Subscribe Us

पोखरामा थपियो नयाँ साहसिक खेल


चिप्लेढुङ्गा, २ मङ्सिर । पोखरामा पर्यटनमा साहसिक खेलको रूपमा शनिबारदेखि हट एयर बेलुन पनि थपिएको छ ।

साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङलगायत अब हट बेलुन उडानबाट पर्यटकले पोखराको सुन्दरता दृश्यावलोकन गर्न पाउने भएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार यसको उद्घाटन गर्नुभएको हो । मुख्यमन्त्री गुरुङले पोखरा आउने पर्यटकका लागि हट एयर बेलुन उडानले पर्यटकलाई थप आकर्षित गर्ने बताउनुभयो । उहाँले प्रदेशको समृद्धिको आधार पर्यटन क्षेत्र भएको बताउँदै नयाँनयाँ गतिविधिले पर्यटन विकासमा टेवा पुग्ने धारणा राख्नुभयो ।

प्रदेश सरकारले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको बताउँदै मुख्यमन्त्री गुरुङले जनसङ्ख्याको हाराहारीमा पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य रहेको छ भन्नुभयो ।

हट एयर बेलुन उडाउन प्रालिले रु एक करोड ५० लाखको लागतमा इटलीबाट यो बेलुन मगाएको बेलुन प्रालि नेपालका प्रबन्ध निर्देशक प्रवीण महर्जनले जानकारी दिनुभयो ।

बेलुन चढ्न नेपाली पर्यटकले रु ११ हजार र विदेशी पर्यटकले १६० डलर तिर्नुपर्नेछ । सानो बेलुनमा छ जना र ठूलो बेलुनमा आठ जनासम्म उडाउन सक्ने यसको क्षमता छ । बेलुन चढ्ने प्रत्येक यात्रुको रु २० हजार डलरको बीमा गरिएको महर्जनले बताउनुभयो ।

निकट भविष्यमा ‘हट एयर’ बेलुनबाटै स्काइडाइभ, बञ्जीजम्प र हट एयर बेलुनसँग सम्बन्धित अन्य साहसिक कार्यक्रम गर्दै जाने र त्यसको सम्भाव्यता अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो । 

Post a Comment

0 Comments