन तस्करीमा संलग्नता र सनम शाक्यको हत्यापछिको अनुसन्धान प्रक्रियामा प्रहरीले अपनाएको शैली २ भागमा राखिएको देखिएको छ ।

पूर्व डिआइजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल, डिएसपी सञ्जयबहादुर राउत, हवल्दार अम्बरबहादुर थापा र प्रहरी जवान विष्णुबहादुर खड्कालाई सुन तस्करीमा संलग्न रहेको आरोपमा अभियुक्त बनाइएको छ । जिल्ला न्यायधिवक्ताको कार्यालयले दर्ता गरेको अभियोगपत्रको आधार जिल्ला प्रहरी कार्यालय मोरङको प्रस्तावित राय सुझाव हो ।

राय सुझावमा प्रहरीको लेटर प्याडमा गए पनि यसको सम्पूर्ण अुनसन्धान भने मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको गृह मन्त्रालयका सह–सचिव इश्वरराज पौडेल संयोजकत्वको समितिमा निर्भर देखिन्छ ।  तर समितिको अनुसन्धान सकिएको छैन । अदालतमा अभियुक्त तोकेर अभियोग पत्र दर्ता भइसकेको छ तर समितिको अवधी भने अझै १५ दिन  बाँकी छ । सुनका मुख्य लगानीकर्ता, योजनाकार, सहयोगी र विमानस्थलमा थाई एयर र नेपाल एयरको कर्मचारीको रूपमा खटिएका सहयोगीमाथि अभियोग कायम गर्दा अभियोग पत्रमा बयानसँगै प्रमाणलाई समेत बलियो रूपमा प्रस्तुत गरिएको छ ।

पक्राउ परेका २९ जनालाई उपस्थित गराउँदै दर्ता भएको अभियोग पत्रमा बहालवाला र पूर्वप्रहरी अधिकारीमाथि अभियोग कायम गर्दा आधार खुल्ने प्रमाण भन्दा बयान, अमुर्त प्रमाण र आफ्नै विश्लेषणको मात्रा धेरै देखियो जसले गर्दा वास्तविक अभियुक्तहरू सहजै उम्कनसक्ने अवस्था रहेको छ ।

अभियोगपत्र एक सय ५४ पृष्ठ लामो छ । पत्रमा अभियोग मागदावीका लागि सनम शाक्यको शवसँगै पक्राउ परेका २ अभियुक्तको बयान, ३३ किलो सुन हराएपछि सुन खोजीको क्रममा गोरे भनिने चुडामणी उप्रेतीले यातना दिएका सहयोगी र विमानका कर्मचारीको बयान, गोरेले तस्करीको सुन भण्डारण गर्न उपयोग गर्ने डेरामा फेला परेको डायरीको विवरण, अनुसन्धानमा संलग्न प्रहरी कर्मचारी र बहालवाला एसएसपी श्याम बहादुर खत्रीका चालकको बयान र घटनाक्रमको विश्लेषणलाई मुख्य आधार मानिएको छ ।

पूर्व डिआइजी गोविन्द निरौला, बहालावाला तर फरार एसएसपी श्यामबहादुर खत्री, र डिएसपी सञ्जयबहादुर राउत विमानस्थलमा रहँदा सुन तस्करीमा संलग्न रहेको अभियोग पुष्टीका लागि एसएसपी खत्रीको चालकको रूपमा कार्यरत प्रहरी जवान विष्णुबहादुर खड्काको बयानलाई मुख्य आधार बनाएबाटै अभियोग पुष्टि गर्ने आधार फितलो भएको हो । सुन बरामद नभएको कारण मुद्दा फितलो भएको हो । शाक्य हत्या अनुसन्धानका क्रममा सो घटनामा गोरे जोडिएपछि उसको डेरामा छापा मार्दा १४ वटा रजिष्टर र कापी फेला परेको थियो । डायरीमा रकम लेखिएको छ तर कसैको पूर्ण नाम उल्लेख छैन । 

अभियोगपत्रमा उल्लेख गरिएअनुसार त्यसमा डिआइजी मामा, एसएसपी मामा, एसपी मामा र डिएसपी मामा उल्लेख गरिएको छ । मामा भनेर जो जसको नाम लेखिएको छ ती को हुन् भन्ने आधार प्रहरी जवानको बयानलाई बनाइएको छ । डायरीमा एसएसपी मामाको ड्राइभर भनेर लेखिएको छ । त्यो नाम आफ्नै भएको खड्काले दावी गरेका छन् । डायरी परिक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको र प्रतिवेदन आइसकेपछि पेश गर्ने अभियोगपत्रमै उल्लेख भएकाले त्यसको वैज्ञानिक परिक्षण नै नभई अभियोगपत्र दर्ता भएकाले पनि आरोप झनै फितलो भएको छ । 

जसले गर्दा अन्य अभियोगकर्ताहरू पनि जोगिने सम्भावना बढेको छ । साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित नागरिक उड्ड्यन कार्यालयबाट सुरक्षा शक्तिको आडमा पास झिकी झिकाई आपराधिक समुहलाई उपलब्ध गराएको तथ्य सुरक्षा अधिकृतहरूले बरामद रजिष्टरबाट प्राप्त गरेको देखिने आर्थिक लाभको विवरण, सुरक्षा अधिकृत र आपराधिक समुहका नाईके गोरे भन्ने चुडामणी उप्रेती एवं निजका सदस्यहरू बीचका कल डिटेलको प्रमाणबाट पुष्टी भएको भनिएपनि सुन तस्करीकै लागि भएको हो भन्ने एकिन खुलाउन सकिएको छैन । 


Post a Comment

 
Top