Subscribe Us

अनुसन्धानको घेरामा ‘फेक रेस्क्यूका’ ठग
शक्ति केन्द्रको आडमा टासी शेर्पाको दादागिरी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले विदेशी पर्यटकको फर्जी उद्दार गरी अन्तर्राष्ट्रिय बीमा कम्पनीबाट रकम लुट्ने (फेक रेस्क्यु ठग)को खोजी गर्न थालेको छ । पर्यटन मन्त्रालयमा फेक रेस्क्युको उजुरी परेपछि छानबिनका लागि सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वको टोलीले बुझाएको प्रतिवेदन, प्रहरी अनुसन्धान र उजुरीका प्रकृतिका आधारमा सीआइबीले छानबिन थालेको हो । 

सीआईबी उच्च स्रोतका अनुसार तस्करी भन्दा पनि ठूलो रकम लुट्ने यस्तो ठगी नियन्त्रणमा शक्ति केन्द्रका कुनै पनि निकायसँग जोडिएका जो कोहीलाई पक्राउ गरी सोधपुछ गरिने छ । सीआइबीले तीन दर्जनभन्दा बढि फेक रेस्क्यु गर्ने ट्रेकिङ कम्पनीलाई निगरानीमा राखेको छ । 

ट्रिप एडभाइजरीले कालोसूचीमा राखेका ठगहरूलाई सीआइबीले अनुसन्धान गर्नेछ । ‘यस्तो ठगीमा ट्रेकिङ एजेन्सी एसोसीएशनका पदाधिकारीको नाम पनि आएको छ, हामीले निगरानीमा राखेर त्यस्ता ठगलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने तयारी गरेका छौं’, सीआइबीका एकजना अधिकारीले भने,‘केहीको राजनीतिक शक्ति केन्द्रसँग सम्बन्ध रहेको देखिएको छ, उसको अपराधको प्रमाण बलियो बनाएर कारबाहीको प्रक्रिया जानेछौं ।’

१४ पिक्स ट्रेकिङ एजेन्सीका सञ्चालक टासी शेर्पा, फ्लाइट कनेक्सन इन्टरनेशनल ट्राभल्स एजेन्सीका सञ्चालक श्यामसुन्दर कँडेललगयात फेक रेस्क्यु प्रकरणमा अगाडी आउने नाम हो । अकुत सम्पत्ति थुपार्ने, शक्ति केन्द्रलाई रकमले रिझाउने काम उनीहरूबाट हुँदै खाएको छ । 

विदेशी पर्यटकलाई फर्जी बिरामी बनाएर उद्दारको नाममा बिमा असुल्न नक्कली बिल बनाउने गरिएको छ । यस्तो छानबिनको दायरामा शेर्पाको लगानीमा रहेको अर्को सेभेन समिट पनि परेको छ । सेभेन समिट कालोसूचीमा परेपछि शेर्पाले १४ पिक्स भन्ने नयाँ रेस्क्यु कम्पनी खोलेका थिए जसलाई सीआइबीले निगरानीमा राखेको छ । 

यस्तै, बिमाको रकम असुल्न फेक रेस्क्यु प्रकरणको छानबिन दायरामा बयोधा, ग्रान्डी, नर्भिक, मेडिसीटी, सिविक, इरा हेल्थ, स्वाकनलाई छानबिन समितिले तानेको थियो । यीसँगै अल्पाइन रेस्क्यु, हिमालयन सोसल जर्नी, एस द हिमालय, नेपाल हाइकिङ टिम, युनिक एडभेन्चर, नेपाल इन्भारोमेन्टल ट्रेकिङ, नेपालभिजन ट्रेकिङ, हिमालय सिनरी, फ्लाइट कनेक्शन, हिमालयन रेस्क्यु, ग्रेट हिमालय, इजीहेली पनि छानबिनको दायरामा छन् । 
यसरी हुन्छ ठगी
एउटा पर्यटकको फर्जी उद्दारका क्रममा कम्तिमा ८ लाख नाफा हुन्छ । फेक रेस्क्युको काम गर्ने कम्पनीले सस्तोमा प्याकेज बेच्ने र उद्दारबाट कमाउने रणनीति बनाउने गरेका छन् । सामुहिक उद्दार गराउँदा एकै दिनमा ४० देखि ५० लाखसम्म आम्दानी हुन्छ । यो रकम अस्पताल र हेलिकोप्टर कम्पनीबीच बाँडफाँट हुने गरेको छ ।
के–के गर्छन् कम्पनीले ? 
सामान्य दुखाई कम हुने औषधिले निको हुन सक्ने बिरामीलाई स्थानीय होटल तथा पथप्रदर्शकले काठमाडौं गएरै उपचार गर्न बाध्य पर्छन्। काठमाडौं आउँदाको हेलिकोप्टर चार्टड शुल्क, चिनेजानेका अस्पतालहरूमा पुर्याएको शुल्क र काठमाडौंमा आफ्नै नजिकका होटलमा बसाएको शुल्कबाट उनीहरू कमिसन लिने गर्छन् । एकपटक स्वास्थ्य परीक्षण गराएको ८ सय डलरसम्म लाग्ने गर्छ । दुई वा तीन दिन अस्पतालमा विताए ५ हजार डलरसम्म असुलिन्छ । यहाँ पनि कमिसनको खेल हुनेगर्छ ।

