Subscribe Us

विप्लवको हिंसात्मक युद्ध तयारी !
गाउँमा हतियारसहितको विद्रोह, सहरमा प्रविधिमार्फत आक्रमणको नीति

प्रहरीले विभिन्न ठाउँबाट सूचना संकलन गरी एक करोडभन्दा बढी रकम युद्धको तयारीका लागि हतियारसहित बन्दोबस्तीका सामान खरिद गरेको रिपोर्ट तयार पारेको छ /

नवलपरासीदेखि पूर्वको धनकुटासम्म विप्लव समुहले युद्धको तयारी गरेको भन्दै केन्द्रीय प्रवक्तादेखि नेताहरू धमाधम पक्राउ 

एकातिर नेता कार्यकर्ता पक्राउ गरी अदालतलाई समेत चुनौति दिने सरकारले बोलाएको वार्तामा नजाने भन्दै विप्लव समूह युद्धको तयारीमा नै जुटेको छ

नेकपाविरुद्ध सूचना दिने, सुराक गर्नेलाई भौतिक कारबाहीको सूची तयार पारिँदै, सीमादेखि युद्धको शंखघोष हुने 

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेपाल कम्युनिस्ट पार्टीले हिंसात्मक युद्धको तयारीमा तिव्रता दिएको छ । जन सेना गठनदेखि तालिमको तयारी गरिरहेका बेला सरकारले आफ्ना प्रभावशाली मानिएका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ गरि विभिन्न मुद्दा लगाउने कोशिश गरेपछि विप्लव समुह अझ सशक्त तयारीमा उत्रिएको छ । 

भारतसँग सीमा जोडिएका ग्रामिण बस्ती तथा हिमाली जिल्लादेखि विप्लवको हिंसात्मक आन्दोलन, छापामार युद्धको शंखघोष हुनसक्ने एक नेताले बताए । केही दिनअघि मात्र विभिन्न रूपमा हिंसात्मक आन्दोलनमा रहेका पार्टी, समुह र संगठनलाई सरकारले वार्तामा बोलाउने निर्णय गरेको थियो । त्यसका लागि गृह मन्त्रालयलाई मन्त्रिपरिषद्ले अख्तियारी समेत दिइसकेको छ । तर विप्लव समुह सरकारसँग वार्ता नगरी छापामार युद्धको तयारीमा जुटेको छ । 

कम्युनिस्ट र माओवादीका नाममा मोहन वैध किरण कमजोर भएको, पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग आत्मसमर्पण गरी सहिद, वेपत्ता र जनयुद्धमा मारिएका परिवारको सपनालाई तुहाएको भन्दै विप्लवले युद्धको तयारी थालेका हुन् । त्यसका लागि नेकपाले दुई रणनीति अपनाएको स्रोतको दाबी छ । ग्रामिण भेगमा छापामार युद्ध र सहरमा प्रविधिको युद्धलाई तिव्रता दिने उसको योजना छ । ‘अहिलेको युगको हिसाबले नै कुन ठाउँमा कस्तो प्रभाव पर्न सक्छ, त्यहिअनुसारको युद्धको रणनीति बन्छ । तत्काल सहरमा हामीले हतियारको युद्ध गर्ने भनेका छैनौं, प्रविधिबाट नागरिक सहानुभूति लिँदै सरकारविरुद्ध अघि बढ्छौं’, एक नेताले भने,‘विसर्जन र आत्मसमर्पणवादी शैलीले मुलुक अघि बढ्न सक्तैन ।’

यो समुहले आफूविरुद्ध राज्यलाई सूचना दिने, असहयोग गर्ने र आन्दोलन तुहाउनका लागि भुमिका खेल्नेको सूची समेत तयार पारिरहेको छ । सूचीमा रहेका व्यक्ति, कम्पनी वा त्यसका सञ्चालकलाई कारबाहीसम्म गरिने चेतावनी दिइएको छ । यता, नेपाल प्रहरीले पनि विप्लव समुहको युद्धको तयारी रहेको सूचना प्रहरी प्रधान कार्यालयसम्म पुराएको छ । गृह मन्त्रालयमा पनि यहि व्रिफिङ गरिएको छ । भूमिगतरुपमा सैन्य दस्ता निर्माण गरिरहेको दावी गर्दै प्रहरीले त्यसका लागि नेकपाले सैन्य दस्ता पोशाक, बन्दोबस्ती र प्राविधिक (हातहतियार र गोलाबारुद) का लागि दुई वर्षमा एक करोड रुपैयाँ खर्च गरेको रिपोर्ट तयार पारेको छ । विप्लव समुहको बहिखाता फेला पारेको प्रहरीले भुमिगत केन्द्रहरूमा छापा मारेको थियो । 

