Subscribe Us

सट्टेबाजलाई फलिफाप, अपराध महाशाखाको निगरानीमा बुकीका डन

–सट्टेबाजका माफियालाई प्रहरीले हल्का रुपमा लिँदा धन्दा बढ्दै गएको छ । 

–अवैध रुपमा कमाएको करोडौं रुपैंयाको स्रोत नखोजी जुवा ऐन लगाएर सात दिनमै उन्मुक्ति 


काठमाडौं । सट्टेबाजी गराउँदै आएका समुहलाई अंग्रेजी बर्ष २०१८ फलिफाप भएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) सकिन साथ वल्र्ड कप फुटबल सुरु भएको कारण सट्टेबाजीका समुहलाई २०१८ फलिफाप भएको हो । 

आईपीएल जुवा खेलाउने आधा दर्जन सट्टेबाजी पक्राउ परे पनि त्यसका नाईके र अन्य सयांैं सदस्य भने कानुनको दायरामा ल्याउन प्रहरी प्रशासन असक्षम भएको छ । नेपालमा सट्टेबाजी गराउँदै आएका मुख्य अभियुक्त नागराज भन्ने अमित अग्रवाल भने फरार छन् । तर उनकै चेलाहरूले धन्दालाई तिब्र रुपमा अगाडी बढाउँदै आएका छन् । आईपिएलमा भन्दा बिश्वकपमा जुवा खेल्ने र खेलाउँनेको समुह झन सक्रिय भएको छ । 

स्रोतका अनुसार विश्वकपमा पाँच हजार देखि २५ लाख सम्म जुवा राख्ने जुवाडे काठमाडौंमै छन् । दुई साता अगाडी महानगरीय प्रहरी परिसर काठमाडौंले नागराजका आधा दर्जन सदस्यलाई पक्राउ गरेको थियो । तर फितलो कानुन र आर्थीक चलखेल पछि उनिहरूले सात दिनमै सहजै उन्मुक्ति पाए । 

पक्राउ परेका गौरव तिवारी नागराजका मुख्य सहयोगी भएको प्रहरी अनुसन्धानमा खुलासा भएको छ । प्रहरीका पूर्व आईजीपी उपेन्द्रकान्त अर्यालदेखि र बाहलवाल केही राम्रा प्रहरी अधिकृतसँग उठबस भएकै कारण तिवारीलाई काठमाडौं परिसरले सहजै उन्मुक्ति दिएको आरोप लागेको छ । तिवारीले प्रहरी अधिकारीलाई युवती सप्लाई समेत गर्ने गरेको स्रोतको दाबी छ । व्यापार व्यवसायी केही नभएका तिवारीको नेपालमा मात्र करोडौंको सम्पत्ती छ भने उनले यहि बर्ष भूटानमा ईट्टा भट्टा राखेका छन । 

सट्टेबाजीको धन्दाबाट करोडौं कुम्ल्याएको प्रहरी अनुसन्धानबाट खुलासा हुँदा पनि सम्पत्ती सुद्धीकरणमा छानबिन नहुनुले उनको प्रहरीसँग राम्रौ उठबस भएको अनुमान लगाउन सकिन्छ । उता सट्टेबाजीको धन्दा जुवा ऐनमा आकर्षित भएपछि हिरासत मुक्त हुन साथ यो समुहले विश्वकपमा आफ्ना सदस्यहरूलाई परिचालन गरी धन्दा चलाउन सरु गरेको स्रोतको दाबी छ । 

दुई साता अगाडी काठमाडौं परिसरले पक्राउ गरेको पूर्वराष्ट्रिय फुटबल खेलाडी तथा म्याच फिक्सिङमा मुछिएका अन्जन केसी, नागराजका खास सहयोगी गौरव तिवारी, काभ्रे भुण्डु गाउँपालिकाका ३८ वर्षीय भुपेन्द्र शम्शेर कुँवर, नुवाकोट ककनीका २७ वर्षीय दिनेश वोगटी, भक्तपुर बोलाछैका २६ वर्षीय विजय श्रेष्ठ, र भक्तपुर बोलाखुका ३१ वर्षीय नरेन्द्र सुवाल पुनः धन्दामा फर्किएको स्रोतले बतायो । 

यो समुहले नागराजको निगाहामा आईपीएल तथा अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरूमा जुवा अर्थात् सट्टेबाजीको धन्दा चलाउँदै आएका छन् । डि कम्पनी अर्थात अण्डरल्र्ड डन दाउद ईब्राहिमले सञ्चालन गर्दै आएको सट्टेबाजी धन्दाका नेपाली एजेन्ट नागराज हुन् । 

नागराजले नेपालको बिभिन्न शहरमा एक सयको हाराहारीमा आफ्ना सदस्य खडा गरी सट्टेबाजीको धन्दा चलाउँदै आएका छन् । स्रोतका अनुसार सट्टेबाजीको धन्दाबाट आईपीएलमा मात्रनेपालबाट बार्षिक ५ अर्ब रूपैंयाँ विदेशिने गरेको छ । गत साता पक्राउ परेका नागराजका आधा दर्जन सदस्यको बरामद भएको मोबाईलबाट समेत उक्त कुरा पुष्टि हुन आउँछ । 

सट्टेबाजीको धन्दामाथि प्रहरीले बिषेश निगरानी बढाएपछि नागराजका अन्य सदस्यको भागभाग भएको छ । पछिल्लो समय चाबहिल गोपिकृष्ण हल क्षेत्रमा बसेर सट्टेबाजी धन्दा चलाउँदै आएका अनिल लामा पनि यो धन्दाको किङ भएको प्रमाण जनप्रहारसँग छ । स्रोतका अनुसार केही बर्ष अगी सम्म गोपीकृष्ण हलमा ज्याकपोट सञ्चालन गर्दै आएका लामा अहिले सट्टेबाजी धन्दाका नाईके बनेका छन् । लामालाई परिसरले निगरानीमा राखेको छ । 

उता पाँच बर्षदेखि सट्टेबाजको धन्दा चलाउँदै आएका नागराज फरार भएको एक महिना भएको छ । सट्टेबाजको धन्दामा प्रहरीले उनलाई मोष्ट वान्टेड सूचीमा राख खोजि जारी राखेको बताएको छ । नेपालमा बुकी खेलाउने मध्ये नागराज अग्रस्थानमा छन् भने सेठ्ठी भनिने राकेश अग्रवाल, रमेश अयोग्य नेपालका प्रमूख बुकीका एजेन्ट हुन् । यी सबै भारतीय नागरिक हुन् । 

Post a Comment

0 Comments