Subscribe Us

३३ किलो सुन खोज्दै अपराध महाशाखा,
समीतिले नभेटेका एक दर्जन माथी अनुसन्धान सुरु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएर गायव भएको तस्करीको साढे ३३ किलो सुन खोज्ने जिम्मा महानगरीय अपराध महाशाखाले पाएको छ । 
सनम शाक्य हत्या र तस्करीको साढे ३३ किलो सुन प्रकरणको छानविन गर्न सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित समितिले तीन महिनासम्म अनुसन्धान गर्दा पनि सुन पत्ता लगाउन र तस्करीको जालो तोड्न नसकेपछि गृह मन्त्रालयले सुन खोज्ने जिम्मा प्रहरीलाई दिएको हो । नेपाल प्रहरीका आईजीपी सर्बेन्द्र खनालको आदेशमा अपराध महाशाखाले सुन खोजी कार्य तिब्र बनाएको छ ।
रहस्यमा रहेको सुनको अनुसन्धानको क्रममा केही प्रमाण फेला पारेको भन्दै महाशाखाका एसपी सोमेन्द्रसिंह राठोरले छिट्टै नतिजा निस्कने दाबी गरे । फागुन १५ गते अपहरणमा परेका मोरङ उर्लाबारीका सनम शाक्यको हत्या र त्रिभुवन विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन गायव भएपछि गृह मन्त्रालयले गत १९ चैतमा पौडेलको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।
तर, उक्त समितिले पाँच दर्जन बढिलाई मुद्दा चलाएपनि सुन भने पत्ता लगाउन सकेन । समितिले ७ सय ७२ पृष्ठ लामो प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष बुझाइ सकेको छ ।
समीतिले केही दिन अघि प्रधानमन्त्री ओलीलाई बुझाएको प्रतिवेदनमा ३ सय अन्य ब्यक्तिमाथि पनि छानबिन गर्नु पर्ने उल्लेख छ । उक्त सुन पक्ररणमा सनम शाक्य, सानु बम र प्रेमलाल चौधरीको मृत्यु भईसकेको छ भने तिन दर्जन कारागार चलान भएका छन् । तर, सुन भने बरामद नहुनुलाई रहस्यमय ढंगबाट लिएको छ । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार सुन लुटपाटमा प्रहरी अधिकारीकै हात रहेको हुनसक्ने देखिन्छ ।
सरकारले पौडेल संयोजक रहेको समितिलाई संगठित सुन तस्करीको छानविन गरि ४५ दिनभित्र अनुसन्धान सक्न कार्यदेश दिएको थियो । यद्यपि, त्यो समयसिमासम्म अनुसन्धान पूरा नभएपछि २५ दिनका लागि म्याद थप गरिएको थियो । त्यसपछि पुनः थप अनुसन्धानका लागि एक महिना म्याद थप भएको थियो । तरपनि समितिले न त सुन तस्करीको जालो नै तोड्न सक्यो न त गायव भएको सुन पत्ता लगाउन नै । (यूनाइटेड पोष्ट)

Post a Comment

0 Comments