Subscribe Us

सुन तस्करीका भ्यागुता खोरमा, माछा बयानमा

काठमाडौं । ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा नयाँ–नयाँ मोड अस्वभाविक भएर आउन थालेको छ । 

गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेल नेतृत्वको विशेष छानबिन समितिले नाम चलेका र विभिन्न उच्च पदस्थसँग संगत बढाएका व्यापारीलाई पक्राउ गरेपछि नयाँ तथ्य बाहिर आउन थालेका छन् । 

६ असारमा विमल पोद्दारको पक्राउसँगै अब सुन तस्करीका माछा पक्राउ गर्न थालेको छानबिन समितिले यसअघि पक्राउ गरिएका सबै भ्यागुता सरहका देखिन थालेका छन् । मुख्य अभियुक्त भनिएको चुडामणी उप्रेती गोरेसँगको अनुसन्धान र थप बयानका आधारमा ठूला लगानीकर्तालाई छानबिन समितिले पक्राउ गर्न थालेको छ । 

पूर्पक्षका लागि थुनामा रहेका गोरे, भुजुङ गुरुङ र डेबिट भनिने छिरिङ वाङ्ेललाई अदालतको अनुमतिका आधारमा काठमाडौं झिकाएर छानबिन समितिले अन्य सुराक समेट्ने काम गरिरहेको छ । सोही क्रममा पोद्दार पक्राउ गरिएका हुन् । पोद्दारका कनेक्शन पूर्वप्रहरी अधिकारीदेखि व्यापारी र नेतासम्म रहेको छ । 

पोद्दारले बयानमा सरकारी र प्रहरीका उच्च अधिकारीसँगको निकट सम्बन्धलाई सहजै स्वीकारेका छन्।  उनीहरूलाई आर्थिक सहयोग गरेको समेत खुलाएका छन् । काठमाडौंका केही प्रतिष्ठित व्यवसायीका अदृश्य साझेदार रहेका पोद्दारले प्रहरी हाकिमका घरका पर्दा फेरिदिएकोदेखि पत्रकारलाई रक्सी खुवाएकोसम्म बयान दिएपछि धेरैको नाम तस्करीसँग जोडिएको छ । 
प्रतिवादी प्रयास पराजुली दुबईबाट सुन पठाउने मुख्य व्यक्ति हुन् । 

यस्तै दुबईमा रहेका सञ्दिप खड्काले हुण्डीबाट आएको रकम जम्मा गर्ने गर्थे। दुबईमा रहेको कान्तिपुर टुर्स एण्ड ट्राभल्सका बाला भन्ने बालकृष्ण र कारागारमा रहेका चुडामणि उप्रेती गोरेका भाई रमेश उप्रेतीको नेपाली भान्सा घर दुबईमा हुण्डी रकम संकलन गर्ने र सुन खरिद गर्ने मुख्य अखडा भएको टोलीको निष्कर्ष छ। दुबईमा रहेका भारतीय नागरिक मेहुल जैन, रवी र सरिफ नाम गरेका सुन व्यापारीबाट उनीहरूले सुन खरिद गर्ने गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङले सनम शाक्यको शवसँगै नियन्त्रणमा लिएका टेकराज मल्ल ठकुरी, मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्की गोरेको मुख्य सहयोगीका रुपमा दुबई–काठमाडौं सुन ओसारपसारमा संलग्न थिए । उनीहरू पक्राउ परेको एक सातापछि लाक्पा शेर्पा र त्यसको केही दिनपछि माधव भन्ने मदनप्रसाद घिमिरे पक्राउ परेका हुन् ।

अपराध महाशाखाबाट खटिएका डिएसपी प्रजित केसीले नियन्त्रणमा लिएर बुझाएका तीनै जनालाई मोरङ प्रहरीले संगठित अपराधमा म्याद लिएर अनुसन्धान सुरु गरेको थियो । सुन ओसारपसार र व्यवस्थापनमा रहेका यी पाँच भ्यागुता हुन् । भ्यागुताकै बयानबाट पाएको सूचनाकै आधारमा टोलीले अनुसन्धान अघि बढाएको थियो । 

