Subscribe Us

गुप्तचर प्रमुख बन्न कार्कीको यस्तो खेल

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बन्न असफल भएका डीआईजी पुस्कर कार्की यतिखेर नयाँ खेलमा लागेको खुलासा भएको छ । 

आईजीपी हुन नसकेका उनी मुलुकको एक मात्र गुप्तचरी गर्ने निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअबी) को प्रमुख बन्ने खेलमा लागेका हुन् । 

आईजीपीकै हैसियत बराबरीमा रहने उक्त पदमा पुग्नका लागि कार्की शुरुमा नेपाल प्रहरीको एआईजी बन्ने र त्यसलगत्तै राजनीतिक दबाब सिर्जना गरी राअबीको प्रमुख बन्ने खेलमा लागेको स्रोतको दाबी छ । त्यसका लागि उनी अहिलेदेखि नै शक्तिकेन्द्र धाउन थालेको नेकपाका एक नेता बताउँछन् । 

तीन एआईजीका लागि पाँच जना डिआईजीहरू प्रतिस्पर्धामा छन् । कार्की एआईजी बन्ने वा नबन्ने निश्चित नभए पनि त्यो भन्दा माथिको राअबी प्रमुख पद हत्याउन लागि परेका कारण यो विषयले राष्ट्रिय अनुसन्धान विभाग भित्र पनि चर्चा पाएको छ । 

स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नै कार्कीलाई राअबीको प्रमुख बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिन थालेकी छन् । डीआईजी कार्कीलाई आईजीपी बनाउन समेत राष्ट्रपति भण्डारीले लबिङ गरेकी थिइन् । 

स्रोतले भन्यो,‘गुप्तचर विभागमा प्रमुखको अवधि चार वर्ष रहँदै आएकोमा नियमावली परिवर्तन गरी तीन वर्षमा झार्न लगाई कार्की वर्तमान प्रमुख दिलिप रेग्मीलाई हटाएर आफू प्रमुख बन्न शक्ति केन्द्र धाउन थालेका छन् ।’ नियमावली परिवर्तन नभए रेग्मी १५ जेठ २०७६ सम्म बहाल रहने छन् । 

कार्कीलाई गुप्तचरको प्रमुख बनाउन विवादित ठेकेदार दिपक भट्टसमेत ज्यानै फालेर लागेको चर्चा विभागमा चुलिएको छ । नेपाल प्रहरीमा ठेक्का पट्टा गर्न नपाएका भट्ट कार्कीलाई विभागको निर्देशक बनाई त्यहाँको ठेक्का हात पार्ने सपना बोकेर लविङ गरिरहेका छन् । कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की समेत यो खेलमा लागेका छन् । राष्ट्रपति भण्डारीसँग नजिक रहेका ज्ञानेन्द्रले यसअघि कार्कीलाई आईजीपी बनाउन कांग्रेस सभापति शेरबहादुर देउवामार्फत पनि लविङ गरेका थिए । तर, प्रधानमन्त्री ओली भने कार्कीलाई गुप्तचरको प्रमुख बनाउने विषयमा कन्भिन्स भइसकेका छैनन् । 

ओलीले प्रधानमन्त्री हुनासाथ राष्ट्रिय अनुसन्धान विभाग र सम्पत्ति सुद्धिकरण विभागलाई चुस्त बनाउने नाममा आफू मातहत राख्ने घोषणा गरेका थिए । त्यसै घोषणालाई आधार मानेर केही तत्वले कार्कीलाई प्रमुख बनाएर विभागले आयम फेर्ने हल्ला समेत नेकपा वृत्तमा चलाइएको छ । 

गुप्तचरको प्रमुख फेर्ने विषयमा भने गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई जानकारी नै नभएको गृह स्रोत बताउँछ । नेकपाका नेता जनार्दन शर्मालाई भने ठेकेदार भट्टले बारम्बार दबाब दिने गरेको बुझिएको छ । 

नेपाल प्रहरीमा काम भन्दा हल्ला बढी गर्ने प्रहरी अधिकारीका रुपमा कार्की परिचित छन् । काठमाडौंमा प्रहरी प्रमुख एसपी छँदा असक्षम भई तानिएका उनले अपराध महाशाखा  र केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) मा भने केही काम गरेर चर्चा कमाएका थिए । सोही चर्चालाई आधार बनाई उनी आईजीपीको प्रतिस्पर्धीको रुपमा खडा भएका थिए । 

चाकडी र चाप्लुसी गरेकै भरमा मिसनमा छँदा समेत राष्ट्रपतिबाट शान्ति पुरस्कारले पुरस्कृत भएका उनी अहिले भने चाँडै एआईजी बन्न प्रहरी संगठन र गृह मन्त्रालयविरुद्ध मिडिया परिचालन गरिरहेका छन् । नेपालमा राम्रो काम गरेको खण्डमा मात्र सिफारिस भई पाउने पदक उनले विदेशमै मिसनमा छँदा हात पारेका थिए । 

जुन पदक प्रकरणलाई नेपाल प्रहरी भित्र नमुनाका रुपमा लिने गरिएको छ । नेपाल प्रहरीको आईजीपी बन्न अनेक हतकण्डा अपनाएका कार्कीलाई अन्तिम समयमा सिलवाल काण्ड दोहोरिने संभाबना बढेपछि प्रधानमन्त्री ओलीले एक नम्बरका रहेका तत्कालिन डिआईजी सर्वेन्द्र खनाललाई आईजीपी बनाएका थिए । अहिले उनै प्रधानमन्त्री ओलीलाई बिभिन्न प्रभावमा पारेर ठेकेदार भट्टको समूह कार्कीलाई गुप्तचर प्रमुख बनाउने खेलमा लागेको हो । 

Post a Comment

0 Comments