Subscribe Us

पत्नी प्रणयमा के–के गर्दैछन् देउवा ?
छानी–छानी पौडेलका बबुरामाथि कारबाहीको भाटा

काठमाडौं । स्वास्थानीको कथामा भगवान महादेवले पत्नी सतीदेवीको प्रेममा संसारमा प्रलय ल्याउनेगरी गरेको यात्राको कथा धेरै हिन्दूवादीले सुनेको हुनुपर्छ । 

पत्नी प्रणयको यो अहंकारी यात्राले धेरै देवगण त्रसित थिए । यो शैलीको त्रास नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिन थालेका छन् । 

पत्नी आरजु राणा देउवाको प्रणयमा देउवाले कांग्रेसको एउटा तप्कालाई नै कारबाही गर्न थालेका छन् । खोजी भन्दा पनि प्रतिशोधका लागि अहंकार बोकेका देउवाले कैलाली–५ का नेता कार्यकर्तालाई ठाडो आदेश दिएर पत्नी आरजु पराजयको भुंग्रोमा पूर्वसांसददेखि धेरै कार्यकर्तालाई पारेका छन् । 

कैलाली–५क्षेत्रीय कार्यसमितिले पूर्वसांसद पुष्करनाथ ओझासहित २० कार्यकर्तामाथि आरजुलाई अन्तरघात गरेको दबाबमुलक रिपोर्ट निकाल्दै कारबाहीका लागि केन्द्रीय पार्टी कार्यालयमा सिफारिस गर्नु देउवाको दबाब रहेको थियो । 

कैलाली पुगेर देउवाले खुला चुनौति दिँदै अघिल्लो दिन अन्तरघातीलाई कारबाही गर्ने घोषणा गरेको भोलीपल्टै यस्तो सिफारिस भएको हो । ‘यो शक्तिको दम्भ देखाउने शैली हो, उनकी पत्नी जनाधार नभएको ठाउँमा आएर उठ्ने अनि कांग्रेस जोगाउनेहरूले कारबाही भोग्नुपर्ने ?’, स्रोतले भन्यो,‘यो न्याय होइन अन्यायको निर्णय भयो ।’

क्षेत्र नम्बर ५ का सभापति हरिश खड्का, सचिव भीम पडाल, धनगढी नगर सभापति नृपबहादुर वड, नगर सचिव यज्ञराज उपाध्याय तथा निर्वाचन परिचालन मूल समितिका वडा संयोजकहरूको प्रतिवेदनका आधारमा पूर्वसांसद ओझासहित महासमिति सदस्य, जिल्ला सचिव, वडा सदस्य र साधारण सदस्यसमेत २० जनामाथि कारबाहीको सिफारिस गरिएको कांग्रेस क्षेत्रीय समितिले जनाएको छ ।

क्षेत्रीय समितिले महासमिति सदस्य आनन्दराज जोशी, जिल्ला सचिव पूर्ण कुँवर, धनगढी उपमहानगरपालिका–५ का वडा सदस्य बब्लुकुमार चौधरी, जिल्ला सदस्य लक्ष्मीप्रसाद देवकोटा, क्षेत्रीय उपसभापति कुम्भराज गिरीमाथि कारबाहीको माग गरेको छ ।

नेपाल विद्यार्थी संघ सहमहामन्त्री प्रेमराज जोशी, धनगढी–७ का सभापति देवबहादुर सेठी, वडा १९ का सचिव गंगादत्त ओझा, वडा ३ का क्षेत्रीय प्रतिनिधि सीताराम अवस्थी, वडा १ का सदस्य सुवास चन्द, वडा १८ का क्षेत्रीय प्रतिनिधि फूलनारायण भुसाल, वडा १३ का तरुण दल अध्यक्ष खडक ओझा, वडा १३ का क्षेत्रीय प्रतिनिधि भोजराज भट्टमाथि कारबाहीको माग गरिएको छ ।

क्रियाशील सदस्य विनायक पनेरू, लोकराज अवस्थी, चन्द्रदेव जोशी, लक्ष्मी ओझा, खेम भट्ट र भूमिनन्द ओझामाथि पनि कारबाहीको माग गरिएको क्षेत्रीय सभापति खड्काले बताए । कारबाही सिफारिमा परेका देउवाइतर पौडेल समुहका नेता कार्यकर्ता रहेका छन् । ‘देशभर कांग्रेस पराजय भएको छ । 

अन्य ठाउँमा किन कारबाही थालिएन, आरजुको क्षेत्रबाट कारबाही सुरु गर्नुको कारण के हो ?’, एक कांग्रेस कार्यकर्ता प्रश्न गर्छन्,‘पत्नीको प्रेम र दबाबमा सभापतिले पार्टीलाई सखाप बनाउने भए ।’

त्यसो त सोही क्षेत्रमा पुगेर त्यहाँका अन्तरघातीलाई कारबाही नभए पार्टी नै भङ्ग गर्नेसम्मको भाषण देउवाले गरेका थिए । बोल्दा जिब्रो चिप्लिने गरेका देउवाको यसपाली कार्यशैली पनि चिप्लिएको छ तर यसमा कांग्रेसजनले ठूलो आपत्ति जनाउन सकेका छैनन् ।  

Post a Comment

0 Comments