Subscribe Us

बायोमेडिकल ईन्जिनीयरीङ सरकारको नीति र कार्यक्रममा मात्र सिमित भयो

    ई.हरीराम दवाडी
    बायोमेडिकल इञ्जिनीयर          


विस २०४६ सालमा गोरखाको हंसपुर गाउँ विकास समिति वडा नं ४ मा जन्मनुभएका ईन्जिनीयर हरीराम दवाडी ज्ञानज्योती उच्च माध्यामिक विद्यालयबाट एसएलसी र शक्ति उच्च माध्यामिक विद्यालय गोरखाबाट प्लस टु पास गर्नुभएको हो । सन् २००८ बाट बायोमेडिकल अध्ययनका लागि कलेज अफ बायोमेडिकल ईन्जिनीयरीङमा भर्ना हुनुभएका उहाँ सन् २०१२ बाट बायोमेडिकल ईन्जिनीयरीङमा काम गर्र्दै आउनुभएको छ । उहाँसँग थुप्रै अस्पताल तथा संघ संस्थामा काम गरेको अनुभव छ । सुरुमा राष्ट्रिय मृगौला केन्द्र बनस्थलीबाट इन्टनशीप सुरु गर्नुभएका उहाँले चिरायु नेशनल अस्पताल, पिपुल्स मेडिकल कलेज, जनमैत्री अस्पताल, अल नेपाल अस्पताल, बालमैत्री अस्पताल, कान्तिपुर डेन्टल कलेज, नेपाल नेशनल अस्पताललगायतमा बायोमेडिकल इन्जिनीयरका रुपमा काम गरिसक्नुभएको छ । सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागको नेशनल वाइड मेन्टिनेन्स कार्यक्रमअन्तर्गत सुदूर तथा मध्यपश्चिम क्षेत्रका ३० जिल्लामा सिनियर वर्कसप म्यानेजरका रुपमा काम गर्नुभएको अनुभव उहाँसँग छ । यस्तै, हेल्थ केयर इन्टरनेशनल र हेल्थ टेक इन्जिनीयरीङ कन्सल्टेन्सीमा कन्सलटेन्ट बायोमेडिकल ईन्जिनीयर भएर कार्य गरिसक्नुभएको छ । साथै, बायोमेडिकल इन्जिनीयरीङ फाउण्डेशन नेपाल (विफोन)को संस्था पक संयोजक भएर काम गरिरहनुभएको छ । यसैगरी, एशियाका विभिन्न अस्पताल तथा नेपालको सरकारी,  तथा नीजि अस्प्तालमा बायोमेडिकल सम्बन्धि सहयोग गरिरहेको ग्रेडियन हेल्थ सिस्टम अमेरिकाको संस्थामा कन्सल्टेन्ट भई काम गर्नुभएका दवाडीसँग अपराधखबर डटकमले  गरेको कुराकानीको सम्पादित अंश ।


बायोमेडिकल ईञ्जिनीयरीङ भनेको के हो ? 

बायोमेडिकल ईञ्जिनीयरीङ व्यवहारीक विज्ञानको पाटो हो । जसमा मेडिसीन तथा बायोलोजीसम्बन्धी विभिन्न मेडिकल उपकरणहरुमा आउने समस्याहरुलाई समाधान गर्न विज्ञान तथा प्रविधिमा रहेका विभिन्न प्रक्रियाहरुलाई उपयोग गरी डिजाइन, प्रयोग र मर्मतसम्भार सम्बन्धी समस्याको समाधान गर्नु हो ।
किन बायोमेडिकल क्षेत्र नै रोज्नुभयो ?

मेरो सानैदेखि मेडिकल क्षेत्रमा काम गर्ने इच्छा थियो । विज्ञान विषयमा प्लस टु पास गरेपछि विज्ञान विषयमा नै स्नातक गर्दागर्दै छाडेर यस क्षेत्रमा प्रवेश गरेको हुँ । छोराले अर्कै विषय पढोस् भन्ने बुबाआमाकोे चाहना थियो । तर मलाई बायोमेडिकल विषय नै पढ्न मन लाग्यो । मुलुकमा नयाँ विषय र मलाई पढ्न इच्छा लागेको विषय भएकाले म यस क्षेत्र रोजेको हुँ ।

बायोमेडिकल ईञ्जिनीयरले गर्ने कार्यहरु के के हुन् ? 

