Subscribe Us

नेपाल र म्यान्माको खेल बराबरीमा टुङ्गियो


काठमाडौँ, २६ कात्तिक । महिला ओलम्पिक–२०२० को एसिया क्षेत्रको छनोट चरणको प्रारम्भिक चरणअन्तर्गत आज भएको खेलमा नेपालले म्यान्मासँग बराबरी खेलेको छ । म्यान्माको याङ्गोनस्थित थुनुवा स्टेडियममा भएको समूहको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली म्यान्मासँग १–१ गोलको बराबरीमा खेल्दै अङ्क बाँडेको हो । यस खेलसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कायम नै रहेको छ ।

नेपालका लागि खेल शुरुआती दोस्रो मिनेटमा सावित्रा भण्डारीले पेनाल्टीमार्फत गोल गरिन् । म्यान्माको डिफेन्डर वाई वाई औङले फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

त्यस्तै खेलको पहिलो हाफको १३औँ मिनेटमा नै म्यान्माकी खेलाडी खिन मो वाईले १ गोल फर्काउँदै खेललाई १÷१ गोलको बराबरीमा ल्याइन् । यसअघि नेपालले आफ्नो पहिलो खेलमा भारतसँग पनि १–१ को बराबरी नै खेलेको थियो ।

यस खेलसँगै नेपालले अङ्क तालिकामा दुई अङ्क जोडेको छ भने भारत र म्यान्माले समान ४÷४ अङ्क जोडेका छन् । बङ्गलादेश भने अङ्कविहीन रहेको छ । प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन् ।

यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् । ओलम्पिकका लागि पहिलो चरणमा एशियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । ओलम्पिकको एशियन छनोटअन्तर्गत नेपाल रहेको समूह ‘सी’ मा भारत, म्यान्मा र बङ्गलादेश छन् । अब नेपालले समूह चरणको अन्तिम खेल यही कात्तिक २७ गते बङ्गलादेशसँग खेल्नेछ ।

Post a Comment

0 Comments