Subscribe Us

‘प्रचण्डले भन्नुभयो प्रसाईकहाँ जाऊँ’

     

मार्सी प्रकरणपछि बद्नाम दुर्गा प्रसाई सम्पर्कविहीन


केसीका मागलाई अतिरञ्जित गर्ने सचिवालयका सदस्यहरू छाँटिने


नारायणकाजीको पहल सही भएको ओलीको ठहर 


काठमाडौं । डा. गोविन्द केसीको सत्याग्रह आन्दोलन चलिरहेका बेला पूर्वएमालेआवद्ध पत्रकार भेला पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए,‘बासमती चामलको भात खानेले मार्सी चामलको बिरोध गरे ।’ यसपछि सत्याग्रहको पक्षमा सडकमा रहेका सर्वसाधारणलगायतले सरकारको अझ आलोचना गरे । सरकार झुक्यो र डा. केसीसँग ९ बुँदे सहमति भयो, २२ बुँदा चिकित्सा शिक्षा विधेयकमा संशोधनका लागि सरकार तयार भयो । 

प्रधानमन्त्री निवास बालुवाटारमा प्राय नछिर्ने डा. केसी यसै साताको अन्त्यतिर चिकित्सकहरूको टोली लिएर ओलीलाई भेट्न पुगे । डा. दिव्या सिंह शाहको समन्वयमै उक्त भेट भएको थियो । निक्कै नम्र, भद्र र सहमतिलाई कार्यान्वयनका लागि अघि बढ्ने शैलीमा प्रधानमन्त्री ओली प्रस्तुत भए । एक हिसाबले प्रधानमन्त्री ओलीको प्रस्तुती देखेर सत्याग्रही डा. केसी ‘फ्यान’ नै भए ।
केसी १५ औं पटक बैठक बस्दा उनको समर्थनमा भएको प्रदर्शनका क्रममा आफुमाथि लगाइएका आरोपलाई पनि प्रधानमन्त्री ओलीले भेटका क्रममा उप्काएका थिए । उनले आफुलाई नपढेको, गुन्डा, आठ कक्षा पढेको भनेर विद्वानहरूले खिसिट्युरी गरेको कुरा निकाल्दै डा. केसीलाई भने,‘आन्दोलन यस्तो पनि हुन्छ । सभ्य मानिसहरूको आन्दोलन यस्तै हो त ?’

प्रधानमन्त्री ओलीले यतिमात्र भनेनन् । आन्दोलनका क्रममा चर्चामा रहेको मार्सी चामलको भात खानका लागि प्रचण्डको प्रस्तावमा मेडिकल व्यावसायी दुर्गा प्रसाईँका घरमा पुगेको बताए । ‘एकताका लागि अन्तिम चरणको छलफलको तयारी थियो, प्रचण्डले मेरा मित्रको घरमा जाऊँ भन्नुभयो । त्यहाँ मार्सी पाकेको थियो की के पाक्यो थाहा हुन सकेन ।’

प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले केसीका सहयोगी तथा वार्ता टोली संयोजक डा. अभिषेक सिंहलाई फोन गरी प्रधानमन्त्री निवास बोलाएका थिए । आफ्नो वार्ता टोलीका सदस्यहरूलाई पनि डा. केसीले बोलाए । त्यसैबमोजिम शनिबार ११ बजे केसीसहित डा. अभिषेकराज सिंह, डा. सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, डा. विश्व तिम्सिना, विषद दाहाल र प्रितम सुवेदी बालुवाटार पुगेका थिए । 

त्यसपछि ओलीले आफ्नो निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई बोलाउन अह्राए । उनी दुई–तीन मिनेटभित्र आइपुगिन् । महाराजगन्जस्थित टिचिङ अस्पतालमै कार्यरत शाह केसीका साथी तथा उनको स्वास्थ्योपचारकी प्रमुख चिकित्सक पनि हुन् ।
प्रधानमन्त्रीले डा. केसीलाई डोल्पा, रौतहट, सप्तरी, सुनसरी, ताप्लेजुङलगायत धेरै जिल्लाको उदाहरण दिए । प्रधानमन्त्री ओलीले केसीका माग पुरा गर्नका लागि २७ दिन लाग्नुमा आफ्नो सचिवालय र पार्टीका नेताहरूको गलत रिपोर्टिङ भएको पनि बुझेका छन् । 

केसी र सरकारबीच भएको सम्झौता कार्यान्वयन समयसीमा सकिइसकेका बेला प्रधानमन्त्रीले संवादको पहल गरेका हुन् । चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भइसकेको छैन । संशोधन प्रस्ताव हालिएका छन् । यसैबीच, मार्सी चामलको प्रबन्ध गर्ने र डा. केसीको मृत्युले फरक नपर्नेदेखि बंगलादेशमा नेपाली डाक्टरमाथि करणी हुनेसम्मको अभिव्यक्ति दिएका मेडिकल व्यावसायी दुर्गा प्रसाई सम्पर्कविहीन बनेका छन् । 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रहेको राम्रो सम्बन्धका कारण सत्याग्रह आन्दोलनको विरोधमा प्रायोजित ढंगले लागेका प्रसाई सम्पर्कविहीन भएका हुन् । उनलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग उठिरहेका कारण उनी सम्पर्कबाहिर रहेको बताइएको छ । 
यता, डा. केसीसँग भेटिसकेपछि सोही प्रकरणमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसँग विग्रिएको सम्बन्धको कारण आफ्नो सचिवालयले छरेको भ्रम रहेको ठहरमा प्रधानमन्त्री ओली पुगेका छन् । उनले श्रेष्ठको राजीनामा स्वीकार नगर्ने र भ्रम छर्ने सचिवालय सदस्यहरूलाई कारबाहीको तयारी पनि गरेको बालुवाटार स्रोतले जनाएको छ । 

Post a Comment

0 Comments