Subscribe Us

को बन्ला निमर्लनिवासको उत्तराधीकारी ?
पारस सुध्रिने लयमा, कोमल हिमानीको भयमा

काठमाडौं । निर्मलनिवासभित्रको उत्तराधिकारी राजनीतिको ‘खटपट’ सुरु भएको छ । पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहबीच यस विषयमा खटपट सुरु भएको बताइन्छ । 

कोमल सुध्रिन थालेका छोरा पारस शाहलाई निर्मलनिवासको उत्तराधिकारी बनाउन दबाब दिन थालेकी छन् भने ज्ञानेन्द्र बुहारी हिमानी शाहलाई उत्तराधिकारी बनाउनुपर्ने अडानमा छन् । 

दरबारले आगामी दिनमा राजनीतिमा पनि पाइला चाल्ने संकेतसहित हिमानीलाई अगाडी बढाउने तयारी भएको हो । करिब–करिब राजतन्त्र फर्किन मुस्किल रहेको देखेपछि हिन्दु राज्यको एजेन्डालाई स्थापित गराउनका लागि राजनीतिमा दरबारबाट उत्तराधिकारीको खोजी भइरहेको स्रोतले दाबी गरेको छ । 

यही खोजीका लागि नै दरबारमा पारस र हिमानीका विषयमा बहस सुरु भएको हो । पारस अहिले विभिन्न शक्तिपिठ धाइरहेका छन्, त्यसअघि नै हिमानीले शक्तिपिठ देखि सामाजसेवामा पनि आफुलाई अब्बल सावित गरिसकेकी छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबारको राजनीति, कुटनीति र सम्बन्धको साँचो बुहारी हिमानीलाई जिम्मा लगाएर यसै साता बाहिर जाने तयारी पनि गरेका छन् । 

निर्मलनिवास स्रोतका अनुसार अप्ठेरो अवस्थामा पनि हिमानीले दरबारको साख जोगाउनका लागि सामाजिक काममा सक्रियता देखाएका कारणले उत्तराधिकारी बनाउने तयारी गरेका हुन् । ज्ञानेन्द्रको यो निर्णयमा पूर्ववडामहारानी कोमल राज्यलक्ष्मी शाहको पनि सहमति रहेको बताइन्छ ।

पछिल्लो समयमा परिवारका सबै सदस्यलाई समेटेका ज्ञानेन्द्रलाई छोरी प्रेरणाको घर परिवारको मात्रै चिन्ता रहेको छ । ज्वाँई राजबहादुर सिंह कामै नलाग्ने ठानेका ज्ञानेन्द्रका छोरा पारसमाथि पनि विश्वास गुमिसकेको दरबार स्रोतले जनायो । ज्ञानेन्द्रले दरबारसँग जोडिएका सबै पारिवारिक नातालाई राजनीतिबाटै आफ्नो विरासतमा नाम कायम रहनसक्ने भएर समेट्न खोजेका हुन् । नेपालका चलेका कतिपय कम्पनीका मालिक समेत रहेका ज्ञानेन्द्रले तिनको सुरक्षाका लागि पनि राजनीतिलाई कवच बनाउन लागेका हुन् । 

राष्ट्रपति विद्या भण्डारीसँग सौहार्दता र विशिष्टताको सम्बन्ध कायम राखेका ज्ञानेन्द्रले गणतन्त्रलाई स्वीकार गरेका छन् । तर राजनीतिलाई जीवन्त राख्नका लागि उनले हिन्दुत्वलाई हतियार बनाउने तयारीसहित हिमानीलाई अघि सार्न लागेका हुन् । यसैबीच, दरबारले पूर्वपञ्चको प्रयोगमा एक पटक धार्मिक रक्षाको अभियान चलाउने तयारी पनि गरेको छ । 

शिव सेना नेपाललगायत धार्मिक सुरक्षाका लागि लागेका बेला राजनीतिक रूपमा पनि यो मुद्दा स्थापित गराउन ज्ञानेन्द्रले राप्रपाहरूको एकता चाहेका हुन् । तर सबै नेता मोही माग्ने ढुंग्रो लुकाउने चरित्रको रहेका कारणले उनी निक्कै शशंकित छन् ।
मौकामा गणतन्त्रवादी बन्दै अवसर लिँदै ज्ञानेन्द्रको मागलाई वास्ता नगरेका पूर्वपञ्चहरू यतिबेला हिन्दू राज्य र राजतन्त्रको मुद्दामा समान हुन लागेका छन् ।

राजतन्त्रको मुद्दा त्याग्दै गणतन्त्रको बाटोमा हिँडेका पशुपति शमशेर राणा, गणतन्त्र नेपालको संविधानलाई बहुमत पुराउनका लागि सहयोग गरेका कमल थापा, राजा मान्ने तर गणतन्त्रवादीलाई सहयोग गरेका लोकेन्द्रबहादुर चन्दसहितका नेता एकीकरणको तयारीमा जुटेका छन् ।

ज्ञानेन्द्रसँग चिसिएको सम्बन्ध सुधारर्ने मध्यस्तताका लागि नेपालगञ्जका मेयर धवल शमशेर राणाले सहयोग गरेको स्रोतको दाबी छ । ‘तर राजा यस विषयमा पनि निक्कै गम्भिर होइबक्सन्छ, यी राजनीतिज्ञ समयमा धोका दिन माहिर रहेको राजाले भनिबक्सिन्छ’, निर्मलनिवास स्रोतले भन्यो,‘तर पनि हिन्दु धर्म जोगाउनका लागि अन्य कुनै शक्ति र ताकत नलागेपछि टालैको भए पनि सहयोग लिने अन्तिम प्रयोग हो ।’

एकताका लागि विभाजित विभिन्न राप्रपाका युवा तहका नेताको संयोजन समिति पनि बनेको छ । यहि समितिले राप्रपालाई एक ठाउँमा उभ्याएर दरबारसँग नजिक बनाउने रणनीति अपनाएको छ । यता पशुपति शमशेरले पनि अहिले आएर हिन्दुत्वको नारालाई साथ दिन खोज्नु दरबारले नै चलाएको कतिपयले अनुमान गरेका छन् । ‘यो अनुमान मात्र होइन, सत्य हो अब दरबारले राजनीति थालेको छ’, स्रोतले भन्यो । 


Post a Comment

0 Comments