Subscribe Us

पर्यटकीय गन्तव्यमा सूचीकृतसँगै पुम्दीकोटवासी उत्साहित


पोखरा, २८ कात्तिक । पोखरा महानगरपालिका–२२ पुम्दीकोटलाई सरकारले स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यमा सूचीकृत गरेसँगै यस क्षेत्रको विकास हुने आशा जगाएको छ ।

पर्यटकीय गन्तव्य बनाउन पुम्दीकोटमा शिव भगवान्को १०८ फिट अग्लो मूर्तिसहितका संरचना बनाउन थालिएको छ । यहाँबाट पोखरा उपत्यकासहित हिमाली शृङ्खला अवलोकन गर्न सकिन्छ । पुम्दीकोटको सम्भावनालाई उजागर गर्न संरचना निर्माण गर्न लागिएको सो अभियानका संयोजक एवं पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयो । “सरकारले यसलाई प्रवद्र्धन गर्नुपर्ने गन्तव्यमा सूचीकृत गरेपछि हामी उत्साहित भएका छौँ,” उहाँले भन्नुभयो । पुम्दीकोट पोखराको मुख्य बजारक्षेत्रबाट झण्डै १३ किमी दक्षिण पश्चिममा रहेको छ ।

यसअघि यहाँ २०७३ फागुनमा महाशिवपुराण लगाउँदा रु छ करोड १८ लाखसहित २० रोपनी जग्गा दान प्राप्त भएको थियो । अभियानलाई साकार पार्न उद्योगपति कमल जैनले महादेवको मूर्ति निर्माण गर्न सहयोग गर्नुहुने भएको छ । वीरगञ्जका उद्योगपति मुरलीधर रुङ्गटा र समाजसेवी एवं अभियानका संयोजक बरालले रु एक÷एक करोड सहयोग गर्नुभएको छ । त्यस्तै अन्य व्यक्तिले रु २५ लाख सहयोग गरेका छन् ।

“गुरुयोजना तयार गरी त्यसअनुरुप काम अघि बढाएका छौँ,” समितिका सहसचिव प्रकाश बरालले भन्नुभयो । गुरुयोजनाअनुसार सबै काम सम्पन्न गर्न रु ४० करोड लाग्ने अनुमान गरिएको छ । मूर्ति र त्यसको आधार निर्माण गर्न मात्र रु १८ करोड लाग्ने बराल बताउनुहुन्छ । मूर्तिको वरिपरि १०८ शिवलिङ्ग निर्माण गरिनेछ । परिसरमा १०८ स्वर्गद्वारी सिँढी, रुङ्गाटा बैकुण्ठ हल, गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्तिस्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, पार्किङस्थललगायत संरचना निर्माण गरिनेछ ।

पुम्दीकोटबाट फेवातालसहित पोखरा, अन्नपूर्ण, माछापुच्छ«ेलगायतका हिमशृङ्खला एकसाथ देख्न सकिन्छ । प्रकृतिको अनुपम दृश्यले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको पोखरा महानगरपालिका–२२ का वडा सदस्य मात्रिका बराल बताउनुहुन्छ । पूर्वाधार निर्माण गर्न आर्थिक वर्ष २०७३÷७४ मा पर्यटन मन्त्रालयले रु २० लाख विनियोजन गरेको थियो । चालु आवमा मन्त्रालयले रु ८० लाख विनियोजन गरेको छ । पोखरा महानगर र समितिबीच ५०÷५० प्रतिशत सहभागिता कार्यक्रमअन्तर्गत रु छ करोडको सम्झौता भएको छ । चालु आवमा रु तीन करोडको काम भइरहेको छ । सो काम तीन महीनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

मूर्ति निर्माणस्थल र त्यस आसपासमा पूर्वाधार विकासका क्रममा विगतमा पनि स्थानीय विकास मन्त्रालय, साविक जिल्ला विकास समिति, खानेपानी तथा सुपरीवेक्षण कार्यालयलगायतले सहयोग गरेको थियो । समुन्द्र सतहदेखि झण्डै एक हजार ५०० मिटरको उचाइमा रहेको पुम्दीकोटमा दृश्यावलोकनका लागि शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा भ्यूटावर निर्माण गरिएको छ । पोखराको छोरेपाटनदेखि पुम्दीकोटसम्म पुग्ने मार्गलाई व्यवस्थित गर्ने समितिको योजना छ । पर्यटकलाई लक्ष्य गरी चार पदमार्गलाई समेत व्यवस्थित गर्न लागिएको छ । 

Post a Comment

0 Comments