Subscribe Us

नेविसङ्घको म्याद दुई महीना थपियो


काठमाडौँ, ३ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विधान स्वीकृत गरेसँगै सङ्घको केन्द्रीय कार्यसमितिको समयावधि दुई महीना थप भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले सङ्घको विधानलाई परिमार्जनसहित स्वीकृत गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई जानकारी दिनुभयो ।

नेविसङ्घको विधानअनुसार वर्तमान केन्द्रीय समितिको कार्यकाल आजसम्म थियो । विसं २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित वर्तमान केन्द्रीय समितिले त्यसयता थप गरिएको तीन महीनाको अवधिमा समेत महाधिवेशन गर्न सकेको थिएन ।

नेविसङ्घको विधानमा दुईवर्षे कार्यकाल र विशेष परिस्थितिमा तीन महीना थप गर्न सकिने व्यवस्था थियो । काङ्ग्रेस बैठकले तीन महीना थप गर्न सकिने प्रावधानको सट्टा पाँच महीना थप गर्न सकिने प्रावधानसहितको विधानलाई स्वीकृत गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

विधान स्वीकृतसँगै स्वतःविघटनको सङ्घारमा पुगेको नेविसङ्घको कार्यसमितिलाई महाधिवेशन गर्न दुई महीना समयावधि प्राप्त भएको छ । विसं २०२७ मा गठन भएको नेविसङ्घ काङ्ग्रेसको प्रभावशाली भ्रातृ संस्था हो । 

Post a Comment

0 Comments