काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निश्चित अवकाशपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘स्वप्नसत्ता’ स्थापनाको गृहकार्य थालेका छन् । शक्तिको आशक्तिबिना बाँच्नै नसक्ने प्रचण्डले ३० वर्ष लामो राजनीतिक सत्तालाई देशको कार्यकारी प्रमुखसहितको राष्ट्रप्रमुख बन्ने धोकोको लय समातेका छन् । 

गुम्न लागेको माओवाद यात्रालाई एमाले कित्तामा उभ्याउँदै कार्यकारी राष्ट्रपतिको कुर्सीका चार खुट्टा तयार पार्नका लागि उनले पार्टी एकता र दुईतिहाई बहुमतको ‘कार्ड’लाई प्रयोग गर्नेछन् । उनले यसको संकेत शासकीय स्वरुप नै परिवर्तन गर्नका लागि संविधान संशोधनको मुद्दालाई अगाडी सारेका छन् । जसमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले साथ दिइसकेका छन् । 

माओवादी जनयुद्धदेखि शान्ति प्रक्रियासम्म दुईलाईन संघर्षको सहारामा नेतृत्वमा सदाबहार बन्न सफल प्रचण्डले माओवादी विभाजन हुनासाथ उपयोगवादी सैद्धान्तिक लाइनको प्रयोग गर्न नपाउँदा पार्टीलाई एमालेसँग मिलाएका हुन् । एकीकरणपछि बनेको नेकपामा उनले दुई लाइन संघर्षका दरिला पात्रलाई छानेका छन् । कठोर राजनीतिक लाइनका अध्यक्ष ओली र सफ्टलाइन राजनीतिका अर्का पयार्य माधव नेपाल प्रचण्डका पछिल्ला दुई कार्ड हुन् । यी दुई नेताको प्रयोगका आधारमा नेकपासहित देशको नेतृत्व कम्तिमा १० वर्ष हाँक्ने योजना प्रचण्डको छ । 

‘प्रचण्डलाई धेरैले विसर्जनवादी पनि भनेका छन् । तर दूरदर्शी राजनीतिसँगै शक्ति केन्द्रमा उभिने कला उनमा जति कसैमा देखिएको छैन । एमालेसँग एकीकरणपछि नेतृत्वमा पुग्नु एउटा प्रयोग हो’, स्रोतले भन्यो,‘अब नेकपाको सदाबहार नेतृत्वमा उभिँदै कार्यकारी राष्ट्रपति बन्ने प्रचण्डको सपना साकार हुने दिशामा छ ।’

नयाँ दिल्लिमा भएको १२ बुँदे राजनीतिक सहमति पछि जनआन्दोलन, शान्ति सम्झौता हुँदै शान्ति प्रक्रियाको अवतरणमा आएका प्रचण्डले हतियारको राजनीति लामो समयसम्म नचल्ने भएकै कारण मतपेटिका रोजेका थिए । ०६४ सालको चैत लाग्दै गर्दा बन्दुकसहित मतपेटिका रोजेको माओवादीको दुई नारा थिए– अरुलाई हे¥यौं पटक–पटक, माओवादीलाई यस–पटक । र, अबको कार्यकारी राष्ट्रपति प्रचण्ड । यहि सपनाको सत्तामा उक्लिन पछिल्लो एकीकरण र शासकीय स्वरुप परिवर्तन गर्ने सवाल आएको विश्लेषकहरू बताउँछन् ।

‘ढाडमा टेकेर टाउकोमा हान्ने’ प्रचण्ड नीतिअनुसारै राजनीतिक रथ चलिरहेको छ । ‘यो संयोग होइन, १० वर्षसम्म हतियारको राजनीति गर्नेले अर्को १० वर्ष शान्ति प्रक्रियाको आडमा सोही नीतिको अख्तियारी गरेका छन्’, स्रोतले भन्यो,‘यो प्रचण्डको पुरानै शैली र एजेन्डाअनुसार बढेको राजनीतिक लाइन हो ।

