Subscribe Us

बिमस्टेक सम्मेलनः वरिष्ठ अधिकारीको बैठक भोली,ग्रिड कनेक्टिभिटी समझदारीदेखि यातायात सम्झौता सम्म

काठमाडौं-बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो शिखर सम्मेलन बिहीवार र शुक्रवार काठमाडौंमा हुँदै छ। सम्मेलनले बिमस्टेकको स्थापनाको २१ वर्षपछि आफ्नो बडापत्र पारित गर्ने जनाइएको छ। 
सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौंमै परराष्ट्र मन्त्रीस्तरीय बैठक बस्दै छ। त्यस अगाडि परराष्ट्र सचिवस्तरीय उच्च अधिकारीहरूको बैठक बस्ने बताइएको छ।
सम्मेलनको अघिल्लो दिन भदौ १३ गते बुधवार १६ औं मन्त्रिस्तरीय बैठक होटेल सोल्टीमा बस्दै छ। सो बैठकले सम्मेलनको एजेण्डाहरुको मस्यौदा तय गर्ने योजना बनाएको छ। त्यस्तै बैठकले बिमस्टेक महासभा र समझदारी पत्र र काठमाडौँ घोषणापत्रलाई हस्ताक्षरका लागि अन्तिम रूप दिने छ। सम्मेलनको घोषणापत्रलाई नेपाल सरकारले अन्तिम रूप दिइसकेको छ।
त्यस्तै काठमाडौंमा गत महिना बसेको उच्च अधिकारीहरूको बैठकले सहमति जुटाएको बिमस्टेक बडापत्रलाई अन्तिम रूप दिई सम्मेलनमा प्रस्तुत गर्ने बताइएको छ।
त्यसअघि मन्त्रिस्तरीय बैठकको एजेन्डा तय गर्नका लागि राष्ट्रहरूका उच्च अधिकारीहरूको १९ औँ बैठक मंगलबार बस्ने छ।
ग्रिड कनेक्टिभिटी समझदारी हुने
यसैबीच सम्मेलनका दौरान सदस्य मुलुकहरुबीच ग्रीड कनेक्टिभिटी सम्बन्धी समझदारी हुने बताइएको छ। सबै सात सदस्य राष्ट्रका राष्ट्राध्यक्ष वा प्रधानमन्त्रीहरूको उपस्थितमा सदस्य मुलुकहरूका प्रतिनिधिहरूले यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
मन्त्रिपरिषद्को बैठकले नेपालको तर्फबाट समझदारीपत्रमा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई दिने निर्णय गरिसकेको छ।यो समझदारीपछि सबै सदस्य मुलुक अन्तरदेशीय विद्युत् प्रसारण लाइन सञ्जालमा जोडिने बाटो खुल्ने छ।
यातायात तथा पारवहन सम्झौताबारे छलफल
बिम्स्टेको चौथो सम्मेलनको अर्को एजेन्डा भनेको सदस्य मुलुकहरुबीचको यातायात तथा पारवहन सम्झौता हुनेछ। यसअघि नै सबै सदस्य मुलुकहरू यो सम्झौता गर्न सहमत भइसकेका छन्।

