Subscribe Us

मन्त्रीको मनपरी भ्रष्टको जगजगी
समाज कल्याणमा किन हुन्छ सधै फोहोरी खेल

काठमाडौ । दुई तिहाई सरकारको दम्भ एकातिर छँदै छ, अर्कातिर सरकारका मन्त्रीको मनपरीले सीमा नाघेको छ । बल्लतल्ल पाएको पदको सदुपयोग गरी नाम कमाउने होइन, दुरुपयोग गरी बदनामीको टिका लगाउन मन्त्रीहरूले मनपरी गर्न थालेका छन् । महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले समाजकल्याण परिषद्मा गैर कानुनी तरिकाबाट तालाबन्दी  गरेकी छन् । 

सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई हटाउने मन्त्री थापाको निर्णय सर्वोच्च अदालतले बदर गर्दै अन्तरिम आदेश दिएपछि अताल्लिएकी थापाले परिषद्मा तालाबन्दी गरेकी हुन् । सदस्यसचिव हटाउने र तालाबन्दीको कारण दुई सातादेखि सेवाग्राही मर्कामा परेको एक कर्मचारीले बताए । 

परिषद्का सदस्य सचिव भट्टलाई हटाएर मन्त्री थापाले प्रधानमन्त्री कार्यालयका सहसचिव राजेन्द्र पौडेललाई पठाएकी थिईन् । तर गत बुधबार सर्वोच्च अदालतले भट्टलाई हटाउने गैर कानुनी भएको भन्दै यथास्थितमा राखी काम कामकाज गराउन सरकारको नाममा अन्तरिम आदेश दिएको थियो । 

सर्वोच्चको आदेशसँगै मन्त्री थापाले आफूनिकट कर्मचारी लगाई सदस्य सचिव भट्टको कार्यकक्षमा ताला लगाएकी हुन् । तीन दिनदेखि कार्यालय गएका भट्टले कार्यालमा बसेर काम गर्न पाएका छैनन् भने बाहिर कार्यालय सहयोगीको कोठामा रहेको हाजिर कापीमा हाजिर गर्दै फर्किने गरेको परिषदका कर्मचारीले बताए । कार्यकक्षको साँचो माग्दा परिषदका पदाधिकारी र कर्माचारीले मन्त्रीसँग भएको बताउँदै आएका छन् ।

सरकारी कार्यालयमा तालाबन्दी गराएर मन्त्रीले शुसासनको कुरा गर्नु बेकार भएको बताउँदै कानुनी राज्यको खिल्ली उडाउने काम गरेको कर्मचारी बताउँछन् । परिषदका केही घुसिया र भ्रष्ट पदाधिकारीसँग मिलोमतो गर्दै मन्त्री थापाले सदस्यसचिवको कार्यालयमा तालाबन्दी गर्दा परिषदको सम्पूर्ण काम कारवाही ठप्प छ । 

अदालतबाट अन्तरिम आदेश लिएर आए पनि काम गर्न नपाएका सदस्य सचिव भट्टले मन्त्रीको कानून विपरितको कदमले परिषदले दिने सेवा ठप्प हुँदा सयौं गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका कार्यक्रम स्विकृत गर्न नपाइएको बताए । कामहरू प्रभावित हुँदा परिषदलाई लाखांै रुपैया नोक्सानी भईसकेको उनले बताए । 

उता मन्त्री थापालाई उचाल्ने परिषद्का दुई नागरिकताधारी निर्देशक शिवकुमार बस्नेतलाई भने मन्त्री थापाले संरक्षण गर्दै आएकी छिन् । कारबाही गर्नुपर्ने निर्देशक बस्नेतलाई मन्त्री थापाले परिषद्को प्रशासन विभाग र योजना विभागको जिम्मेवारी दिएकी छिन् । निर्देशक बस्नेतविरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुर र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ । उनले नयाँ नागरिकताअनुसार आगामी फागुन १५ गतेसम्म काम गर्न पाउनेछन् । बस्नेतले २०३५ फागुण २८ मा १८ वर्ष उमेर तोकी १२६९ को ०३५÷०३६ नम्बरको पहिलो नागरिकता लिएका थिए । यसैलाई आधार मान्ने हो भने उनी २०१७ सालमा जन्मिएको र हाल ५८ वर्ष पुगिसकेको देखिन्छ ।

