Subscribe Us

प्रहरी महानिरीक्षक खनालले भने, ‘शिर ठाडो हुने गरी काम गर्छु’


तनहुँ, १० मंसीर ।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तनहुँवासीको शिर ठाडो हुने गरी आफूले काम गर्ने बताउनुभएको छ ।

आफ्नो जन्मगाउँ तनहुँको भानु नगरपालिका–६ टुहुरे पसलमा आइतबार आयोजित स्वागत कार्यक्रममा महानिरीक्षक खनालले तनहुँ आफ्नो जन्म जिल्ला भएका कारण यहाँको हरेक समस्या समाधान र सुरक्षामा आफ्नो ध्यान केन्द्रित रहने बताउनुभयो ।

महानिरीक्षक खनालले प्रहरी र समुदायबीचको सम्बन्ध सुमधुर बनाउन समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरु गरिएको र अभियान सार्थक बनाउन स्थानीयवासीको साथ र सहयोग आवश्यकपर्ने बताउनुभयो ।

सो अवसरमा स्थानीयवासी कृष्ण ढकालले आफ्नै ठाउँको मान्छे प्रहरीको उच्च सङ्गठनमा पुग्दा खुशी लागेको बताउनुभयो । स्थानीय रनबहादुर श्रेष्ठ, तीलक खत्रीलगायतले उच्च ओहोदामा पुगेर तनहुँको नाम राख्न सकेकामा प्रहरी महानिरीक्षकलाई बधाई ज्ञापन गरेका थिए । प्रहरी महानिरीक्षक खनालले आज नै इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे र प्रहरी चौकी टुहुरे पसलकोसमेत निरीक्षण गर्नुभएको छ ।

यसबीच महानिरीक्षक खनालले समाजमा हुने अपराध र अपराधीको नेपाल प्रहरीले दोलो काढेर छाड्ने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले दमौलीमा आयोजना गरेको तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको दशौँ दिन महानिरीक्षक खनालले भन्नुभयो, “एक÷दुई ठाउँमा घटना भयो भन्दैमा प्रहरी अत्तालिनु हुँदैन ।”

उहाँले नागरिकको रक्षामा खटिएका ७५ हजार नेपाल प्रहरी सदैव कर्तव्यनिष्ट र असल प्रहरी बनेर शान्तिसुरक्षामा अहोरात्र खट्न समग्र प्रहरी सङ्गठनलाई आग्रह गर्नुभयो । 

Post a Comment

0 Comments