Subscribe Us

को–को हुन् राधाकृष्णको सम्पत्ती हडप्ने ‘पापी’हरू ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादारसँग नजिक रहेको बताउने दलालहरूको एउटा समूहले मिलोमतोमा सुनसरीको दुहवी नगरपालिका–८ सोनापुरमा रहेको राधाकृष्ण मन्दीरको १४ कट्ठा १ धुर जमिन हडपेर प्लटिङ गरी बेचेको छ ।

सुनसरी–मोरङ औधोगिक करिडोरमा रहेको उक्त जमिन बेच्नका लागि त्यहाँ रहेको अरिहन्त ग्रुपका उपाध्यक्ष गोविन्द बजगाँईको समूहले मन्दीर व्यवस्थापन समितिलाई दबाब र प्रभावमा पारेको थियो । समितिमा अरिहन्त मल्टी फाइबर्सलगायतका विभिन्न कम्पनीमा काम गर्ने स्थानीय मजदुर रहेका कारण बजगाँईले दबाब दिएका थिए । 

बजगाँईले कानुनी झन्झट मिलाउनका लागि प्रचण्डका नजिक भनिने मोरङ हात्तिमुडाका वाइसीएल केन्द्रीय सदस्य इश्वरी आचार्य, सुनसरीका नेपाल तरूण दलमा आवद्ध ओम थापाको प्रयोग गरेका थिए । उक्त जग्गा बलजफ्ती कानुनविपरित पास गराई बिक्रि गरेको भन्दै सुनसरी क्षेत्र नम्बर ३ ‘क’का प्रदेश सांसद निलम बस्नेतले विरोध गरेका थिए । 

उनलाई पनि पूर्वएमालेमा रहेकी सोही क्षेत्रकी सांसद भगवती चौधरीलगायतको सिफारिसमा चुप लगाउने काम गरेको स्थानीय बताउँछन् । मालपोत कार्यालय सुनसरीमा कम मुल्यांकन देखाउनका लागि तत्कालिन माओवादीका कर्मचारी युनियनका गोविन्द पौडेललाई प्रयोग गरिएको थियो । जो यहि विवादमा अहिले पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा तारेख धाइरहेका छन् । 

बजगाँई उद्योग सञ्चालक समितिका उपाध्यक्ष भएकाले उनले मजदुरका नेतालाई पनि आफ्नो बदनियतमा सामेल गराएको आरोप सर्वसाधारणको छ । जग्गाको स्थानीय तहको सिफारिस निकाल्नका लागि दुहवी नगरपालिकाका मेयर र सो क्षेत्रका वडाध्यक्षहरूलाई बजगाँईले आर्थिक लाभ दिएको स्रोतले बतायो । 

साबिकको सोनापुर गाविस–२ मा पर्ने कित्ता नम्बर २ (क) १३ मा पर्ने मन्दीरको नाममा रहेको १४ कट्ठा १ धुर जग्गा मालपोत कार्यालय सुनसरी, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र मन्दीर व्यवस्थापन समितिमा किर्ते निर्णय गराएर सो समूहले किनेको थियो । सुरूमा बजगाँईका नाममा पास गरिएपछि तिव्र विवाद भयो । विवादपछि बजगाँईले मन्दीर व्यवस्थापन समितिका उपाध्यक्ष उज्याला मानन्धरको नाममा जग्गा रजिष्ट्रेशन पास गराएका थिए । 

उक्त जग्गा बजगाईका नाममा २ चैत २०७४ मा पास गरिएको थियो । जग्गाको मुल्य सरकारी मुल्यांकनअनुसार प्रति कट्ठा ८ लाख रूपैंया भए पनि ७ लाख रूपैंया कायम गरिएको थियो । उक्त जग्गाको १४ लाख ५ हजार थैली रकम कायम गरी बजगाँईका नाममा पास भएको चार महिना पनि नबिति १९ असार २०७५ मा मन्दीर व्यवस्थापन समितिका उपाध्यक्ष मानन्धरका नाममा रजिष्ट्रेशन पास गराइएको थियो ।

कम मुल्य देखाएर मालपोत कार्यालयमा मालपोत पनि कम मात्र बुझाइएको छ । मोही देखाईको जग्गामा ७ कट्ठामात्र मन्दीर व्यवस्थापन समितिले बिक्रि गर्न पाउने प्राबधान रहन्छ । तर दलालहरूको यो समूहले १४ कट्ठा नै हातमा लियो । त्यसका लागि मोही भनिने मन्दीर व्यवस्थापन समितिका सचिव रामप्रसाद राईलाई पनि प्रलोभन र दबाबमा राखेको बताइन्छ । 