तर, उनले २०४४ माघ ११ मा नागरिकता टोलीबाट २ को २०५ नम्बरको अर्को नागरिकता लिएका थिए । जसमा जन्म मिति २०१८ असार १५ उल्लेख छ । सरकारी कर्मचारी भएर लाभका पदमा बस्न दोहोरो नागरिकता लिएर कीर्तेकाण्ड मच्चाएका निर्देशक बस्नेतलाई मन्त्री थापाले संरक्षण गरेकोमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय र समाजकल्याण परिषदका कर्मचारीहरू छक्क छन् । 

स्रोतका अनुसार मन्त्री थापालाई ठूलो आर्थिक प्रलोभनमा पारेर निर्देशक बस्नेत कारबाहीबाट जोगिँदै आएका छन् । उता मन्त्री थापाले सरकारको निर्देशन विपरित गएर यिनै बस्नेतसहित परिषद्का कोषाध्यक्ष बिरबहादुर ठकुन्ना र गमबहादुर पुनलाई एक साता चीन भ्रमणमा समेत पठाएकी थिईन् । सरकारले कुनै औचित्यबिना तथा कुनै एनजिओ तथा आईआईएनजिओको खर्चमा कुनै पनि कर्माचारीलाई विदेश भ्रमणमा रोक लगाएको छ । तर चिनियाँ आएनजिओसँग सेटिङ गर्न ति पदाधिकारीलाई विदेश भम्रण पठाएको स्रोतको दाबी छ । 

भ्रमण लगत्तै समाज कल्याणको नीतिनियम विपरित मन्त्री स्वयम्को उपस्थितमा चिनियाँ कम्पनीसँग तीन वटा संस्थाको एमओयू गराईएको थियो । जुन कानुन विपरित थिए । उता समाज कल्याण परिषद अन्तर्गत रहेको भृकुटी मण्डपका स्वास्थ्य कोषका सभापति अदिद खड्का विदा स्वकृती नगराई चार–चार महिना अमेरिका बसेर तलव बुझेको प्रमाण समेत जनप्रहारले फेला पारेको छ । 
चार महिना अमेरीकामा छोरी ज्वाँईसँग बसेका खड्काले सदस्य सचिवलाई थाहै नदिईकन स्वास्थ्य कोषका सचिव सीता देउवा महतसँग मिलोमतो गरी तलब बुझेका थिए । यस्ता कारवाहीको दायरामा ल्याउने पर्ने कर्मचारी र पदाधिकारीलाई मन्त्री थापाले किन संरक्षण गरिरहेकी छिन् यो भने रहस्यको बिषय बनेको छ । 

सर्वसाधारण कर्मचारी र पदाधिकारीलाई अवधि अगाडी नै विभिन्न बहानामा निकाल्दै आएको संस्थाले परिषद्का कोषाध्यक्ष वीरबहादुर ठकुन्नाकी छोरी उर्मिला ठकुन्ना,  ज्वाँई सुनिल चन्दलाई भने अवकाश पश्ताच पनि म्याथ थप गर्दै जागिर थमौति गर्दै आएका छन् । यस बिषयमा भने मन्त्रीको ध्यान गएको देखिँदैन । तर संस्थामा यस्तै खुराफाती गर्दै आएका ठकुन्ना जस्ता पदाधिकारीसँग मिलेर मन्त्रीले संस्था धरासायी पार्न खोजेको परिषद् कर्मचारी बताउँछन् । 

परिषद्का उपाध्यक्ष निलमणी बरालले आफ्नो पदको दुरुपयोग गर्दै ६ लाखको गोल्डेन ह्यानचेक लिएर राजीनामा दिएकी बालिका थापालाई पुनः परिषदमा नियुक्ति गरेका छन् । उनले थापालाई आफ्नै पिएमा नियुक्ति गरेपछि परिषद्मा अहिले यो चर्चाको बिषय बनेको छ । २० बर्षदेखि भृकुटी मण्डप अनियमितताको नाईके समेत उपाध्यक्ष बराल रहेको स्रोतको दाबी छ । 

Post a Comment

0 Comments