उनीहरूको सूचना पछ्याउँदा सुन ओसारपसारमा सलंग्न रेबन्त कुमार आचार्य, फाल्दुङ भन्ने लक्षुबहादुर गुरुङ र मदन सिलवाल पक्राउ परे। यो समुहले गोरे, भुजुङ र डेविटको निर्देशनमा काम गरेको थियो। वर्षौंदेखि कारोबारमा प्रत्यक्ष जोडिएका र भर्खरै विमानस्थलमा जागिर सुरु गरेका यो समुहमा थिए । ४० वर्ष अघि भुजुङका सहयोगीदेखि गोरेको प्रलोभनमा सुन ओसारपसारमा सक्रिय यो समूह तस्करीका मझौला माछा हुन् । विमानस्थलमै मारिएका सानु बन र वृत्त सिंहदरबारमा शंकास्पद मृत्यु भएका प्रेमलाल चौधरी यो समूहमा पर्छन् ।

अनुसन्धान टोलीले २२ चैत २०७४ मा नियन्त्रणमा लिएका लालबहादुर मगर, बीरेन्द्रमान श्रेष्ठ, सम्बिर प्रसाद तोनाङ्गे, बालकृष्ण श्रेष्ठ र दोराम खत्री मझौला माछा हुन् । यो समूहका कपिल राजपुरी, गोपाल कुमार श्रेष्ठ, पुण्यप्रसाद लामा तामाङ्ग र हेमन्त गौतम त्यही समय पक्राउ परेका थिए । टोलीले यही समुहका राजन थापा, राजु मर्हजन, अमरमान डंगोल र तुलाराम थारु समेतलाई विभिन्न मितिमा पक्राउ गरेको थियो । 

कारागारमा रहेका गोरे, भुजुङ गुरुङ र डाक्टर डेविट भन्ने छिरिङ्ग वाङदा गुरुङले नेपाल भित्राएको अवैध सुन आरके ज्वैलर्स, जय मातादी गोल्ड प्यालेस र वैभव लक्ष्मी सुनचाँदी पसलबाट अवैध बिक्री हुने गरेको थियो । राजेन्द्रकुमार शाक्य र अनुसन्धानमै रहेका पवन अग्रवाल, महाबीर गोल्यान र फरार रहेका एमके अग्रवाल लगानीकर्ता हुन् । 

एमके अग्रवालका पार्टनरमा बिमल पोद्दार थिए। यही समुहमा अकबर शाह, डब्बु भन्ने इम्तियाज र सञ्जय खेतान भन्ने प्रभात अग्रवालले सुन भारत पु¥याउनेदेखि हुण्डीको कारोबार मार्फत रकम संकलन र दुबई पठाउँदै आएको खुलेको छ । पछिल्लो पटक पक्राउ गरिएकासँग यकिन हुनेगरी र ठोस प्रमाण जुट्ने गरी समितिले बयान जारी राखेको छ । 

यसबाट प्रशासनिक र राजनीतिक सहजीकरण, संलग्नता र संरक्षणका लागि आश्वासन दिनेसम्मलाई पक्राउ गर्ने योजना छानबिन समितिले राखेको छ । अनुसन्धान भइरहेको विषयमा बोल्ने पूर्व प्रहरी अधिकारीलाई पनि बयानमा बोलाउने तयारी छानबिन समितिले गरेको छ । करिब करिब सुन तस्करी र सनम हत्याको विषयमा निर्णायक विन्दुमा पुगेको बताएका संयोजक पौडेलले नालीबेली छुट्टिनेगरी अनुसन्धान जारी रहेको बताए । 

Post a Comment

0 Comments