Subscribe Us

शरद गौचनमाथि गाेली हान्ने सुटरहरु पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरद गौचन हत्याका मुख्य सुटरहरुलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले  गौचनमाथि गोली प्रहार गरि फरार भएका तीन अभियुक्तलाई पक्राउ गरेको हो ।

गौचनमाथि २०७४ साल असोज २३ गते सोमबार करिब तीन बजेतिर नयाँ बानेश्वरस्थित ठूलो खरिबोट नजिक गोली प्रहार भएको थियो । गोली हानेर फरार भएका सुटरहरु अम्बरबहादुर राना मगर, लोप्साङ राई र रोशन बुढाथोकीलाई आज महनगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो ।

मनोज पुन र समिरमानसिंह बस्नेतको मूख्य योजनामा गौचनमाथि गोली प्रहार गरेर फरार भएका उनीहरुलाई प्रहरीले एक वर्षपछि आज पक्राउ गर्न सफल भएको हो । पुन प्रहरी इन्काउन्टरमा मारिए भने बस्नेत सोही काण्डमा जेल जीवन विताइरहेका छन् । बस्नेत र पुनकै सल्लाह बमोजिम उनीहरुले काम गर्दै आएका थिए । पुनको प्रहरी इन्काउन्टरमा मृत्यु भएपछि उनीहरु जेलभित्र रहेका बस्नेतसँग सँठगाँठ गरी अर्को हाई प्रोफाइल हत्या गर्ने योजना बनाएको प्रहरीसमक्ष सूचना पुगेको स्रोतको दावी छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

अम्मरबहादुर राना तिनै व्यक्ति हुन् जसले बस्नेत र पुनकै सल्लाहमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेका थिए भने काभ्रेली गुण्डा नाइके दावा लामामाथि पनि गोली प्रहार गरेका थिए । उनी नेपाली सेनाका भगौडा समेत हुन् ।

Post a Comment

0 Comments