Subscribe Us

डीएलएको अध्यक्षमा अधिकारी

काठमाडौं । नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक्स लयर्स एशोसियसन (डीएलए) को १० औँ राष्ट्रिय अधिवेशनबाट योगेन्द्र बहादुर अधिकारी अध्यक्षमा विजयी भएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको सहयोगमा उठेका अध्यक्षका प्रतिस्पर्धी सीताराम केसी र सभापति शेरबहादुर देउवा समूहको सहयोगमा उठेका अर्का प्रतिस्पर्धी रामकुमार श्रेष्ठलाई हराउँदै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको सहयोगमा उठेका अधिकारी अध्यक्ष निर्वाचित भएका हुन्।

अध्यक्ष निर्वाचित भएका अधिकारीले ४३२ मत ल्याए। केसीले ३३४ र श्रेष्ठले ४२ मत ल्याएका हुन्। नवलपुरको गैंडाकोटमा भएको महाधिवेशन मतपरिणाम सार्वजानिक गर्दै सोमबार बिहान सकिएको हो।

महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुरेश कुमार, महिला उपाध्यक्षमा सुष्मा बाँस्कोटा, महासचिवमा लक्ष्मीदेवी रावल, कोषाध्यक्षमा सुधा खतिवडा, सचिवमा खड्क क्षेत्री, महिला सचिवमा विष्णु बस्याललाई निर्वाचित गरेको छ।

सात प्रदेशमा प्रदेश उपाध्यक्षहरू पनि निर्वाचित भएका छन्। प्रदेश १ मा मुरारी खानाल, प्रदेश २ मा राजन दाहाल, ३ मा राजु कटुवाल, गण्डकीमा फणिन्द्र कोइराला, प्रदेश ५ मा गोकर्णसिंह थापा, कर्णालीमा खड्क सिजापति, प्रदेश ७ मा वीरबहादुर जेठारा निर्वाचित भए। महाधिवेशनबाट तीन वर्ष कार्यकालका लागि २४ सदस्यीय समिति निर्वाचित भएका हुन्। डिएलएमा ४३ केन्द्रीय सदस्य रहेका छन्।

डिएलएले हालै विधान संशोधन गरी प्रदेशस्तरीय संगठन संरचना तयार गरेको थियो। डीएलए प्रदेश संरचनामा जाने कांग्रेसको पहिलो भातृ संगठन बनेको छ ।

Post a Comment

0 Comments