Subscribe Us

अन्डरवल्ड डन बन्ने सपना यसरी तुहियो,
सुटरको पक्राउ सँगै नयाँ खुलासा

काठमाडौं । सिंगो सुरक्षा व्यवस्थालाई नै चुनौती दिने गरी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गर्ने डन समिरमान बस्नेतको समूहले प्रहरीमाथि नै आक्रमण गर्ने योजना बनाएको खुलेको छ । गत सोमबार प्रहरीले सार्वजनिक गरेका बस्नेतका सुटरहरु अम्बरबहादुर राना, रोशन बुढाथोकी र लोप्साङ भनिने सोम तामाङले प्रहरी अनुसन्धानका क्रममा हाल भिमफेदी कारागारमा रहेका साजन गुरुङ र कारजोन गुरुङसँग भारतमा रहँदा समिरमानले नै चिनजान गराएको खुलासा गरेका हुन् ।

प्रहरीका अनुसार हत्या र असुलीका मास्टर माइन्ड बस्नेतले साजन र कारजोनको छुट्टै समूह बनाएका थिए भने राना, तामाङ र बुढाथोकीलाई अर्को समूहमा राखेर अपराधको साम्राज्य खडा गरेका थिए । त्यस्तै, रमेश बाहुन समूहमा रहेका बोका भन्ने गंगा लिङ्देन र अजय थापालाई पनि बस्नेतले छुट्टै प्रयोग गर्दै आइरहेका थिए ।

महानगरीय अपराध महाशाखामा प्रहरीले सार्वजनिक गर्नु अघि नेपाली सेनाका भगौडा रहेका सुटर रानाले गुण्डा नाइके मिलन चक्रे र काजी शेर्पामाथि आक्रमणको योजना भने समिरमानको निर्देशनमा लिङ्देनले बनाएको बताएका थिए । रानाका अनुसार कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरी इन्काउन्टरमा मारिएपछि बस्नेतले इन्काउन्टर गर्ने प्रहरीमाथि नै आक्रमण नगरे आफूहरु बाँच्न नसक्ने भन्दै साजन र कारजोनमार्फत प्रहरीमाथि नै आक्रमणको योजना बनाएका थिए ।

२०७२ भदौ ३ गते घैंटे मारिए लगत्तै बस्नेत भारत पुगेर लुकीछिपी बसेका थिए । त्यसपछि उनले घैंटेलाई इन्काउन्टर गर्ने महाशाखाको टोलीलाई नै आक्रमण गर्न साजन र कारजोनसहित केही भारतीयलाई खटाएका थिए । तर, महाशाखाले मुख्य योजनाकार साजन गुरुङ र उनका सहयोगी कारजोन गुरुङलाई पक्राउ गरेपछि बस्नेतको योजना तुहिएको थियो । प्रहरीमाथि आक्रमण गर्ने योजना उनीहरुले बनाएको टेलिफोन रेकर्ड तथा एसएमएसहरु प्रहरीले फेला पारेको थियो ।

बस्नेत समूहले भारतीयलाई केही दिन कीर्तिपुरमा ल्याएर राखेको सूचना चुहिएपछि उनीहरु भागेका थिए । त्यसका लागि १० लाख रुपैँयाको डिल भएकोसमेत अनुसन्धानमा खुलेको थियो ।

प्रहरीलाई समेत आक्रमण गर्ने योजना बनाउने बस्नेतको गिरोहले मनोज पुनको नाम भजाएर आफूलाई सुरक्षित राख्न खोजेको पनि थियो । तर, अनुसन्धानका क्रममा मनोज पुन र बस्नेत मिलेर हत्या योजना र फिरौती असुलीमा सँगै संलग्न रहेको खुलिसकेको छ । केन्द्रिय अनुसन्धान ब्यूरो ९सिआईबी० मा हालका एआईजी पुष्कर कार्की प्रमुख छँदा फिल्मी शैलीमा बस्नेतलाई मात्र भारतबाट नेपाल ल्याई सार्वजनिक गरेका थिए । बस्नेतलाई सार्वजनिक गरेर कार्कीले चर्चा कमाए पनि बस्नेतका आपराधिक क्रियाकलापको भने उनले अनुसन्धान नै गरेनन् । जसको परिणाम अहिले देखा परेको एक प्रहरी अधिकारी दावी गर्छन् ।

गौचन र दुर्गा तिवारीको हत्या तथा दावा लामामाथिको गोली काण्डपछि बस्नेतले काठमाडौंमा ठूलो घटना गराउन खोजेको गोप्य सूचना पाएपछि गृह मन्त्रालयको सिफारिसमा कारागार विभागले बस्नेतलाई मुस्ताङ कारागार चलान गरेको थियो । प्रहरीले बस्नेत र सुटरहरुबीचको सम्पर्क टुटाएपछि मात्र उनीहरु पक्राउ परेका हुन् ।

मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएपछि बस्नेतले गरेका अपराधका कर्महरुलाई पुनमाथि थोपरेर कार्की नेतृत्वको सिआईबीले बस्नेतमाथि गहिरो अनुसन्धान नगरी लामो समय सिआईवीमा राखेको थियो । बस्नेतलाई गौचन हत्याको अनुसन्धानका लागि तत्कालिन डिआईजी गणेश केसी नेतृत्वको उच्चस्तरिय समितिलाई नबुझाएको भन्दै विवाद भएपछि मात्र समितिमा बुझाएका थिए । बस्नेत पक्राउ पछि उनीसँग बरामद् विद्युतिय उपकरणहरु मोवाईल, ल्यापटप र फोन रेकर्डहरु समेत रहस्यमय रुपमा प्रहरीले लुकाएको थियो ।

बस्नेत र पुन नेपालबाट पलायन भई गोवामा खानेपानीको प्लान्ट राख्नका लागि नेपालबाटै करोडौं रकम उठाएको अनुसन्धानका क्रममा फेला परेपनि प्रहरीले भने उक्त विवरण लुकाएको थियो । भारतमा रहँदा पुन र बस्नेतले योजनावद्ध रुपमा विभिन्न समूहहरु बनाई नेपाली व्यवसायीहरुबाट रकम असुल्दै आएका थिए । गौचन हत्या र गुण्डा नाइके दावा लामा माथिको गोली काण्डको जिम्मा लिने लोप्साङले प्रहरी र विभिन्न व्यक्तिलाई इन्टरनेट कलमार्फत फोन गरेका थिए ।

गौचनको हत्या लगत्तै बस्नेत समूहले काठमाडौं, बुटवल, पोखरा र चितवनका दर्जनौं व्यवसायीहरुलाई इन्टरनेट कल मार्फत फोन गर्दै पैसा मागिएपछि देशभरका व्यवसायीहरु आतंकित बनेका थिए।

Post a Comment

0 Comments