Subscribe Us

त्रिशूली थ्री बी सवस्टशेनको शिलान्याश : छ सय मेगावाट विद्युत् जोडिने


काठमाडौँ, ६ मङ्सिर । रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन करीब ६०० मेगावाट क्षमताका जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्यका साथ त्रिशूली थ्री बी सवस्टशेनको शिलान्याश गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले युरोपेली लगानी बैंकका उपाध्यक्ष एन्ड्रु म्याकड्वेल, युरोपेली प्रतिनिधिमण्डलका राजदूत भिरोनिका कोडी, नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत रोलान्ड सेफरलगायतको उपस्थितिमा बुधबार नुवाकोटको किस्पाङ गाउँपालिका– ५ मा सवस्टेशनको शिलान्याश गर्नुभयो । सो सवस्टशेनको लागत ६५ दशमलव २५ मिलियन युरो रहेको छ ।

सवस्टशेनमा माथिल्लो त्रिशूली थ्री ए ६० मेगावाट, ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी, १११ मेगावाट क्षमतामा रसुवागढी, २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली एक, १२० मेगावाट क्षमताको रसुवा भोटेकोशी, ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन र १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेनलगायतका निर्माणाधीन र निर्माणमा जाने क्रममा रहेका करीब एक दर्जन आयोजनाको विद्युत् जोडिनेछ ।

निर्माणका क्रममा सुपर साञ्जेन, माथिल्लो मैलुङ र माथिल्लो त्रिशूली थ्री बीसँगै निजी क्षेत्रको अर्को आयोजनासमेत निर्माणमा जाने तयारीमा रहेको छ । त्रिशूली र त्यसका सहायक नदीमा निर्माण हुने अधिकांश आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जडानका लागि महत्वपूर्ण मानिएको सवस्टेशनको शिलान्याससँगै निर्माणाधीन आयोजनाको काममा समेत गति पैदा हुने विश्वास बढेर गएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार सो सवस्टेशन त्रिशूली करिडोरका लागि रणनीतिक महत्वको छ । रसुवा तथा नुवाकोटमा पछिल्लो समय सरकारी स्वामित्वका तथा निजी क्षेत्रका दर्जन बढी आयोजना निर्माणका विभिन्न चरणमा छन् ।

ती आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीमा ल्याउन र स्थानीयस्तरमा वितरणका लागिसमेत सवस्टेशन महत्वपूर्ण छ । नेपाल र चीनबीच निर्माण हुन लागेको ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन्समेत सोही क्षेत्र भएर जानेछ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार सवस्टशेनमा ३२० केभिए क्षमतामा ६ वटा ट्रान्सफर्मर जडान गरिनेछ । यस्तै स्थानीयवासीलाई सहजरुपमा विद्युत् उपलब्ध गराउन थप एक ट्रान्सफर्मरसमेत जडान गरिनेछ । प्राधिकरणले निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री ए आयोजना आगामी छ महीनाभित्रै निर्माण सम्पन्न हुने चरणमा छ ।

यस्तै ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बीलेसमेत निर्माण शुरु गरिसकेको छ । सोही सवस्टेशनबाट नुवाकोटका केही गाउँमा समेत स्थानीयवासीलाई विद्युत् सुविधा उपलब्ध गराइनेछ । प्राधिकरणका अनुसार चिलिमे–त्रिशूली र समुन्द्रटार–त्रिशूली प्रसारण लाइनबाट आउने विद्युत्समेत सोही सवस्टशेनमा जोडिनेछ ।

विद्युत् प्राधिकरणको ३५ प्रतिशत लगानीसहित ती तीन योजनामा युरोपियन इन्भेष्टमेन्ट बैंकको सहुलियत ऋण सहयोग र युरोपियन युनियन र जर्मन सरकारको अनुदान सहयोग रहेको छ । यी परियोजना निर्माणमा ६५।२५ मिलियन युरो लगानी लाग्ने प्रारम्भिक अनुमान गरिएको निर्माणाधीन २२० केभी चिलिमे–त्रिशूली प्रसारण प्रणाली आयोजना प्रमुख थर्कबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार चिलिमे हब र थ्री बी हब निर्माणका लागि समान १३ मिलियन युरो र चिलिमे–त्रिशूली प्रसारण लाइनका लागि ११ मिलियन युरो लाग्ने देखिएको छ । यी योजना विसं २०७६ जेठ ३० मा सम्पन्न हुने लक्ष्य राखिएको छ । यी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनीलाई दिइएको छ ।

प्राधिकरणले त्रिशूली–काठमाडौँ २२० डलब सर्किट प्रसारण लाइन निर्माणको काम माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनामार्फत अन्तिम चरणमा पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले मुलुकको आर्थिक समृद्धिसँग जोडिएका ऊर्जा क्षेत्रमा युरोपेली लगानी बैंकलगायतका साझेदारको सहयोग अनुकरणीय रहेको बताउनुभयो ।

सरकारले ऊर्जा क्षेत्रको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यका साथ काम गरिरहेको भन्दै उहाँले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको र त्यसमा स्वदेशी तथा विदेशी सहयोग जरुरी रहेको उल्लेख गर्नुभयो ।

मन्त्री पुनले चालू आर्थिक वर्षभित्रै सवस्टशेनको निर्माण सम्पन्न गरी उदाहरणीय काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । फरक एक प्रसङ्गमा मन्त्री पुनले विकास र समृद्धि अब सबै राजनीतिक दल र नेपालीको एकमात्र ‘मिसन’ भएकाले विकास र समृद्धिको ढोका खुलेको बताउनुभयो ।

“सरकारले सुशासन, विकास र समृद्धिलाई आफ्नो मूल एजेन्डा बनाएको छ”, मन्त्री पुनले भन्नुभयो, “प्रधानमन्त्रीले हरेक महीना काम र नतिजाका आधारमा अनुगमनको पद्धति शुरु गर्नुभएको छ, यहाँ कागजमा होइन, अब स्थलमा कामको शुरुआत भएको छ ।” 

Post a Comment

0 Comments