Subscribe Us

स्वयम्भूस्थित बहुमङ्गलद्वारमा पर्यटक


काठमाडौँ, ९ मङ्सिर । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा रहेको बहुमङ्गलद्वार चैत्य पर्यटकको आकर्षण केन्द्रका रुपमा स्थापित भएको छ ।

महाचैत्य तथा त्यस आसपास क्षेत्रबाट काठमाडौँ उपत्यकाको मनोरम दृष्यलाई नजिकबाट अवलोकन गर्दा उत्पन्न हुने शान्त र आनन्दको अनुभवले स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेको छ ।

स्वयम्भू महाचैत्यदेखि करीब २० मिटरको दुरीमा रहेको सो चैत्य विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति भएपछि करीब रु ५५ लाखको लागतमा मर्मत सम्पन्न गरिएको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिनुभयो ।

करीब १० मिटर अग्लो उक्त चैत्यमा पाँच खण्ड छ, यसको निर्माणमा प्रयोग भएका शैली, शील्प तथा बास्तुकला राम्रो भएकाले धेरैको मन जितेको छ । विभिन्न देवी देवताको साना ठूला गरी १२० मूति रहेका चैत्य नजिक पुग्दा पर्यटक रमाउने गरेको पाइएको छ ।

उक्त चैत्य ईश्वी संवत् १८७५ जुन २८ मा हर्षरत्नद्वारा आफ्ना पिता धर्मसिंहको नाममा गरेको बताइएको छ । सो चैत्यको नजिक रहेको भजन घरमा गत वर्ष आगलागी भएपछि सामान्य टहरामा धार्मिक गतिविधि हुँदै आएको छ । 

Post a Comment

0 Comments