Subscribe Us

कसले रोक्ने कांग्रेसभित्रको पहिरो ?

काठमाडौं । महासमिति बैठक आउनै लागेका बेला गुटको रणनीति बनाउनका लागि नेता रामचन्द्र पौडेलले बोलाएको भेलामा उनकै आलोचना भएपछि नेपाली कांग्रेसभित्र पहिरो जाने भएको छ । सभापति शेरबहादुर देउवासँग लोभमा लाभ साटेर फर्किएको भन्दै पौडेलको आलोचना भएको छ । सोमबार उनले बोलाएको गुटको भेलामा नेता कृष्णप्रसाद सिटौला गएनन्, गएका अरूले पौडेलको सात्तो खाएर फर्किएका छन् । 

भेलाले सभापति शेरबहादुर देउवाले प्रदेशमा तदर्थ समिति गठन गर्ने प्रस्ताव गरेकोमा त्यसको विरोध गर्ने निर्णय गरेको छ । हरेक प्रदेशमा रहेका महाधिवेशन प्रतिनिधि मार्फत निर्वाचन गराएर समिति बनाउनुपर्ने प्रस्ताव वैठकमा नेता अर्जुननरसिंह केसीले राखेका थिए । 

सभापति देउवालाई सजिलो हुनेगरी पौडेलले प्रस्ताव अघि सारेपछि केसीले यस्तो प्रस्ताव गरे । ‘नेता पौडेल अब गुटका नेता होइनन्, सभापति देउवाका सन्देशबाहक जस्तो लाग्न थालेको छ, उहाँका कुरामा भर पर्ने ठाउँ छैन’, एक नेताले भने,‘विधानअनुसार चलाउनको लागि सभापतिलाई दवाव दिने, विधान परिर्माजन मस्यौदा समिति चाडो बनाउनको लागि दवाव दिने लगायतका निर्णय गराउन पनि कठिन भयो । यसको प्रतिरक्षामा पौडेल आफैं लागेका छन् ।’

सभापति देउवाले साउन २ गते पौडेल पक्षका नेताहरूलाई विधान परिमार्जन समितिको विषयमा छलफल गर्न बोलाएका छन् । देउवाले ४ सदस्यीय समितिको ३ जना पौडेल पक्षलाई दिने बताएका छन् । पौडेल समूहले समितिमा गगन थापा, नविन्द्रराज जोशी, जीवन परियार र अर्जुनरसिंह केसी मध्ये तीन जनालाई पठाउने तयारी गरेको पनि गरेको छ । तर देउवाले पौडेलमार्फत नै उनको गुटमा खेल्ने तयारी गरेका हुन् । 

प्रकाशमानसिंह, अर्जुननरसिंह केसी, दिलेन्द्र बडु, दिलबहादुर घर्ती, प्रदीप पौडेल, हृदयराम थानी, रामकृष्ण यादव, नवीन्द्रराज जोशी, वद्री पाण्डे, जीवन परियार लगायतको उपस्थिति रहेको भेलामा सभापतिले किन यस्तो सहज लिगेसीमा कुरा गरिरहेका छन् भन्ने चर्चा समेत भएको छ । 

‘हामीले भनेको बेला बैठक नडाक्ने तर सभापतिले भन्नासाथ दौडिने पौडेलको चरित्रले नै उनको नेतृत्वमा गुट चल्दैन भन्ने निर्णयमा हामी पुगिसकेका छौं’, एक नेताले भने,‘उनको प्रतिक्रिया र गतिविधि हेर्नका लागि मात्र हामी बैठकमा पुगेका थियौं ।’
१३ औं महाधिवेशनमा कोइराला शक्ति केन्द्रको नेतृत्व गर्दै पौडेल सभापतिको मैदानमा उत्रिँदा उनलाई सबैको सहयोग थियो । तर जिल्ला सभापतिहरूको भेलापछि देउवाले उनलाई ‘मुड चेन्ज हुनेगरी कैलास चिया’ खुवाएको जस्तो लागेको एक नेताले व्यंग्य गरेका छन् । 
यता पार्टीका शक्तिशाली मानिएका डा. शेखर कोइराला र सिटौलाले महासमिति बैठकदेखि पार्टीका नयाँ विधि र नियमका सन्दर्भमा छलफल जारी राखीरहेका छन् । दुई नेताले समान नेतृत्व गरी तेस्रो गुटलाई बलियो बनाउने तयारी समेत गरेका हुन् । 
कोइरालाले महाधिवेशनका बेला देखि नै सभापतिको चरित्रका विषयमा आलोचना गर्दै आएका छन् ।

महाधिवेशनमा सर्वाधिक मत ल्याएका कोइरालाले देउवाको कार्यशैलीको आलोचना सार्वजनिक फोरममा पनि गर्दै आएका छन् । सिटौलाले महाधिवेशनको पहिलो राउन्डमा उम्मेदवार भए पनि कांग्रेसमा कित्ता परिवर्तनका लागि त्यसबेला देउवालाई दोस्रो राउन्डमा सघाएका थिए । 

तर चुनावमा सभापतिको शक्तिका नाममा जथाभावी गरेपछि कित्ता परिवर्तन गरी नयाँ गुटको तयारी गरेका हुन् । यो गुटमा कांग्रेसका युवा नेतादेखि देउवापीडित र रामचन्द्र पौडेलको धोकाधडीमा परेका नेताहरू छन् । 

Post a Comment

0 Comments