सेनालाई चलाउँदा राजनीतिक नेतृत्वमा लामो समय टिक्नसक्ने अवस्था नदेखेपछि प्रचण्डले त्यसको इतर राजनीति थालेका थिए । विभाजित पार्टी बोकेर हिँडेका प्रचण्ड दोस्रो संविधानसभामा तेस्रो भए । ठ्याक्क, परिस्थितिले कोल्टे फेर्दै जाँदा प्रदेश, प्रतिनिधि चुनावलगायतका घटनाक्रमले आकार बढिरहेको कम्युनिस्टहरू भिन्न थिए । 

संविधान संशोधनसँगै ‘कार्यकारी राष्ट्रपतीय शासन’को कार्ड फ्याँकेका प्रचण्डको मुद्दामा विपक्षीहरूले खरो आलोचना गरेपछि आगामी चुनावअघि यो सम्भावना नरहेको बताउन थालेका छन् । 

‘५ वर्ष ओली सरकारमार्फत जनताको मन जित्ने र त्यसपछि आफ्नो नेतृत्वमा शक्तिशाली सरकार गठनको योजना प्रचण्डसँग छ’, एकजना राजनीतिक विश्लेषकले भने,‘उनी पहिलादेखि नै हिटलरजस्ता शासकसँग प्रेरित रहेका कारणले शक्तिका सबै सुत्र आफुनिकट बनाउन चहान्छन् ।’

त्यसो त प्रचण्डले पहिलो पटक नागरिक सम्बोधन गर्ने क्रममा नै यो देशमा बुद्ध वा जंगबहादुरको खाँचो रहेको बताएका थिए । उनले बुद्धको मार्गलाई छाडेर जंगबहादुरको राजनीतिलाई स्थापित गराउने कसरत र खेल यो एक दशकसम्म निरन्तर गरेको पुष्टि हुन्छ । 

प्रचण्डले एमालेलाई साथमा लिएर आफु नेतृत्वको पहिलो गणतान्त्रिक सरकार, एमाले नेता झलनाथ खनाललाई आफ्नो समर्थनको गणतन्त्रको तेस्रो सरकार, मधेसी दलको समर्थनमा डा. बाबुराम भट्टराईको चौथो सरकार पहिलो संविधानसभामै बनाएका थिए । 

संविधानसभा विघटन पछि दोस्रो संविधानसभामा आफ्नो आकारको पनि उनले राम्रो प्रयोग गरेका थिए । संविधान जारी गरेपछि ओली नेतृत्वको सरकारलाई समर्थन, उसैलाई अविश्वासको प्रस्ताव ल्याउँदै आफु नेतृत्वको अर्को सरकार र त्यसपछि चुनाव  गराउने जिम्माका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको सरकार पनि प्रचण्डको प्रयोगमा बनेको थियो ।

‘एक दशकको राजनीतिक घटनाक्रमको हरेक ठाउँको चाबी प्रचण्ड नै देखिएका थिए । यो उनको महत्वकांक्षाका उपज हो । उनले माओवादी कसैलाई जिम्मा नदिनु, नेतृत्व स्थानान्तरण नगर्नुको मुख्य स्वार्थ नै चिनियाँ शासन प्रणालीको नेता बन्नु हो’, उच्च स्रोतले भन्यो,‘प्रतिपक्षमा हुँदासम्म प्रचण्ड संविधान निर्माणका लागि मुख्य व्यक्ति बने ।’

चिनियाँ राष्ट्राध्यक्ष सी जिन पिङको पार्टी र राष्ट्रमा लामो समयसम्म शासन गर्ने शैलीसँग प्रचण्ड प्रभावित छन् । त्यसकारण पनि नेपालमा कम्युनिस्ट केन्द्र स्थापना गरी त्यसैको बलमा पुरै देशमा ‘रुल’ गर्ने उनको योजना छ । उनको राजनीतिक यात्राले सीको शक्ति आर्जनको कला र किमको शासन शैलीको हिमायती बन्ने महत्वकांक्षा झल्काएको छ । ‘दशौं हजार मानिसलाई मर्न र मार्न तयार पार्ने प्रचण्डको वैचारिक स्तरको तुलना अन्यसँग गर्न सकिन्न’, स्रोतले भन्यो,‘उनमा शासक बन्ने एकप्रकारको भूत सवार छ ।’


Post a Comment

 
Top