Subscribe Us

यस्तो छ प्रचण्डको वंशवाद !

बानेश्वरमा गिरीजाप्रसाद कोइरालालाई परिवारवादी भनेर हुर्मत लिने प्रचण्डको वंशवादमाथि नेकपामा किन हुँदैन बहस ?
काठमाडौं । नेपाली राजनीतिमा स्व. गिरीजाप्रसाद कोइरालाले भित्राएको वंशवादलाई नेपाल कम्युनिस्ट पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरन्तरता दिएका छन् । कोइरालाको भन्दा पनि उग्र वंशवादी शैलीमा प्रचण्डका कार्यकलाप र दबाबले काम गरेको छर्लङ्ग छ । 

जर्मनमा रहेकी छोरी सुजाता कोइरालालाई सिधै नेपाली कांग्रेसको केन्द्रीय समितिमा ल्याएको केही समयमा नै संक्रमणकालिन सरकार गठनका बेला माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउँदै सुजातालाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयमा गिरीजाले पुराएका थिए । नागरिक सर्वोच्चताका नाममा तत्कालिन समयमा प्रचण्डले ६ दिनसम्म देशैभर बन्द गराएर उक्त कार्यको विरोधमात्र गराएका थिएनन्, परिवारवादी भनेर गिरीजाको हुर्मत लिएका थिए । उनै प्रचण्ड गिरीजाभन्दा उग्र परिवारवादी भएर निस्किएका हुन् । 

स्थानीय देखि प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा टिकट वितरण गर्दा नै परिवारका सदस्यलाई प्रधान बनाएका प्रचण्डले चुनावमा जित्नेलाई आकर्षक जिम्मेवारी र पराजित हुनेलाई राजनीतिक नियुक्ति नै दिलाएका छन् । पहिले परिवार र त्यसपछि मात्र पार्टीको काममा सक्रिय हुने उनले अन्य नेतालाई पाखा लगाउँदै एकीकृत पार्टीमा बामदेव गौतमलाई बोक्न थालेका छन् । 

यता परिवारका सवै सदस्यलाई उपयुक्त सेटिङ गरी गृहमन्त्री रामबहादुर थापा बादललाई हटाउने तयारीमा पनि उनी जुटेका छन् । उच्च स्रोतले भन्यो,‘प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्री फेर्नुपर्छ भन्ने प्रस्ताव नै प्रचण्डले पुराएका हुन् ।’ 

आइतबारमात्र भारतको तीन दिने भ्रमण सकी नेपाल फर्किएका प्रचण्डले जानुअघि मन्त्री हेरफेर गर्ने बताएका थिए । फर्किएपछि ओलीको जिम्मेवारी हो, मैले त्यस्तो भनेको छैन भन्दै झूठ समेत बोले ।‘माओवादी युद्धको चोट नबोकेका, संघर्षको अन्तरघुलन नजानेकालाई अवसर दिने र पीडितहरूलाई अवसरशुन्य बनाउने उनको नियतले नै पार्टीको विसर्जन भएको हो’, उच्च स्रोतले भन्यो,‘हामीले यस विषयमा बहस र अन्तरसंघर्षका लागि रामबहादुर थापा बादललाई पटक–पटक भनेका थियौं । तर, उहाँले त्यसमा जोड दिनु भएन, आफैं पेलिनुभयो ।’ 


परिवारवाद

युद्धमा घाइते, वेपत्ता र स्थायी कार्यकर्ता, लडाकु भएर हिँडेकालाई पाखा लगाएर प्रचण्ड परिवारवादको चरम विन्दुमा उभिएको पीडितहरूको गुनासो छ । प्रचण्डको निर्देशनमा नै थाइल्यान्ड जान लागेका पूर्वलडाकुका युवा लेलिन विष्टमाथि गृह मन्त्रालयले रोक लगाएको थियो । पीडितहरू भन्छन्,‘माओवादीको विसर्जन गरेपछि उनी परिवारवादमा सक्रिय छन् । परिवर्तनका निम्ति भन्दा पनि परिवारको सुरक्षणका निम्ति प्रचण्ड सक्रिय भए । लामो युद्धको डोभलाई उनले अवमुल्यन गरे ।’

तत्कालिन ओली सरकारलाई अविश्वासको प्रस्ताव पेस गरी कांग्रेससँग गठजोड गरेका प्रचण्डले शक्ति केन्द्रमा हुँदा पहिलो चरणको स्थानीय तहको चुनावमा छोरी रेणुलाई भरतपुर महानगरपालिकामा जिताउनका निम्ति शेरबहादुर देउवासँग सहकार्य गरेका थिए । चितवनमा तत्कालिन एमालेका नेता देवी ज्ञवालीको चुनावी सभामा पुगेका ओलीले व्यंग्यात्मक हिसाबमा भनेका थिए,‘कांग्रेसले नाम्लो लाएर कसलाई बोक्यो भनेको त माओवादीको छोरी !’

