Subscribe Us

विश्वको ३५ औंँ कला नगरीका रुपमा ललितपुर


काठमाडौँ, २९ कात्तिक । विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई विश्वको ३५ औंँ कला नगरीका रुपमा घोषणा गरेको छ ।

विश्व कला परिषद्का एशिया प्रशान्त क्षेत्रका अध्यक्ष डा घादा हिज्जाबी कदामीले  महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई ‘कला नगरी’ को प्रमाणपत्र दिनुभयो । परिषद्ले विश्वका मौलिक र परम्परागत कला भएका शहरलाई कला नगरी घोषणा गर्दै आएको छ ।

परिषद् विश्वभरमा छरिएका रहेका कलामा संलग्नहरुको प्रवद्र्धनमा स्थापित संस्था हो । संयुक्त अधिराज्यमा केन्द्रीय कार्यालय रहेको यो परिषद्ले विभिन्न चरणमा अध्ययन गरेर शहरहरुलाई यस्तो घोषणा गर्दै आएको छ । यसअघि विश्वका ३४ मुलुक कला नगरी घोषणा भएका थिए ।

नेपालमा भने ललितपुर महानगरपालिका नै पहिलो नगर भएको छ । तेस्रो शताब्दीमा मौर्य सम्राट् अशोकले बनाउन लगाएका सत्य, त्रेता, द्वापर र कलियुग झल्कने चार स्तूप पाटनमा छन् । त्यसैगरी पाँचाँै शताब्दीमा बनेको हिरण्यवर्ण महाविहार पुरातात्विक महत्वको सम्पदा हो । यसलाई १२ औँ शताब्दीमा भाष्करदेवले जीर्णोद्धार गरेको इतिहास पाइन्छ । रातो मत्छेन्द्रनाथको जात्रा परम्परा नरेन्द्रदेवले शुरु गरेकामा अहिलेसम्म पनि निरन्तर चलिरहेको छ ।

सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल र योगनरेन्द्र मल्लका पालामा पाटन दरबार १६ र १७ औँ शताब्दीमा निर्माण भएको हो । ललितपुर–२० स्थित पेमबहाल पोखरी १२ औँ शताब्दीको उपलब्धि हो ।

उक्त पोखरी राजारजौटाले नभएर राक्षसले निर्माण गरेको विश्वास गरिएको छ । स्थानीय सुन्धारा र कृष्ण मन्दिर प्राचीन कला तथा कौशलबाट निर्माण गरिएको अर्को महत्वपूर्ण सम्पदास्थल हो । तीन सय वर्षदेखि चलेको खड्गजात्रा २४ वर्षदेखि रोकिएकामा यसै वर्ष असोजमा पुनः सञ्चालन भएको छ ।

परिषद्मा महानगरले केही समय पहिले कला नगरीमा पार्नका लागि आवेदन दिएको थियो । परिषद्का पदाधिकारीले महानगरपालिकाका विभिन्न स्थानमा घुमेर यहाँको मौलिकताका बारेमा अध्ययन गरेको परिषद्ले जनाएको छ ।

प्राविधिकले यहाँ अध्ययन गर्दा उपयुक्त छ÷छैन भन्ने विभिन्न चरणमा अध्ययन गरेको थियो । उनीहरुले उपयुक्त रहेको प्रतिवेदन दिएपछि नै प्रक्रिया अघि बढेको हो ।

करीब चार लाख जनसङ्ख्या रहेको महानगरपालिकामा ८० प्रतिशत हस्तकलामा संलग्न रहेको प्रमुख महर्जनले बताउनुभयो । ललितपुरको दरबार क्षेत्र मात्र विश्वसम्पदा सूचीमा सूचीकृत रहेकामा अब अन्य प्राचीन महत्वका सम्पदा तथा पुरातात्विकस्थललाई पनि विश्वसम्पदामा अङ्कित गर्न वातावरण मिलेको महानगरले जनाएको छ ।

आगामी दिनमा अरु खालका कार्यक्रममार्फत कलाको विकासमा लाग्ने उपप्रमुख गीता सत्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा यहाँका उत्पादन देश र विदेशसम्म प्रवद्र्धनका लागि यो घोषणाले सहयोग पुग्ने छ ।”

महानगरपालिकाले कला नगरी घोषणा भएपछि यसलाई कायम राख्नका लागि विभिन्न काम गर्दै जाने योजना बनाएको छ । महानगरले कलाको विकासका लागि शाखाहरु बनाउने तयारी गरेको छ । यहाँबाट उत्पादित सामग्रीलाई प्रतीकचिह्नसहित छाप लगाउने तयारी भएको छ । गुणस्तरीय सामग्रीका रुपमा यहाँबाट उत्पादित सामग्रीले मान्यता पाउनेछ । महानगरले स्थानीय हस्तकलालाई अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धनका लागि विश्वका सरोकार पक्षसँग समेत सहकार्य बढाउने भएको छ ।

यहाँको हस्तकलामा पाइएको मौलिकताले गर्दा शहर कला नगरी घोषणा गरिएको परिषद्का एशिया प्रशान्त अध्यक्ष कदामीले बताउनुभयो । यहाँको कला विशिष्ट रहेको उहाँको जिकिर छ । उहाँले भन्नुभयो, “यो थप विकास र विस्तारका लागि आजको घोषणाले सहयोग पुग्नेछ ।”

महानगरका धेरै स्थानमा विभिन्न खालका हस्तकलाका मुख्य क्षेत्र छन् । काष्ठकला, मूर्तिकला, थान्कालगायत कलामा स्थानीयवासी पुस्तौंँदेखि लाग्दै आएका छन् । पाटनमा टोलैपिच्छे फरक फरक खालका हस्तकला पाइन्छ । मौलिकतामा कति पनि परिवर्तन आउन नदिई पाटनवासीले हस्तकला बचाउँदै आएका छन् ।

पाटनवासीले लामो समयदेखि सरकारलाई ‘हस्तकलाको जिल्ला’ घोषणाको मागसमेत गर्दै आएका थिए । पाटनको हस्तकलामा पाइएको मौलिकताले गर्दा शहर कला नगरी घोषणा गरिएको परिषद्ले जनाएको छ । 

Post a Comment

0 Comments