Subscribe Us

कहाँबाट आयो क्षेत्रीको अर्बौं रकम ?

मकवानपुर । भाद्र २४ गते आइतबारबाट अवकाश पाएका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले जाँदाजाँदै अकुत सम्पत्ति जोडेको प्रमाण भेटिएको छ । क्षेत्रीले कमाएको अकुत सम्पत्ति पत्नी रीता बस्नेत क्षेत्री, छोरा अभिषेक र आभुषण तथा स्वयम् उनको नाममा देखिएको हो । 
मकवानपुर नगरपालिका वडा नम्बर–४ हेटौडास्थित क्षेत्रीले करोडौंको जग्गा जमिन जोडेको प्रमाण भेटिएको छ । क्षेत्रीले पत्नी रिता बस्नेतको नाममा विवादास्पद ४ कठ्ठा ७ धुर जग्गा १२ करोड २५ लाख रुपैयाँ खरिद गरेका छन् ।
तर मालपोतमा बढि राजश्व बुझाउनुपर्ने भएपछि करिब ३ करोड रुपैयाँ बराबरको मात्र मुल्याङ्कन गरेर राजश्व तिरेको मालपोत स्रोतले जनायो । क्षेत्रीले पत्नी रिताको नाममा खरिद गरेको उक्त जग्गा इन्धनको कालोबजारी गर्ने विवादास्पद व्यापारी तिर्थ प्रधानको हो । 
कित्ता नम्बर ३५७१ को ७ कठ्ठा जग्गालाई दुई टुक्रा पारेर केही महिना पहिले ४ कठ्ठा ७ धुर उनले खरिद गरेका थिए । जुन जग्गा ओम चलचित्रको नाममा थियो । २०३४ सालमा नगर विकाससँग ओम चलचित्र बनाउन भन्दै लिएको उक्त जग्गा बेचविखन गर्न नपाइने नगरबिकासको नियम विपरित विक्री भएपछि अख्तियार दुरुपयोग अनुसनधान आयोगलेसमेत छानविन थालेको बुझिएको छ । 
उक्त जग्गा प्रधानले नापी, मालपोत, वडाध्यक्ष, मेयर सवैलाई मिलाएर बिक्री गर्न सफल भएका हुन् । त्यसो त हेटौंडा वडा नम्बर–११ मा पनि करोडौंको जग्गा खरिद गरेको भेटिएको छ । जहाँ अहिले क्षेत्रीका छोरा अभिषेकले करोडौंको महल धमाधम बनाइरहेका छन् । 
स्रोत भन्छ, ‘काठमाडौंको सामाखुसी बसोबास गर्दै आएका क्षेत्रीको पुर्खौली सम्पत्ति दुई रोपनी थियो । क्षेत्रीका चार दाजुभाईमध्ये तीन दाजुभाईको जग्गासमेत पूर्वप्रधानसेनापति क्षेत्रीले भर्खरै खरिद गरेका छन् । सो जग्गा अहिले लगभग आनाको ५० दखि ८० लाखसम्ममा खरिदविक्री हुन्छ ।’ 
त्यसैगरी, क्षेत्रीका छोरा अभिषेकले जाराको ब्राण्ड नेपाल भित्राएका छन् । जसमा करोडौं लगानी रहेको छ । अवकाशप्राप्त प्रधानसेनापति क्षेत्री अहिले रातारात नवधनाड्य अर्बपति क्लबमा छिरेका छन् । राजधानीमा मात्र करिब एक दर्जन घर तथा महल किनेको स्रोतको दाबी छ । 
विगतमा क्षेत्रीका चारै दाजुभाईको हैसियत समान रहेकोमा अहिले भने उनको हैसियत एकाएक उकासिएको छ । क्षेत्री पदमै हुँदा उनले गरेको भ्रष्टाचार काण्ड युवा नेता तथा सांसद महेश बस्नेतले छलफलका लागि संसदमा प्रवेश गराएका थिए । 
सांसद बस्नेतले सेनाको नेतृत्व भ्रष्टाचारी भएको भन्दै छानविन हुनुपर्ने माग राखेका थिए । क्षेत्रीले फास्ट ट्रयाकको ठेक्काबाट ४ अर्ब रुपैयाँ भन्दा बढि र सेनाले दिने विभिन्न ठेक्का पट्टाबाट ६ अर्ब बढि कमिसन खाएर अकुत सम्पत्ति जोडेको आरोप छ । 
नेपाली सेनामा हुने चरम भ्रष्टाचारको गन्ध थाहा पाएकै कारण तत्कालिन अख्तियारका प्रमुख लोकमानसिंह कार्कीले सेना र न्यायालयमा समेत छानबिन गर्न अधिकार पाउनुपर्ने प्रस्ताव तत्कालिन सरकार र राष्ट्रपति विद्यादेवी भण्डारीसामु राखेका थिए । 
फेक आगलागी काण्ड
यसैबीच, हेटौंडास्थित ओम्याक्स फिल्म हलको फेक आगलागी काण्डमा इन्स्योरेन्स कम्पनीले भुक्तानी दिन नमानेपछि प्रधान रातारात राजधानी आएर न्यायाधीशहरूसँग मिटिङ बसेको स्रोतले बतायो । 
केही दिनमै उक्त ‘फेक आगलागी काण्ड’ मा करोडौंको माग दावीअनुसार नै इन्योरेन्सले भुक्तानी दिनुपर्ने भन्दै मुद्दा हाल्ने तयारीमा प्रधान जुटेका छन् ।
इन्योरेन्स पोलिसी र विमा ऐनले एक ठाउँमा इन्योरेन्स गरेको बस्तु वा सामानलाई अर्को इन्स्योरेन्स कम्पनीमा विमा गर्न मिल्दैन । उक्त हलको दुईभन्दा बढि ठाउँबाट ईन्योरेन्स गरिएको समेत सार्वजनिक भइसकेको छ । 

Post a Comment

0 Comments