सम्मेलका क्रममा हुने विभिन्न छलफलहरूमा यस विषयलेसमेत प्रवेश पाउने छ।सम्मेलकै दौरानमा यातायात तथा पारवहन सम्झौताको विषयमा छलफल गर्न संयुक्त कार्यटोलीको बैठक बस्ने छ।
मंगलबार बस्ने बैठकमा सबै सदस्य मुलुकका प्रतिनिधिले सम्झौताको मस्यौदामाथि आफ्ना धारणा राख्नेछन्। यो सम्झौता कार्यान्वयनमा आए नेपालले विम्स्टेकका अन्य ६ सदस्य राष्ट्रका सडकको निःशुल्क प्रयोग गर्न पाउने छ।कार्यटोलीको बैठकले सम्झौतालाई अन्तिम रूप दिन सके सम्मेलनमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै सम्मेलनमा बिमस्टेक महासन्धि कार्यान्वयनका विषयमासमेत छलफल हुनेछ। नेपालको सांसदले अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागू औषध कारोबार विरुद्ध सहयोग सम्बन्धी बिमस्टेक महासन्धिलाई अनुमोदन गरिसकेको छ।
बिम्स्टेकले पहिचान गरेका १४ वटा सहयोग सम्बन्धी साझेदारीका क्षेत्रहरूका विषयमा समेत छलफल हुने छ। विम्स्टेकको १९९८ नोभेम्बर मा ढाकामा सम्पन्न दोस्रो मन्त्रिस्तरीय बैठकले ६ वटा प्राथमिकताका क्षेत्र पहिचान गरेको थियो।
दोस्रो बैठकले व्यापार तथा लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि र मत्स्यपालनलाई प्राथमिकताका क्षेत्र पहिचान गरेका थियो।
मोदी चढ्ने गाडीसहित भारतीय कमाण्डो टोली काठमाडौंमा
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सुरक्षा जाँच गर्ने भारतीय सुरक्षाकर्मी काठमाडौं आइपुगेका छन्।
१३ सदस्य कमान्डो टोली काठमाडौं आएको हो। भारतीय वायु सेवाको विमानमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढ्ने ३ वटा गाडीसमेत काठमाडौं आइपुगेको छ।
भदौ १४ र १५ गते हुने सम्मेलनलाई सुरक्षित बनाउन सरकारले चार वटै सुरक्षा निकायलाई परिचालन गर्ने भएको छ। सुरक्षाको सम्पूर्ण जिम्मेवारी नेपाली सेनालाई दिइएको छ।
सबै सुरक्षा तयारी पुरा भइसकेको महानगरीय कार्यालय रानीपोखरीका डिआइजी मनोज न्यौपानेले बताए। प्रहरीले सोमवार बिहान भिआइपीको सुरक्षाको लागि रिहर्सल समेत गरेको छ।
चार वटै सुरक्षा निकायका २० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू विशिष्ट व्यक्तिको सुरक्षामा खटिने छन्।
भीभीआईपीका श्रीमतीलाई समेत बुलेटप्रुफ गाडी
सम्मेलनमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानन्याधीश योङ ओ छिरिङ वाङ्चो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति युमिन मिच, श्रीलंकन राष्ट्रपति मेट्रीपाला श्रीसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चानओचा सहभागी हुनेछन् ।
सम्मेलनमा सहभागी हुने नेपाल बाहेकका ६ देशका राष्ट्रप्रमुखसहित दोस्रो वरीयतामा रहने भीआईपीलाई पनि बुलेटप्रूफ गाडी उपलब्ध गराइने गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारीले जानकारी दिए।
सम्मेलनमा आउने राष्ट्र प्रमुख तथा सरकार प्रमुख र उहाँपछिको दोस्रो वरीयतामा रहने श्रीमान् र श्रीमती वा अन्य व्यक्तिलाई पनि बुलेटप्रूफ गाडी उपलब्ध गराइने बताइएको छ। अन्य १२ देखि १५ वटा गाडी उपलब्ध गराइने छ ।’
सम्मेलनमा एक देशबाट १२ देखि १५ जनासम्मको प्रतिनिधिमण्डल सहभागी हुने नेपाल सरकारको अपेक्षा छ ।सोहीअनुसार गृहमन्त्री नेतृत्वको ‘सुरक्षा समन्वय तथा परिवहन व्यवस्थापन समिति’ले २०० वटा सवारीसाधनको व्यवस्थापन गरेको छ ।
गृह मन्त्रालयका उपसचिव अधिकारीका अनुसार सबै गाडीको सुरक्षा अवस्था, गाडीहरूको कन्डिसन परीक्षण भइसकेको छ।
भीभीआर्इपीका लागि विहिबार अढार्इ घण्टा त्रिभुवन विमानस्थल बन्द
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका लागि विहिबार अढार्इ घण्टा त्रिभुवन विमानस्थल बन्द गरिने भएको छ।
बिम्स्टेक सम्मेलनका लागि विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष आउँदा विमानस्थलका अरु नियमित उडान बन्द हुनेछ।विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार विहिबार विहान ८ बजेदेखि साढे १० बजेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द हुनेछ।
विहिबार विहान आठ बजेदेखि साँढे १० बजेसम्म संचालन हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय कम्पनीलाई हामीले आइतबार अढाइ घण्टाको लागि उडान अवतरण निषेध गर्नका लागि नोट्याम (नोटिस टु एयरम्यान)का लागि पत्राचार गरिसकेका छ।
दुई दिनको लागि विमानस्थलमा निजी तथा व्यवसायिक सवारी साधन आउजाउमा कडाइ गरिने र धेरै समय रोक्न नदिइने भएको छ।
सुरक्षा पूर्वअभ्यास
सम्मेलनमा नेपाल आउने पाहुनालाई आवश्यक सुरक्षासहित आवास स्थलसम्म पुर्याउन सोमबार पूर्वअभ्यास गरिएको छ ।यही भदौ १४ र १५ गते काठमाडौँमा हुने सम्मेलनमा भाग लिन आउने विदेशी विशिष्ट तथा अति विशिष्ट पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पाहुना बस्ने होटल, सम्मेलनस्थलदेखि उनीहरु जाने स्थानसम्म पूर्वअभ्यास गरिएको हो।
नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा उक्त पूर्वअभ्यास भएको थियो।

Post a Comment

0 Comments