Subscribe Us

बिनाको राजनीति मेलम्चीको पानी !
हतारमा बोल्यो, फुर्सदमा पोल्यो

ठूला क्रान्तिकारी कुरा गर्ने बिनाले मन्त्री हुनासाथ दशैंसम्ममा मेलम्चीको पानी काठमाडौंमा झार्ने हतासमा बोलिन्, ठूलो जत्था लगेर मेलम्ची परियोजनाको भ्रमण पनि गरिन् तर केही लछारपाटो लगाउन सकिनन्            
      आउँछ भन्दाभन्दै कार्यकाल सकिने डर ! दशैंमा काकाकुल काठमाडौं 
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी, खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई सस्तो लोकप्रियतामा रमाउने रहरले डुबाएको छ । मन्त्री नियुक्ति हुनासाथ मेलम्चीको पानीले डुबाउने घोषणा गरेकी उनले पानी खुवाउनुको साटो उपत्यकावासीलाई दशैंमा लोप्पाचाहीँ खुवाएकी छन् । 

मेलम्चीले अरूलाई होइन, बिनाकै घोषणालाई डुबाएको छ । सर्वसाधारण भन्छन्– जुन जोगी आए पनि कानै चिरेको । ‘अरूले ल्याउन नसकेको चिज बिनाले किन ल्याउँथिन् र ? भर छैन’, उपत्यकावासी अञ्जन शर्मा भन्छन्,‘यस्ता घोषणा धेरै सुनियो ।’

युवा भएकै कारण मगरले बोलेपछि काम गर्छिन् भन्ने अपेक्षालाई उनको महत्वकांक्षाले तुहाएको हो । मन्त्रालयमा काम गर्न नसक्ने, निर्णयलाई कार्यान्वयनका लागि दबाब दिन नसक्ने मगरलाई पूर्वमाओवादीका सुदूरपश्चिमका नेता लेखराज भट्ट, सल्लाहकारहरूले घुमाइरहेका छन् । जसका कारण खानेपानी मन्त्रालयको काममा कुनै प्रभावकारिता पनि छैन । मन्त्रिपरिषद्मा कान्छी भएकाले होइन, प्रचण्डकी बुहारी भएकाले उनले बोलेका कुरा पुरा नभए पनि छुट जस्तै छ । नेकपाका एक नेताले भने,‘दबदबा त शक्तिकेन्द्रका आफन्तको नै हुन्छ ।’

मन्त्री मगरले पानी ल्याउनका लागि बारम्बार सम्बन्धित निकायलाई निर्देशन नदिएको पनि होइन । तर काम नगर्ने अकर्मण्यहरूको नेतृत्वमा परेका कारण हतारमा बोल्नु फुर्सदमा पोल्नु भएको छ ।  आगामी दसैंसम्म पनि उपत्यकावासीका धारामा मेलम्चीको पानी आउने सम्भावना छैन । उपआयोजनाले लक्ष्यअनुसार सुरूङको भुइँ ढलान र अन्य प्राविधिक काम सकेको छैन । 

आयोजनाका अनुसार ठेकेदार कम्पनी इटालियन कम्पनी को–अपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसीले हेडवक्रसको निर्माण सुरूङको भुइप्लास्टर, गेट भेन्टिलेटर निर्माण, अप्टिकल फाइबर बिछ्याउने, सिसिटिभी क्यामेरा लगायतका काम सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसो त मन्त्री मगर मेलम्ची तिर भन्दा पनि आफ्नै प्रशासनका कर्मचारी, सचिव सरूवालगायतका काममा बढी सक्रिय भइन् । 

ठाउँ–ठाउँमा पुगेर पानी सरसफाईका नवीनतम् भाषण दिए पनि प्रशासनमा लाइन मिलाउने कर्मचारीलाई राख्ने उनको गति अलिक बढी भएको उच्च स्रोतले जनायो । मेलम्ची खानेपानी उपआयोजनाका अनुसार अहिलेसम्म १६ किलोमिटर सुुरूङको भुइँढलान भए पनि अन्य साढे ११ किलोमिटर सुरूङको भुइँ ढलान गर्न बाँकी नै छ । 

त्यतिमात्रै होइन, गेट भेन्टिलेटर निर्माण, अप्टिकल फाइबर बिछ्याउने, सिसिटिभी क्यामेरा जडान, सुरूङको प्राविधिक जाँच लगायतका काममा पनि बिनाका सचिवालयका मान्छेले हस्तक्षेप गरेका छन् । जसका कारण काम हुन नसकेको हो ।मेलम्चीको पानी सुन्दरीजलमा खसेको खण्डमा भने उपत्यकामा पानी साता दिनभित्रै जनताको घर–घरमा वितरण गरिने भएको छ । 
काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले त्यसको लागि सबै काम सम्पन्न गरेको दाबी गरेको छ । त्यहाँका एक विशिष्ट कर्मचारीका अनुसार राजनीतिक दलको दबाब र उपल्ला तहका कर्मचारीको हस्तक्षेपका कारणले काम चाँडो हुन नसकेको हो ।

‘कामको अवधि नहेरी फ्याट्ट बोलिदिने चलनले हामीलाई पनि तनावमा पारेको छ त्यहाँमाथि मन्त्रीका अनेक मान्छेका दबाब र महत्वकांक्षाले पनि सताएको छ’, उच्च स्रोतले भन्यो ।निर्देशनालयका अनुसार बिछ्याइएको पाइपमा लिकेज तथा प्रेसर परीक्षणको काम भइराखेको छ । 

निर्देशनालयले पहिलेको योजनाअनुसार उपत्यकामा वितरण सञ्जालको लागि ६ सय ७० किलोमिटर र थोक वितरण प्रणालीअन्तर्गत ७७ किलोमिटर पाइप ओछ्याइसकेको छ । तर लामो समयदेखि आकाशको फल आँखातरी मर भन्ने उखानजस्तो बनेको मेलम्चीमा बिनाको जोरचाहीँ चलेको छैन । सर्वसाधारण भन्छन्,‘यो दशैंमा होइन, अर्को दशैंमा पनि पानी पिउन पाइन्छ की पाइँदैन ।’


Post a Comment

0 Comments