Subscribe Us

किन खाईयो हवल्दारको जागिर ?

काठमाडौं । महिला प्रहरी मध्ये कम विवादमा आएकी प्रहरी उपरीक्षक किरण राणाले एक प्रहरी हवल्दारको जागिर खाएकी छन् । प्रहरी हवल्दार गणेशबहादुर घोरासैनीलाई ड्युटीमा रहेको बेला साथीलाई टोकेको आरोप लगाउँदै उनको जागिर एसपी राणाले खाएकी हुन् । 

उनी भक्तपुर परिसरको प्रमुख हुँदा घोरासैनीको जागिर १५ बर्ष भैसकेको र उनका बालबच्चा समेत सानै रहेको अवस्थामा झूठो आरोप लगाएर एसपी राणाले जागिरबाट हटाएको आरोप लागेको छ । 

आफू निर्दोष रहेको भन्ने मौका समेत नदिई उनलाई जागिरबाट निकालिदिएकी परिसरका अन्य प्रहरी बताउँछन् । प्रहरी हवल्दारले महानगरीय प्रहरी आयुक्त कार्यालयमा पुनरावेदन दिए पनि सुनुवाई हुन सकेको छैन । 

ड्युटीमै रहेको बेला सार्वजनिक स्थानमा हो हल्ला गरेको, मादक पदार्थ सेवन गरेको जस्ता आरोप लगाइएको छ । उनी मादक पदार्थ नै सेवन नगर्ने प्रहरी रहेको उनकै साथीहरूले बताएका छन् । पेन्सन हुन करिब ३ बर्ष बाँकी हुँदा विना आधार उनलाई जागिरबाट निकालि दिएकै कारण यतिबेला घोरासैनीले गृहमन्त्री रामबहादुर थापा बादललाई समेत आफ्नो पीडा सुनाउन परेको छ । 

हवल्दारलाई जागिरबाट निकालिदिएपछि एसपी राणाले उनको जागिर नजोडिदिन हालै सरुवा भएका एसएसपी पूर्णचन्द्र जोशीलाई समेत आग्रह गरेकी छन् । भक्तपुर प्रहरी प्रमुख भएर जानु अघि प्रहरी परिचरको भर्नामा एक व्यक्तिको हाइट (उचाइ) नपुगेको कारण भर्ना छनौट गर्ने कार्यमा खटिएकी एसपी किरण राणा विवादमा मात्रै परेकी थिइनन् महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा समेत तानिएकी थिइन् । 

तत्कालिन महानगरीय प्रहरी अन्तर्गत महाराजगञ्जस्थित २ नं. गणको परिसरमा रहेको शिक्षालयको प्रमुुख रहेकी किरण राणाले हाइट पुगेको भनी सिफारिश गरेको व्यक्ति मेडिकल चेकजाँचका क्रममा हाइट नपुगेपछि फेल भएका थिए । उनलाई कसरी र के हाइट पुगेको भनी पास गराइयो भन्ने कुरा प्रहरी मुख्यालयसम्म पुगेपछि उनी रानीपोखरीमा तानिएकी थिइन् । 

छनौटका क्रममा शिक्षालयकी किरण राणा प्रमुख त थिइन् ।  त्यसबाहेक मेट्रोबाट प्रहरी निरीक्षक रवीन्द्र खड्कासमेतको टोली खटिएको थियो भने प्रहरी मुख्यालयबाट समेत प्रतिनिधिका रूपमा डिएसपीको कममाण्डमा नै एउटा टोली सो शिक्षालयमा खटिएको थियो । यति हुँदाहुँदै पनि उचाइ नपुगेको व्यक्तिलाई पुगेको भनी पास गराएपछि त्यसका पछाडि कतै आर्थिक चलखेल त थिएन भन्ने आशंकामा उनलाई रानीपोखरी तानेर अनुसन्धान थालिएको थियो । तर त्यो अनुसन्धानपछि शक्तिकेन्द्रको आडमा तुहाइएको थियो ।

तत्कालिन डिआइजी मिङमार लामाको अध्यक्षतामा छानविन समितिसमेत गठन भएको थियो । सो समितिले आर्थिक चलखेललाई प्रमाणित गर्न नसके पनि उचाइ नपुगेको व्यक्तिलाई पास गराएको भन्ने चाहिँ पुष्टि गरेपछि राणा हटाई उनको ठाउँमा एसपी सुदनकुमार सिजापती र डिएसपी गोविन्द आचार्यलाई शिक्षालयमा खटाइएको थियो ।

त्यस्तै प्रहरी हवल्दार घोरासैनीलाई पनि विनाकारण जागिरबाट निकालिनुको कारणबारे अहिले प्रहरी प्रधानकार्यालयमा मात्र होइन गृहमन्त्रालयमा समेत चर्चाको विषय बनेको छ । २०५० सालको इन्सपेक्टर ब्याचमा चार जना महिलाले नाम निकालेका थिए । मिरा चौधरी, किरण बज्राचार्य, दुर्गा चन्दसँगै किरण राणाले त्यतिबेलै इन्सपेक्टरमा नाम निकालेकी हुन् । उनी जानुअघि भक्तपुरमा किरण बज्रचार्य थिइन् । उनलाई विस्थापित गरेर राणा भक्तपुर प्रहरी प्रमुख भएर गएकै केही महिनामा घोरासैनीलाई जागिरबाट निकालेकी थिइन् । 

भविष्यमा सरकारी सेवोका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाएको भन्दै एसपी राणाले २०७५ वैशाख २० गते नोकरीबाट घर पठाएकी थिइन् । उनी भक्तपुर प्रमुख भएकै बेला विप्लव समूहका कार्यकर्ताहरूले मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर शाक्यमाथि सांघातिक हमला भएको थियो । 

उनले त्यसलाई अनुसन्धान गर्न नसक्दा राजनीतिक दलका नेताहरूबाट समेत आलोचित बनेकी थिइन । उनकै समयमा भक्तपुरमै कार्यरत प्रहरी जवान उमेश थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । एसपी राणा हाल महिला बालबालिका सेलमा कार्यरत छिन् ।

Post a Comment

0 Comments