रेणुलाई ०७० सालको संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ को टिकट प्रचण्डकै दबाबमा मिलेको थियो । महानगर प्रमुखमा छोरीलाई निर्वाचित गराई प्रतिनिधि सभा निर्वाचनमा उनले आफ्नो सीट सुरक्षित पारेका थिए । सो विषयमा नेपाली कांग्रेसको बहुमतको क्षेत्र छाडी माओवादीलाई बोकेको भन्दै कांग्रेसभित्र सभापति देउवाको तिव्र आलोचना भएको थियो । केन्द्रीय समितिको बैठकमा पनि देउवाले उक्त निर्णयलाई गल्तीका रूपमा स्वीकारेका थिए । 

छोरा प्रकाशको निधनले एक झड्का लागे पनि प्रचण्डले वंशवादलाई त्याग्न सकेनन् । कञ्चनपुरमा चुनाव जितेर प्रतिनिधि सभामा आएकी बुहारी बीना मगरलाई मन्त्री बनाउनकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहरी विकास तथा खानेपानी मन्त्रालय विभागन गर्न लगाएका थिए । हठात्मा बीनालाई खानेपानी मन्त्री नियुक्त गरेपछि त्यसैबेला सरकारमा जान खुट्टा उचालेको संघीय समाजवादी फोरम व्याक भएको थियो । 

नेपाल कम्युनिस्ट पार्टी भित्रको माओवादी कित्ताको निर्णय खुमलटारबाट हुने गरेको छ । कान्छी छोरी गंगालाई पूर्वप्रधानमन्त्रीका हिसाबले सरकारी सुविधाको स्वकीय सचिव नियुक्त गरेका प्रचण्डले कान्छा ज्वाँई जीवन आचार्यलाई उपराष्ट्रपति नन्दबहादुर पुनको सरकारी सचिवालयमा जागिरे बनाएका छन् । 

जेठा ज्वाईँ सागर तिमल्सिनालाई सभामुख कृष्णबहादुर महराको सचिवालयको मुख्य बनाएर पठाएका प्रचण्डका माइला ज्वार्इँ अर्जुन यसअघिका वाणिज्य आपूर्ति मन्त्री गणेशमान पुनका स्वकीय सचिव थिए भने अहिले मेयर पत्नी रेणुका मुख्य सल्लाहकार र सहयोगी छन् । 
एक जना पूर्वलडाकु नेताले भने,‘राजनीति र लोकतन्त्र, संघीयतासहितको गणतन्त्र प्रचण्डको परिवारको अवसरका लागि मात्र आएको रहेछ, हाम्रा लागि होइन । हामीलाई अयोग्य भनेर बहिर्गमनमा पारियो ।’ प्रचण्डको व्यक्तिवादी चिन्तन र अवसरवादी चरित्रका कारण तत्कालिन नेता डा. बाबुराम भट्टराईसँग पार्टीमा कयन पटक विवाद हुने गरेको थियो । 

यस्तै शैलीका कारणले प्रचण्डसँग मोहन वैद्य किरणलगायतका नेताहरू पनि विभाजन गरी अन्यत्र गएको माओवादीहरूको बुझाई छ । गोपाल किराँतीले त प्रचण्ड अवसरवादी भएको भन्दै माओवादी पुनर्गठनको घोषणा नै गरेका छन् । तत्कालिन नेपालका लागि भारतीय राजदूत राकेश सुदलाई सोलुखुम्बुमा जुत्ता प्रहार गरी किराँतीले माओवादीको परिचय र महत्वलाई भारतीय संस्थापनमा उच्च मुल्यांकनमा पारेका थिए ।

प्रधानमन्त्री बन्न भारत भ्रमण !
प्रधानमन्त्री ओलीलाई भारतमा चीन परस्तको परिचय स्थापित गरिएको छ । अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि भारतीय संस्थापनको दबाबमा नै प्रचण्डले अविश्वासको प्रस्ताव पारित गराई प्रधानमन्त्रीको कुर्सीमा आफुलाई उभ्याए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भारतीय उच्च अधिकारी नेपाल आएको केही दिनमा नै उनको भारत भ्रमण केही महिनामा प्रधानमन्त्रीको कुर्सीमा बस्ने योजनाअनुसार भएको उच्च स्रोतले जनाएको छ । 

प्रचण्डलाई भारतपरस्त र ओलीलाई चीनपरस्तका रूपमा भारतीय थिङ्क ट्यांक तथा गुप्तचर संस्थाले लिने गरेको छ । उक्त विषय खुला कार्यक्रममा नै रअका पूर्वप्रमुख अशोक मेहताले प्रचण्डलाई सोधेकै थिए । भारतीय संस्थापनले छिमेक कुटनीति थिंक ट्याङ्कको सल्लाहका आधारमा नै तय गर्छ ।

भारतीय प्रधानमन्त्री मोदीको निम्तोमा भ्रमण भएको बताइए पनि केही समयमा प्रधानमन्त्री बन्ने अभिलाषामा उनी भारतको नजिक पुगेका हुन् । सोही समयमा यता चीनसँग पारवाहन सम्झौताले नाका खुलेपछि भारतलाई केही चिसो परेको छ । जुन, विषयलाई मिलाउनसक्ने वचनबद्धता प्रचण्डले गरेका छन् । 


Post a Comment

0 Comments