Subscribe Us

प्रशासनिक ‘कू’ मच्चाउँदै प्रधानसेनापति थापा


काठमाडौँ, १२ मंसीर । ‘चेन अफ कमान्ड’को भरपर्दो संगठन रहेको नेपाली सेनाभित्र प्रशासनिक ‘कू’को बाटो समातेर प्रधानसेनापति पूर्णचन्द्र थापाले नैतिक भ्रष्टाचार सुरू गरेका छन् ।
गत २४ भदौमा प्रधानसेनापति बनेका उनले आफुइतर जस्तो देखिने जर्नेल, कर्णेल र सैनिक अधिकारीलाई पेल्ने नियत राखेका छन् । जसविरुद्ध रक्षा मन्त्रालयमात्र होइन, सर्वोच्च अदालतसम्म थापाविरुद्ध उजुरी पुगिसकेका थिए ।
कम्युनिस्ट सरकारलाई प्रभावमा राख्नका लागि सेनाको चेन अफ कमान्डलाई भत्काउँदै बढुवामा कुनियत राख्नुका साथै रिक्त रहेका विशेष पदमा समेत कुनै नियुक्तिको सिफारिस उनले गरेका छैनन् । २ जना जर्नेललाई पाखा लगाउनका लागि उनले नक्कली प्रमाणपत्र छानबिनका बाहनालाई अघि सारेको बताइन्छ ।

नेपाली सेनाको इतिहासमा नै त्यसको गरिमा लत्याउँदै पत्रकार सम्मेलन समेत आफैं गर्न थालेका थापाले सैनिक जनसम्पर्क निर्देशनालयलाई ‘अपाङ्ग’ बनाउने कोशिश गरेका छन् । ‘यो प्रशासनिक कूको तयारी हो । देशका बारेमा चिन्तित हुनुको साटो सैन्य संगठनभित्र आफू अनुकुलतामा हुनसक्ने भ्रष्टाचारलाई उन्नत गराउनका लागि प्रधानसेनापति उद्दत छन्’, सैनिक उच्च स्रोतले भन्यो,‘रोलक्रममा आउने पदमा आउन नदिने र बाटो छेक्ने काममा उनी सक्रिय देखिए ।’
सेनाभित्र सरकारले दिएको बार्षिक बजेटका साथै सैनिक कल्याणकारी कोषको भ्रष्टाचारको विषय बेलामौका कुरा उठ्ने गरेको छ । कोषको रकम दुरूपयोग गर्नका लागि आफु अनुकुलताका अधिकारीलाई जिम्मेबारी नदिए प्रधानसेनापतिको केही सीप चल्दैन ।

त्यसबाहेक लामो समयसम्म सेनामा रजगज गर्नका लागि आफु अनुकुलताको सैनिक प्रमुख बनाउन गलत बाटो समात्ने चलन केहीले बसाएका थिए । सो चलनलाई थापाले पनि अँगाल्न लागेका हुन् । जसविरुद्ध रक्षा मन्त्रालय, प्रधानमन्त्रीको कार्यालयमा पनि कुरा पुगिसकेको छ ।

उनले पछिल्लो पटक नियमित बढुवामा रोक लगाएर आफू सेनाको रोलक्रमको हितविपरित रहेको प्रमाणित पनि गरेका छन् । रथी बढुवामा थापाले जालसाजी गरेको उजुरी रक्षा मन्त्रालयमा पुगेको छ । त्यतिमात्र होइन, उपरथी बढुवामा पनि थापाको जालसाजीको उजुरी सर्वोच्च अदालतमा दर्ता छ । जुन विचाराधिन अवस्थामा छ ।

खाली रहेको बलाध्यक्ष रथी पदमा बढुवा हुनुपर्ने उपरथी अनुज बस्न्यातलाई रोक्नका लागि थापा कम्मर कसेर लागि परेका छन् । बस्न्यातले रक्षा मन्त्रालयमा लिखित र रक्षा मन्त्री इश्वर पोखरेललाई मौखि उजुरी गरेका थिए । त्यसअघि नै थापाको रणनीतिक र प्रशासनिक भ्रष्टाचारका विषयमा सैन्य अधिकारीहरूले आन्तरिक रूपमा विरोध गर्दै आएका थिए । स्रोतले भन्यो,‘सेनाको नियमित परम्परा तोड्नेमात्र होइन, काविल सैन्य अधिकारीलाई कमजोर बनाउने र नियमित प्रक्रियामा ब्रेक लगाउने काममा थापा सक्रिय छन् ।’

उनी अघिका प्रधानसेनापति राजेन्द्र क्षत्री पनि विवादका बीच अवकाशमा परेका थिए । क्षत्रीले करोडौंको जग्गा व्यापारमा सेनाको रकम दुरूपयोग गरेका थिए । सोही बाटोमा थापा सक्रिय रहेको स्रोतहरूको दाबी छ । उपरथी बस्न्यताको बढुवा रोकिए अबको दुई सातापछि उनी अनिवार्य अवकाशमा जानुपर्ने हुन्छ । थापाका कारण बस्न्यातको सैन्य जीवनको महत्वपूर्ण जिम्मेवारी पाउने अवसरमात्र होइन, नेपाली सेनामा निरन्तर जारी रहेको प्रक्रियामा नै ब्रेक लाग्नसक्ने खतरा देखिएको छ ।
थापा प्रधानसेनापति भएका दिनदेखि नै बलाध्यक्ष रथी खाली थियो । नियमअनुसार उक्त पद खाली हुनु राम्रो होइन ।

उपप्रधान तथा रक्षामन्त्री पोखरेलले पनि उक्त पद लामो समय खाली राख्नु गलत हुने प्रतिक्रिया दिएका थिए । उनले बढुवाका लागि रीतअनुसार अगाडी बढ्न प्रधानसेनापति थापालाई भनेको रक्षा स्रोतले जनायो ।

उपरथी बढुवाका क्रममा सहायकरथी नैनराज दाहालको भविष्य नै ओझेलमा पारेका थापा विवादमुक्त छैनन् । बहालबाला समयमा नै सर्वोच्चमा उनीविरुद्ध मुद्दा दर्ता भइसकेको छ । दाहाल सर्वोच्च अदालतको फैसलाको पर्खाइमा छन् तर उनले अनिवार्य अवकाश पाउनुअघि नै राजीनामा दिइसकेका छन् ।

यता, बस्न्यातले रक्षामन्त्री पोखरेल र मन्त्रालय समक्ष प्रवेशिका, प्रमाणपत्र र स्नातक तहका शैक्षिक प्रमाणपत्र, सैनिक परिचयपत्र, सञ्चयकोष परिचयपत्र, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको आफ्नो नागरिकता र नागरिकता कुन सालमा जारी भएको भन्नेबारे काठमाडौं प्रशासन कार्यालयबाट प्रमाणित कागजात बुझाइसकेका छन् । जबकी, उनको बढुवा रोक्नका लागि नक्कली प्रमाणपत्रको जालसाजीको खेलमा थापा लागेका थिए ।

‘सबै आधिकारीक प्रमाण बुझाइसकेपछि किन बढुवाको सिफारिस लिएर प्रधानसेनापति सरकारसम्म पुग्दैनन् ?’, स्रोत भन्छ,‘उनको नियतमै खोट छ । उनी नियतवस सैनिक कमाण्डलाई भत्काएर सेनामा राजनीतिक दमनजस्तो गर्न खोजिरहेका छन् ।’

Post a Comment

0 Comments