यस्तै, स्थानीय होटल मालिकहरूले बिरामी पर्यटकको उद्धारका लागि हेलिकोप्टर बोलाउँछन् । त्यसमा आफूलाई चाहिने सामग्री पनि मगाउँछन् । होटल मालिकले हेलिकोप्टर बोलाएबापत पैसा लिन्छन् । अर्कोतर्फ होटलका लागि आवश्यक सामग्री पनि मगाउँछन् ।

त्यसैगरी, एक्सपेडिसन सञ्चालन गर्ने टे«किङ कम्पनीले दुई जनालाई उद्धार गर्न एउटै हेलिकोप्टरको प्रयोग गर्ने गर्छन् । बीमा कम्पनीलाई उनीहरूले बील भने फरक–फरक ५–५ हजार गरी १० हजार डलरको बनाएर देखाउँछन् । जसबाट झन्डै ७ हजार डलर नाफा कमाउँछन् ।

त्यस्तै, सही तरिकाले उद्धार प्रामाणित गर्न कागजत जुटाउन कुनै गाह्रो हुँदैन । तर पथप्रदर्शकले चाँडै फिर्ता गराउने जालझेलपूर्ण उद्धारलाई चिकित्सकीय दृष्टिकोणले उचित ठहराउन कठिन हुन्छ । यसमा बीमा कम्पनीले बील माग गर्छन् । यस्तो झुटो बीलमा काठमाडौंका अन्तर्राष्ट्रिय अस्पतालहरूले सजिलै बनाइदिन्छन् । त्यस्ता झुटो विवरणमा डाक्टरले हस्ताक्षर गर्दिन्छन् ।

यसरी बढ्यो टासीको दादागिरी
शक्तिकेन्द्रको आडमा टासी शेर्पाले जगजगी मच्चाएका छन् । शेर्पाले ठगी झन् बढाएका छन् । नेपाल कम्युनिस्ट पार्टीको युवा नेता भन्दै प्रचार गरी फेक रेस्क्युमा टासीको दादागिरी बढेको हो । जनप्रहारसँग आफुलाई अति सामान्य र निम्नस्तरको बताउने टासी एक करोडको गाडी चढ्नुका साथै प्रदेश सभा चुनावमा संखुवासभाबाट लड्ने तयारीमा थिए । उक्त टिकट लिनका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घर धाएका थिए । 

प्रचण्डपुत्र स्व. प्रकाश दाहालसँग सम्बन्ध बनाएर राजनीतिक दलको बुई चढेर टासीको सेभेन समिट कालो सूचीमा परेको थियो । त्यसपछि उनले आफ्नै नाममा १४ पिक्स भन्ने खोलेका छन् । पर्यटकलाई बिरामी बनाई हेलिकप्टरबाट उद्दार गर्ने र सो बापत बीमा दाबी गरी झूठा विवरण पेस गरी लाखौं लुट्नेमा उनी पर्छन् । एक ट्रेकिङ व्यावसायी भन्छन्,‘विभिन्न नेतासँग फोटो देखाएर पनि प्रभावमा पार्ने गरेका छन् ।’

टासीले प्रचण्ड, शेरबहादुर देउवालगायतका नेतासँग फोटो खिचि फेसबुकमा राखेका छन् । उनले यस्ता तस्बिर जसले पनि खिचाउने प्रतिक्रिया जनप्रहारलाई दिए पनि यसको दुरूपयोग रेस्क्यु र सम्बन्धित निकायमा गर्दै आएका छन् । 

Post a Comment

0 Comments