बायोमेडिक उपकरणको तथा बायोमेडिकल सम्बन्धि सम्बन्धित सामानहरुको गुणस्तर जाँच गर्ने, बायोमेडिकल उपकरणलाई चुस्त काम गर्ने अवस्थामा राख्नु, यसको अध्ययन अध्यापन तालिम तथा अनुसन्धान गर्नुलगायत रहेका छन् ।

नेपालमा बायोमेडिकल ईञ्जिनीयरीङको अवस्था कस्तो छ  ? 

नेपालमा बायोमेडिकल इन्जिनीयरको आवश्यकता धेरै देखेको छु । सोचेजस्तो बायोमेडिकल ईञ्जिनीयरीङको अवस्था रहेको छैन । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको नीति तथा कार्यक्रममा पनि बायोमेडिकल ईन्जिनीयर राख्ने भन्ने व्यवस्था गरेको छ । तर त्यसको कार्यान्वयन हुन सकेको छैन । बायोमेडिकल ईन्जिनीयरीङ अध्ययन गरेका प्राविधिकहरु केही विदेश केही नेपालकै नीजि अस्पताल तथा स्वास्थ्यसँग सम्बन्धित संघ संस्थामा कार्यरत छन् । केही भने मेडिकल इक्यिुमेन्ट सप्लार्यसमा कार्यरत छन् । तत्काल अवस्थामा बायोमेडिकल ईन्जिनीयरको आवश्यकता महसुश गरी सरकारले पनि सरकारी क्षेत्रमा करारमा राखेको छ । हाम्रो देशमा यो क्षेत्रको विकास ढिलो सुरुवात भएको हो । सरकारी अस्पतालमा बायोमेडिकल ईञ्जिनीयरको स्थायी दरबन्दीको व्यवस्था नभएको देखिन्छ ।

नेपालका अस्पतालमा बायोमेडिकल उपकरणहरुको अवस्था कस्तो छ  ?

राम्रो प्रश्न गर्नुभयो, नेपालमा बायोमेडिकल उपकरणको अवस्था एकदमै नाजुक रहेको छ । किनकी, नेपाल सरकारले हरेक अस्पताललाई पर्याप्त मात्रामा उपकरण वितरण गरेको छ । सबै सरकारी अस्पतालहरुमा अहिले बायोमेडिकल उपकरणहरु पुगेका छन् । तर त्यसको सही सदूपयोग हुन सकेको छैन । कतिपय उपकरणहरु प्रयोग नै नगरीकन स्टोरमा थन्केर बसेका छन् । कतिपय उपकरणहरु सामान्य मर्मत गर्न नसकेर थन्केका छन् । कतिपय ठाँउमा बायोमेडिकल टेक्निसियन छन् । उनीहरुले सामान्य मर्मत गरेर सञ्चालन गरीरहेका छन् भने अधिकाशं अस्पतालमा भने टेक्निसियन पनि नभएको अवस्था रहेको छ । साथसाथै अस्पतालमा कुन उपकरणको आवश्यकता हो भनी निरीक्षण नगरीकन उपकरण पठाउने गरेकोले गर्दा पनि प्रयोगविहिन भई उपकरणहरु बसिरहेको अवस्था छ । यदि बायोमेडिकल ईन्जिनीयर तथा टेक्निसियनसँग सरसल्लाह गरी उपकरण खरिद तथा वितरण गर्ने हो भने उपकरणको सहि सदूपयोग हुने थियो ।

बायोमेडिकल ईञ्जिनीयरीङको विकासका लागि के गर्न सकिन्छ ? 

