Subscribe Us

जोशी हाइड्रोलाई साधारण शेयर बिक्रीको अनुमति


काठमाडौँ, २० कात्तिक । नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रो पावर कम्पनीलाई रु १४ करोड ४८ लाख ४६ हजार बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ ।

आयोजना प्रभावित इलामवासीलाई साधारण शेयर बिक्री गरिसकेको सो कम्पनीलाई बोर्डले कूल पूँजीको १५ प्रतिशत बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो ।

सो कम्पनीले इलाममा तीन मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले गत जेठमा आयोजना प्रभावितलाई रु तीन करोड ७१ लाख ४० हजार बराबरको तीन लाख ७१ हजार ४०० कित्ता शेयर बिक्री गरिसकेको छ ।

कम्पनीको समग्र अवस्था विश्लेषण गर्ने कम्पनी इक्रा नेपालले गरेको परीक्षणमा जोशी हाइड्रो पावरले ग्रेड पाँच पाएको छ । जुन कम्पनीको वित्तीय अवस्था खराब रहेको मानिन्छ ।

यस्तै साधारण शेयर बिक्रीको तयारीमा रहेको भैरवकुण्ड जलविद्युत् कम्पनीलाई इक्रा नेपालले ग्रेड पाँच दिएको छ । सो कम्पनीले रु ३१ करोड ८३ लाख २८ हजार बराबरको ३१ लाख ८३ हजार २८० कित्ता शेयर बिक्री गर्न लागेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोकवासीलाई रु छ करोड ५० लाख बराबरको छ लाख ५० हजार कित्ता शेयर बिक्री गर्नेछ ।

कम्पनीले सिन्धुपाल्चोकमा तीन मेगावाट क्षमताको भैरवकुण्ड जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । 

Post a Comment

0 Comments