Subscribe Us

मानवसेवा आश्रम गोङ्गबुलाई सहयोग


काठमाडौँ,  ९ मङ्सिर । सातौँ राष्ट्रिय कर दिवसका अवसरमा नेपाल व्यापार सङ्घ नयाँसडकले मानवसेवा आश्रम गोङ्गबुलाई न्यानो लुगा सहयोग गरेको छ ।

सङ्घले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा शुक्रबार आश्रमका बालबालिका र वृद्धवृद्धालाई रु ६० हजार बराबरको न्यानो लुगा सहयोग गरेको हो । सो आश्रममा हाल ५२ बालबालिका र वृद्धवृद्धा छन् । आन्तरिक राजश्व कार्यालय नयाँसडक शाखाका कर अधिकृत रामप्रसाद मैनालीले कर दिवसको उपलक्ष्यमा व्यापार सङ्घले मानवसेवा आश्रमलाई सहयोग गरेर उदाहरणीय काम गरेको बताउनुुभयो ।

पूर्वसचिव सुरेशमान श्रेष्ठले खुला आकाशमुनि रहेका असहाय व्यक्तिलाई उद्धार, उपचार र पालनपोषण गरेर आश्रमले मानवसेवाको क्षेत्रमा उत्कृष्ट काम गरेको बताउनुभयो । नेपाल व्यापार सङ्घका अध्यक्ष कुमार कार्की, उपाध्यक्ष हरि गौतम, महासचिव कृष्ण अधिकारीलगायतले आगामी दिनमा पनि व्यापार सङ्घ सामाजिक सेवाको क्षेत्रमा काम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आश्रमका संयोजक सुमन बर्तौलाले सडकमा बसिरहेका असहाय व्यक्तिलाई आश्रमले आश्रय दिएको र यस्ता व्यक्तिलाई राज्यले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । विसं २०६९ मा स्थापना भएको उक्त आश्रमले हालसम्म दुई हजार असहाय व्यक्तिको सेवा गरिसकेको छ । मकवानपुरमा मुख्य कार्यालय रहेको आश्रमले चितवन, काठमाडौँ, गोरखा, कैलाली, पर्सा, लमजुङ, कास्की, रुपन्देही र ललितपुमा शाखा कार्यालय स्थापना गरी असहायको सेवा गर्दै आएको छ । 

Post a Comment

0 Comments