Subscribe Us

सशस्त्रमा ३६ हजारको सरूवा

काठमाडौं ।  सशस्त्र प्रहरी बलमा पछिल्लो डेढ महिनाको अवधिमा ३६ हजार बढी कर्मचारीहरूको सरूवा गरिएको छ । 

साउन १ गतेबाट नयाँ संरचनामा गएको सशस्त्रले भदौ १५ सम्म नयाँ संरचनामा सम्पूर्ण दरबन्दी पठाउने काम सकेको हो ।

परिचरदेखि एआईजीसम्म गरिएको सरूवा तथा समायोजन डिआईजी सुरज श्रेष्ठको कमाण्डमा खटिएको टोलीले गरेको थियो । 

बललाई नयाँ संरचनामा लैजान एक जना आईजी वाहेक सबैको सरूवा भएको छ । छोटो समयमा काम सकिए पनि यसलाई सम्पन्न गर्नु चानचुने नरहेको सशस्त्र प्रहरी बलकै कर्मचारीहरू बताउँछन् । सरूवा अघि डिआईजी श्रेष्ठकै टोलीले सशस्त्र प्रहरी बलका सम्पूर्ण कर्मचारीको तीन पुस्ते संकलन गरेर नयाँ संरचनाको निमार्णदेखि त्यहाँ कार्यरत रहने सशस्त्र प्रहरी कर्मचारीहरूको आवश्यक दरबन्दी निर्धारण गरेको थियो । 

टोलीले करिव पाँच महिना लगाएर सबै काम सकेको हो, अब सशस्त्र प्रहरी बल पूर्ण रूपमा नयाँ संरचनामा गएको छ बल मुख्यालयले भन्यो । उपत्यकासहित सबै प्रदेशमा बाहिनी, ७७ वटै जिल्लामा गण तथा गुल्मको विस्तार गरेको सशस्त्र प्रहरी बलले जिल्लामा एसपीलाई पावरफुल बनाएको छ । जिल्ला मातहतमा खटिने बीओपीहरूमा सरूवा तथा खटनपटनको समेत अधिकार दिएर सशस्त्र एक खुड्कीलो पुरा गरेको छ । यसै अवधिमा गण तथा गुल्महरूको समेत नाम परिवर्तन गरेर अंकका आधारमा नाम दिएको छ ।

Post a Comment

0 Comments