बहिखाता नेपाल प्रहरीको महाराजगञ्जस्थित विधिबिज्ञान प्रयोगशालामा परिक्षण भईरहेको छ । विप्लव समूहको आर्थिक वर्ष २०७३ देखि साउनसम्मको आम्दानी र खर्चको विवरण पत्ता लागेको प्रहरीको दाबी छ । खातामा यसअवधिमा सात करोड ७५ लाख रुपैयाँ चन्दा बापत उठाएको देखिएको छ । त्यसमध्ये एक करोड रुपैयाँ लडाकुको व्यवस्थापनमा खर्च भएको प्रहरीले पत्ता लगाएको छ । चन्दा दिने संस्था र व्यक्तिको नाम पनि सो खातामा प्रहरीले भेटेको छ । त्यसैका आधारमा अझ अनुसन्धान बलियो बनाउने तयारी गरिएको एक प्रहरी अधिकारीले बताए । 

गृहमन्त्री रामबहादुर थापा (बादल) को निर्देशनपछि हिंसात्मक गतिविधिमा संलग्न बिप्लब माओवादी लक्षित आक्रामक कारवाहीमा प्रहरी जुटेको छ । प्रहरीले विप्लवको समेत खोजी गरिरहेको छ । चुनावका बेलामा विभिन्न ठाउँमा विस्फोट गराउने, अन्य सामान्य समयमा पनि असामान्य हिसाबले हिंसा मच्चाउनेलगायतका मुद्दा विप्लव समुहलाई लगाइएको छ । 

बिप्लब माओवादीले पछिल्लो समय भौतिक आक्रमण गरेका ठूला व्यवसायिक संस्था र घरानाले ठूलो रकम चन्दा बापत उपलब्ध गराएका छन् । सो रकमको व्यवस्थापनको जिम्मा प्रहरी हिरासतमा रहेका खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पाएका थिए । प्रहरीले प्रकाण्डसहित चारजना पोलिटब्युरो सदस्य, चारजना केन्द्रीय सदस्य र मेची तथा कोशी ब्युरो इन्चार्जलाई पक्राउ गरेर स्थानीय प्रहरीको जिम्मा लगाएको छ । पक्राउ पर्नेमा प्रकाण्डसहित पोलिटब्युरो सदस्यहरू कृष्ण धमला, मोहन कार्की, ओमप्रकाश पुन र पदम राई छन् । धमला र कार्कीलाई प्रदेश–३ प्रहरीको जिम्मा लगाईएको छ । राईलाई प्रदेश–१ प्रहरीको जिम्मा दिईएको छ भने पुन उपर अनुसन्धान भईरहेको छ ।

केन्द्रीय सदस्यहरू चन्द्रबहादुर खड्का, देवनारायण शाह, टेकबहादुर केसी र दिपेश राई पनि पक्राउ परेका छन् । विप्लब माओवादीका मेची ब्युरो कमाण्डर सुमन लिम्बु र कोशी व्युरो कमाण्डर किरण राईलाई पक्राउ गरेर सम्बन्धित क्षेत्रका प्रहरीको जिम्मा लगाईएको छ । आफ्ना विभिन्न ठाउँका नेता कार्यकर्ता पक्राउ गरी कारबाहीसहित मुद्दा लगाइएका कारण सरकारले बोलाएको वार्तामा नआउने विप्लज समुहले जनाइसकेको छ । 

पार्टीका प्रवक्तालाई सरकारले नियत राखेरै पक्राउ गरेको भन्दै वार्ता टोलीसँग छलफल गर्नुको कुनै औचित्य नभएको पार्टीले उल्लेख गरेको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायत तराईमा रहेका सशस्त्र समूहसँग वार्ता गर्न सरकारले गत पाँचजना सदस्य रहेको उच्चस्तरीय वार्ता टोली गठन गरेको थियो ।

तर नेता कार्यकर्ता पक्राउ गरिरहेको भन्दै चन्द नेतृत्वको दलका स्थायी कमिटीका सदस्य हेमन्तप्रकाश ओलीले वार्ता टोली गठनको औचित्यमै प्रश्न उठाए । उनले भने, ‘उहाँहरू कसरी नमिल्ने र द्वन्द्व चर्काउने भन्नेतिर अगाडि बढिरहेनु भएको छ । हामीले सबै हिसाब गरिरहेका छौ ं। जस्तै हाम्रा प्रवक्तालाई कहिले काठमाडौं, कहिले काभ्रेपलाञ्चोक त कहिले नुवाकोट लगेको छ ।’
सरकारले दमन गर्ने नीति लिएको र वार्ताको नाटक गरेको ओलीको ठम्याई छ । उच्च स्तरीय वार्ता टोलीले भने अर्को हप्ताबाट नै काम थाल्ने गरी तयारी गरिरहेको जनाएको छ । वार्ता टोलीका संयोजक सांसद सोमप्रसाद पाण्डे दुई तिहाइको सरकार स–साना कुरामा अल्झिन नपरोस् भनेर समस्या सुल्झाउन यो कदम उठाएको बताए । 

Post a Comment

0 Comments