Subscribe Us

कालीञ्चोकमा केबलकार सुरु, नेपालकै तेस्रो केबुलकार


जिरी १८ कात्तिक । दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा शनिबारदेखि व्यावसायिक रुपमा केवलकार सञ्चालन भएको  छ । केबुलकार सञ्चालन भएसँगै नेपालभरीकै तेस्रो केबुलकार बनेको छ । कालिञ्चोक अगाडि चितवनको इच्छाकामनादेखि गोरखाको मनकामनासम्म र काठमाडौँको चन्द्रागिरीमा सञ्चालन भएको थियो ।

दशैंअघि परीक्षण गरिएको केबुलकार शनिबारदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ ।

कालीञ्चोक केबलकारको चारवटा कार रहेकोमा एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ । त्यसमध्ये हाल एउटा कार सञ्चालनमा ल्याइएको कालीञ्चोक केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिए ।

कालीञ्चोक दर्शन लिमिटेडले साँढे दुई वर्षअघि निर्माण सुरु गरेको कालीञ्चोक केबुलकार करीब ४५ करोडको लागतमा सम्पन्न भएकोे हो ।
केबलकारमा यात्रा गर्न आउने यात्रुलाई प्रतिव्यक्ति पाँच सय शुल्क लिएर सेवा प्रदान गरिएको अधिकृत शिवाकोटीले बताए ।

सर्वसाधारणलाई पाँच सय शुल्क लाग्नेमा कालीञ्चोक क्षेत्रका मानिसलाई भने केही सहुलियत हुने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ ।

स्वीस प्रविधिबाट निर्माण भएको केबुलकार देशका अन्य स्थान मनकामना र चन्द्रागिरीको भन्दा फरक प्रविधिको रहेको छ ।
केबुलकार सञ्चालनमा आएपछि दोलखाको पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

Post a Comment

0 Comments