Subscribe Us

सट्टेबाजी डन नागराजका दुई सदस्य पक्राउ,
प्रहरीको हिटलिस्टमा नागराज

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सट्टेबाजीका गराउने नागराज उर्फ अमित अग्रवालका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । 

नागराजका दुई सदस्य भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको पिपरा स्टेशन थाना घर भएका ४२ वर्षिय मुकेश जैसवाल र मोतिहारी ढाकास्टेशन घर भएका २१ वर्षिय सञ्जिवकुमार जैसवाल रहेका छन् । 

उनीहरूबाट प्रहरीले एक लाख ४० हजार ५ सय नगद र जुवाको बहिखाता समेत बरामद गरेको छ । बरामद बहिखातबाट बुकी खेलाउने र खेल्नेको समेत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मुकेश जमल र सञ्जिव टंकेश्वरमा बसेर सट्टेबाजी गराउँदै आएको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ ।  उनीहरू काठमाडौंको सुन्धारा खिचापोखरी क्षेत्रमासट्टेबाजीको कारोबार गरीरहदा पक्राउ परेका हुन् । 

आइपीएल सुरू भए देखि नै नागराजको सहयोगमा यो समुहले  यस्तो बाजी खेलाउँदै आएको छ । आइपीएल सट्टेबाजी खेलमा नेपालबाट मात्रै बार्षिक ५ अर्ब रूपैंया भारत जाने गरेको छ । सट्टेबाजीका कुख्यात भारतीय नागरिक अग्रवालमाथि समेत महानगरीय अपराध महाशाखाले बिषेश अनुसन्धान थालेको छ । 

अन्डरवल्र्ड डन दाउद इब्राहिमले सुरू गरेको सट्टेबाजीको नेपालका प्रमुख एजेन्ट नागराज भएको स्रोतको दाबी छ ।   दुई बर्ष यता सट्टेबाजीको बिषयमा प्रहरीले बिषेश चासो राख्न थालेपछि माफियाले भाइबर, इन्टरनेटका अन्य उपकरणहरू तथा गोप्य व्यक्तिमार्फत जुवा खेलाउँदै आएका छन् ।

यस्तो बाजी खेलका लागि कम्तिमा ५ सय मानिसलाई देशभर परिचालन गरेका नागराजले काठमाडौं, वीरगञ्ज, बुटवल, भैरवा, नेपालगञ्ज, चितवन, मोरङ, बिराटनगरलाई केन्द्र बनाउने गरेका छन् । सट्टेबाजीका लागि नेपालमा सञ्जाल विस्तार गरी नागराज भारतको गोवामा लुक्दै आएका थिए ।

अनधिकृत रूपमा रकम जम्मा गरी भारतीय बजारमा पु¥याउने नागराजको अन्य कुनै व्यापार व्यावसाय छैन । माहाराजगञ्ज, बाँसबारीमा उनको घर छ । बालुवाटार प्रधानमन्त्रीको सरकाी निवास पछाडि एक रोपनी जग्गाको घडेरी लगायत अन्य ठाँउमा करोडौ रूपैंयाको सम्पत्ती नागराजले जोडेका छन् ।

प्रहरीको निशानाबाट बच्न नागराजले जुवाको सिस्टम नै चेन्ज गरेका छन् । अहिले उनले आफ्नै एकाउन्ट खोलेर जुवा खेलाउन थालेका छन् । खेल हेरेर ३ देखि ५ प्रतिशत कमिशन बाँड्ने गरेको स्रोत बताउँछ । जसमा वार्षिक नागराजले १५ करोड माथि कुम्ल्याउने गरेको स्रोत बताउँछ ।

स्रोतहरूका अनुसार नेपालमा बुकी खेलाउने मध्ये नागराज अग्रस्थानमा छन् भने सेण्ठी भन्ने राकेश अग्रवाल, रमेश अयोग्य नेपालका प्रमूख बुकीका एजेन्ट हुन् । यी सबै भारतीय नागरिक हुन् ।

Post a Comment

0 Comments