Subscribe Us

चर्चा यत्रतत्र, हातमा ‘अपदस्त’ पत्र !

काठमाडौं । फिल्म जस्तै नाटकीय बन्यो गोपीकृष्ण फिल्मस्की मालिक्नि निकिता पौडेलको राजनीतिक नियुक्ति ।

सरकार गिर्न लाग्दा तत्कालिन सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसँग लाडिएर पाएको चलचित्र विकास बोर्डको अध्यक्ष पदलाई ओली सरकारले खोसेको पत्र उनको हातमा पुगेको छ । 

कमल थापा नेतृत्वको राप्रपाका नेता उद्धव पौडेलपुत्री निकितालाई कसरी चलचित्र विकास बोर्डको अध्यक्ष दिइयो भन्नेमा नै विवाद थियो । 

सरकार गिर्ने बेला बस्नेतले गरेको कृपा अब काम नलाग्ने भएपछि निकिताको टाउको दुखेको छ । 

कम्तिमा ४ वर्षका लागि आएको भन्ने उनको दम्भ र घमन्डलाई ओली सरकारले चकनाचुर पारेपछि उनी फिल्मकर्मीसँग पनि रिसाएकी छन् । पूर्वएमाले र पूर्वमाओवादी समर्थित फिल्मकर्मीले आफ्ना जागिर खुस्काएको भन्दै उनी आक्रोशित हुने गरेकी छन् । 

‘बस्नेतसँग उठबस गरेर पाएको पद हिँडेपछि अहिले निक्कै तनाबमा छिन्, सबैसँग प्रतिवाद गर्दै आएकी छन्’, स्रोतले भन्यो,‘अदालत जाने तयारी गर्नुअघि नै मन्त्रालयको पत्र पाएपछि झन् तनाब भएको छ । यो नियुक्तिविरुद्ध अदालतले पनि फैसला दिन नसक्ने जस्तो देखिएको छ ।’

नेपाली फिल्म क्षेत्रमा साउनदेखि बक्सअफिसको योजना लागु गर्ने डंका पिटेकी निकिताले फिल्मको बजार स्तरोन्नतीको तयारी गरेको बताउँदै आएकी थिइन् । त्यसो त निकितालाई यो सरकारले सुरुदेखि नै मन पराएको थिएन । प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा पनि एमालेको राजनीति गरेका दिनेश डिसी र अभिनेता राजेश हमाललाई लगिएको थियो । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारत जान चाहेकी थिइन् । यसैबीच सञ्चार मन्त्रालय अन्तर्गतका १५ भन्दा बढि राजनीतिक नियुक्ति पाएकालाई अपदस्त पारिएको चिठि बुझाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, सदस्य हेमकुमार श्रेष्ठ, गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्याय, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, सदस्य गोविन्दबहादुर कोइराला र विमला भण्डारीलाई अपदस्त पारिएको चिठि काटिएको छ । 

चलचित्र विकास बोर्डका सदस्य विजय देउजा, सेन्सर बोर्डका उमेश खड्का, देवीराम पराजुलीलाई पनि अपदस्त पारिएको चिठि दिइएको छ । नेपाल टेलिभिजनका सल्लाहकार किरण चित्रकार, राससका सञ्चालक समिति सदस्य एकराज पाठक, नेपाल टेलिभिजनका सञ्चालक समिति सदस्य गोविन्द धितालले पनि नियुक्ति बदरको चिठी पाएका छन् । 


Post a Comment

0 Comments