राज्यलाई हानी नोक्सानी पुराउनका लागि कमिशन लिएर दुहवी–८ का वडाध्यक्ष तारिक चन्द सरदारले नगरपालिकाको सिफारिस निकालेका थिए । स्थानीय सरकारका प्राधिकार पाएका सरदारले व्यक्तिगत मुनाफाका लागि मन्दीरको जमिन घोटालामा साथ दिएको भन्दै कारबाहीका लागि खरिदकर्ता, व्यवस्थापन समितिका उपाध्यक्ष मानन्धरसहित बजगाँईलाई कारबाहीका लागि ९ साउन २०७५ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरी क्षेत्रीय कार्यालयमा उजुरी समेत परेको थियो ।
जग्गाको मुल्यांकन कम गरेको विषयमा अख्तियारले सम्बन्धित व्यक्तिलाई बयान समेत लिएको थियो । कम राजश्व दाखिला गराउने मालपोत कार्यालय सुनसरीका नायव सुव्वा पौडेल अहिले बयान दिने क्रममा छन् । मन्दीरको जग्गा अनैतिक लाभ लिनका लागि बिक्रि गर्न लागिएको उजुरीका आधारमा प्रदेश १ को आन्तरिक मामिला मन्त्रालयले रोक्नका लागि मालपोत कार्यालयलाई पत्राचार समेत गरेको थियो । 

मन्त्रालयको चलानी नम्बर १६५ नम्बरको पत्र जिल्ला प्रशासन कार्यालय सुनसरीलाई ८ चैत २०७४ मा पठाइएको थियो । मन्त्रालयको आदेशअनुसार प्रशासनले रोक्नका लागि मालपोत कार्यालयलाई पत्राचार गरेको थियो । 

मालपोत कार्यालयले जिल्ला प्रशासन कार्यालयको पत्रका आधारमा उक्त जग्गा बिक्रि गर्न नसकिने जानकारी मन्दीर व्यवस्थापन समितिलाई पत्र लेखेपछि दलालहरूको समूहले व्यवस्थापन समितिका पदाधिकारीलाई नै प्रलोभनमा पारी उच्च अदालत बिराटनगरसम्म पुराइएको थियो । 

४ वैशाख २०७५ मा व्यवस्थापन समितिको बैठक डाकी जग्गाका विषयमा मात्रै विशेष निर्णय गर्दै रोक्नुपरेको कारणविरूद्ध उच्च अदालत बिराटनगरमा रिट दायर गर्ने निर्णय माइन्युटमा छ । उक्त माइन्युटमा मन्दीरको धर्मशाला बनाउनका लागि जग्गा बिक्रिवितरण गर्न आवश्यक रहेको उल्लेख गरिएको छ । अदालतले २९ जेठ २०७५ मा जारी गरेको चलानी १२१५७ को आदेशमा कानुनअनुसार पास गर्नका लागि मालपोत कार्यालयलाई उत्प्रेषणसहितको परमादेश नै जारी गरेको थियो । 

व्यक्तिलाई बेच्न छाडिएन
मन्दीरको जग्गा विवादमा तानिँदा पनि प्लटिङ गरी बेचिएको छ । कोशी राजमार्गसँग जोडिने जग्गालाई सस्तो मुल्यमा किनेर महँगो मुल्यमा टुक्रा पारेर बेचिएको छ । अख्तियारले विवादका विषयमा अहिले पनि मालपोतका कर्मचारी र जग्गाको पूरा जानकारी माग गरेको छ । तर, अख्तियारका प्रभावशाली व्यक्तिलाई राजनीतिक दबाब दिएरै उक्त विषयमा रोक्ने षडयन्त्र भएको बताइन्छ ।

मन्दीरका नाममा कसैले दान दिएको जग्गा व्यक्तिका नाममा तानी, त्यसमा मोहीयानी हकको समेत विवाद खडा गरेर दलाल समूहले पाप गरेको एकजना स्थानीय बासिन्दाले बताए । ‘मन्दीरमा पनि भ्रष्टाचार र दलाली भित्राए यी पापीहरूलाई कारबाही गर्ने सरकार खोई ?’

यो सबै प्रकरणका डिजाइनर बजगाँईको जग्गमा कारोबारमा आफ्नो सहभागीता नरहेको वाइसीएल केन्द्रीय सदस्य आचार्यले दाबी गरे । उनले बजगाँईका अन्य क्षेत्रका काममा आफु सहभागी भए पनि जग्गा प्रकरणमा संलग्न नरहेको बताए ।

Post a Comment

0 Comments