Subscribe Us

नयाँ गुण्डाको उदय,
दावाका ‘मुन्सी’ सत्यमानको दबदबा

काठमाडौं। पछिल्लो समय नेपाल प्रहरीको हिट लिस्टका गुण्डा हुन्, दावा लामा । प्रहरीको ‘क’ वर्गको सूचीमा रहेको दावाले महानगरीय अपराध महाशाखामा दिवेश लोहनी र काठमाडौंको प्रहरी प्रमुखमा रवीन्द्र धानुक आएसँगै काठमाडौं छाडे । उनि अहिले सिक्किममा छन् । 

दावाले काठमाडौं छाडेसँगै उनको गुण्डागर्दीको धन्दा काभ्रेको तिमाल गाउँपालिका–६, ठूलो पर्सेल स्थायी घर भएका सत्यमान लामाले सम्हालेका छन् । बजारमा ‘डल्ले सत्ये’ भनेर चिनिने सत्यमान लामालाई गुण्डागर्दी गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ ग¥यो । तर, पक्राउ परेको केही घण्टामै एमाले सांसद नविना लामाले उनलाई छुटाइन् ।
 
लामाले ‘मेरो दाइ हो’ भन्दै गृह–सचिव प्रेमकुमार राईलाई फोन गरेर गुण्डा नाइके दावाका सहयोगी सत्यमानलाई छुटाएको गृह मन्त्रालयका एक अधिकृतले सुशासनलाई बताएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको लिखित आदेशमा छुटेका लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद नविनाको हाजिर जमानीमा राखेर अनुसन्धान गरिरहेको छ । आजको सुशासन साप्ताहिकमा समाचार छ।

‘सार्वजनिक अपराधसँग सम्बन्धित उसका तीनओटा मुद्दा छन्,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेल भन्छन्, ‘अहिले सांसदको जमानीमा छाडेका हौं, सत्यमान लामा सुध्रिएको छैन फेरि ल्याउँछौं ।’ 
यसरी सांसद्लाई प्रयोग गरेर प्रहरीलाई नै निकम्मा सावित गर्ने गुण्डा नाइकेका सहयोगी सत्यमानको विगत झनै कुरुप छ । ३३ किलो सुन तस्करीमा संलग्न भन्दै गृह–मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वले छानविन गरिरहेका राम तिवारीका पार्टनर थिए सत्यमान लामा । 

२०७४ मंसिरमा महानगरीय अपराध महाशाखाले अवैध डलरसहित पक्राउ गरेको चिनियाँ नागरिकसँग उनको लामो समयदेखि हिमचिम देखिएको बताइएको छ । यतिबेला राम तिवारी र सत्यमान लामाले चिनियाँ नागरिकहरु अदालतबाट धरौटीमा छुटेसँगै ‘हामीले सेटिङ मिलाएको’ भन्दै उनीहरुबाट जबर्जस्ती ४ करोड ७० लाख कमिशन लिएका थिए । यसरी कमिशनबापत भन्दै जबर्जस्ती लिएको रकमबारे चिनियाँ नागरिकले कतै उजुरी गर्न सकेनन् ।
२०६२÷६३ को आन्दोलनपछि सत्यमान रक्तचन्दन तस्करीमा संलग्न थिए । उनले त्यतिबेला बसुन्धारामा लुकाएर राखेको रक्तचन्दन ‘मेरो हो, तपाईंलाई मिलाईदिउँला’ भन्दै एक व्यापारीबाट ५५ लाख लिएको बताईएको छ । तर, अर्काको रक्तचन्द देखाएका सत्यले ती व्यापारीको ५५ लाख खाएको खाएकै पारेका थिए ।
 
पछिल्लो ४ वर्षदेखि गुण्डा नाईके दावा लामासँग मिलेर काभ्रे र रामेछापमा हुने बुद्धचित्त मालाको काम गर्दै आएका सत्यमानविरुद्ध पटक–पटक माला लुटेको उजुरी पर्दै आएको थियो । दावा सिक्किम लागेपछि उनकै पुरानो ग्याङको सहयोगमा काभ्रे जिल्लामा रहेको महंगो बुद्धचित्त माला यस वर्ष उनले कब्जा गर्ने प्रयत्न गरेका थिए । त्यसका लागि उनले सांसद नविना लामालाई प्रयोग गरेको माला कारोबारमा संलग्नहरु बताउँछन् ।
 
गत साता उनले काभ्रे जिल्लाको सबैभन्दा महंगो मानिने रोशी गाउँपालिका–३ फोईमा रहेको माईली तामाङको माला लुट्ने प्रयत्न गरेका थिए । तर, प्रहरीको हस्तक्षेपपछि उनी माईली तामाङलाई २० लाख बुझाएर मात्र माला टिप्न बाध्य भएका थिए । 

वर्षौंदेखिका जुवाअड्डा सञ्चालक 

सत्यमान लामाले काठमाडौंका विभिन्न स्थानमा जुवा अड्डा सञ्चालन गरेका छन् । प्रहरी स्रोतका अनुसार उनले वर्षौंदेखि भैंसेपाटीको एक अपार्टमेन्टमा जुवा खेलाउँदै आएका छन् । जुवा खेलाउने क्रममा मिटरब्याजमा पैसा लगानी गर्न लागेपछि उनको आर्थिक हैसियत अचानक आकाशिएको थियो । अहिले उनी करोड बढीको फच्र्युनर गाडी चढेर हिँड्छन् ।
 
राजधानीको बालुवाटार, बौद्धलगायतका स्थानमा जुवा अड्डा सञ्चालन गर्दै आएका सत्यमाले गतवर्ष तिहारमा एक व्यापारीलाई कुटेर १९ लाख लुटेका थिए । गुण्डा नाईके दावा र सत्यमानले २०७४ कात्तिकमा काभ्रेको रोशीमा ढुंगाखानी चलाएँदै आएका व्यवसायी प्रदीप बोगटीलाई डिल्लीबजारमा कुटपिट गरेका थिए । कुटपिटपछि बोगटीको साथमा रहेको १९ लाख लुटेर भागेका सत्यले पछि उनलाई टेलिफोन गरेर ‘कतै उजुर बाजुर गरेमा साखा–सन्तान सिध्याउँछु’ भन्दै धम्की दिए । उनको धम्कीपछि बोगटी प्रहरीसमक्ष जानै सकेनन्, सत्यले १९ लाख खाएकै खायै पारे ।
 
सत्यमानले गतवर्ष काभ्रेको सिपालीका किसानको बुद्धचित्त माला लुटेका थिए । उनीविरुद्ध बुढानिलकण्ठका दिलीप लामाको २५ लाखको चेक धाकधम्की दिएर लुटपाट गरेको उजुरी समेत परेको काठमाडौं प्रहरीले जनाएको छ । 
बिहीबार काठमाडौंबाट पक्राउ परेर छुटेका सत्यमान नेपाल प्रहरीको ‘क’ वर्गको सूचीमा रहेका दावा लामाको ‘मुन्सी’ अर्थात् सहयोगी हुन् । उनीबारे लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारबारे उजुरी परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिएका छन् । 

Post a Comment

0 Comments