यो क्षेत्र नेपाल ओझेलमा परेको क्षेत्र हो । अति आवश्यक हुँदाहुँदै पनि सरकारको प्राथमिकतामा परेको छैन । नेपाल सरकारको कार्यक्रम तथा नीतिअनुसार यो क्षेत्रलाई देशभरका सरकारी अस्पतालमा लैजानका लागि लोकसेवा मार्फत ईन्जिनीयरहरु भर्ना गर्नुपर्दछ । जसले गर्दा सबै सरकारी अस्पतालमा बायोमेडिकल ईन्जिनीयरले काम गर्न पाउँछन् । स्वदेशमै रोजगारी सृजना गरेपछि वर्षेनी ठूलो मात्रामा विदेशका विभिन्न अस्पतालमा काम गर्न तथा अध्ययन गर्न गएका बायोमेडिकल ईन्जिनीयरहरुलाई स्वदेशमै फिर्ता गर्न सकिन्छ ।

अहिले नेपालमा बायोमेडिकल ईञ्जिनीयरीङ कति छन् ?

नेपालमा बायोमेडिकल ईञ्जिनीयरीङ विषयको पढाई ढिला सुरु भएको हो । त्यसै कारणले अन्य क्षेत्रमा जस्तो यस क्षेत्रमा बायोमेडिकल ईञ्जिनीयरीङको संख्या उल्लेख्य छैन । मलाई लाग्छ हाल नेपालमा ५०० को हाराहारीमा नेपाल ईन्जिनीयरीङ काउन्सिलमा दर्ता भएको देखिन्छ ।

तपाईँ विफोनको संस्थापक संयोजक हुनुहुन्छ । यसले बायोमेडिकल ईञ्जिनीयरीङको क्षेत्रमा के काम गर्दैछ ? 

राम्रो प्रश्न गर्नुभयो, निश्चयपनि यो संस्थाले काठमाडौँ तथा काठमाडौँ बाहिर विभिन्न जिल्लामा रहेका सरकारी, सामुदायिक तथा नीजि क्षेत्रका अस्पतालमा विग्रेका स्वास्थ्य उपकरणहरु बनाउनका लागि सेवा दिँदै आइरहेको छ । भर्खर ईञ्जिनीयरीङ विषय पढेर आएका विद्यार्थीलाई उच्चस्तरीय प्राविधिक तथा उपयोग गर्ने डक्टर, नर्स, टेक्निसियनलाई पनि तालिम प्रदान गर्दै आइरहेका छौँ । नेपालमा बनाउन नसकेका र त्यतिकै थन्किएर रहेका स्वास्थ्य उपकरणहरुलाई पहिलोपटक स्वदेश तथा  विदेशका वरिष्ठ प्राविधिक मार्फत सेवा दिँदै आएका छौँ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ? 

नेपालमा थुप्रै सरकारी तथा नीजि अस्पतालहरु सञ्चालनमा रहेका छन् । यी अस्पतालमा रहेका उपकरणहरु दिनहुँ बिग्रन्छन् । यसको मर्मत सम्भारका लागि सरकारले सके छुटै विभाग नसके महाशाखा खोलेर एउटा मापदण्ड निर्धारण गरी यसको सेवा देशभर पु¥याउनु जरुरी छ । यसो गरेमा यो विषय पढेका विद्यार्थीहरुले रोजगार पाउनुका साथै नेपालको स्वास्थ्य क्षेत्रमा सुधार आउने देख्दछु । नेपालमा दक्ष बायोमेडिकल इन्जिनीयर तथा टेक्निसीयनहरु कार्यरत छन् । यी सबैको सहि सदूपयोग गर्न सके उपकरणका कारणले सेवा लिन नसकेका नेपाली जनताले समयमा नै सेवा पाउने थिए ।

( बायोमेडिकल ईञ्जिनीयर हरीराम दवाडी बायोमेडिकल इञ्जिनीयरीङ फाउण्डेशन नेपाल (विफोन)का संयोजक हुनुहुन्छ ।)

Post a Comment

0 Comments