Subscribe Us

पर्यटकीय गन्तव्य बन्दै सुरुङमार्ग


लमजुङ, २९ कात्तिक । लमजुङको मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा निर्माण गरिएको सुरुङमार्ग यतिबेला पर्यटकको आकर्षण केन्द्र बनेको छ ।

हिमाली जिल्ला मनाङ तथा उत्तरी लमजुङ जाने अधिकांश आन्तरिक पर्यटकको रोजाइ बनेको सो सुरुङमार्गलाई नेपालकै पहिलो सुरुङमार्ग मानिन्छ । सुरुङमार्ग ३४० मिटर लम्बाइको छ ।

“आफ्नै देशभित्र फरक अनुभव लिन पाउँदा छुट्टै आनन्द लाग्दो रहेछ”, दाङ घोरहीबाट तिलिचो घुम्न आउनुभएका नेपाल जेसीस घोराहीका अध्यक्ष राज घिमिरेले भन्नुभयो, “तिलिचो घुम्न आउँदा यहाँको सुरुङमार्ग देख्न पाइयो । सुरुङमार्ग हुँदै मनाङ जान पाउँदा रमाइलो भयो । मनाङ जाने भनेर नआएको भए सुरुङमार्ग छ भन्ने पनि थाहा हुँदैनथ्यो ।”

पर्यटकीय मौसम भएकाले पनि सुरुङमार्ग हेर्नेको भीड लाग्ने गरेको स्थानीय बताउँछन् । भुलभुलेमा निर्माण गरिएको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले उक्त सुरुङमार्ग निर्माण गरेको हो ।

सुरुङमार्ग, जलविद्युत् आयोजना र झरनासमेत भएपछि भुलभुले आन्तरिक तथा बाह्य पर्यटकको नयाँ गन्तव्य बनेको मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । सोही बाटो भएर सयौँ आन्तरिक तथा बाह्य पर्यटक अन्नपूर्ण पैदलयात्रामा पनि जाने गर्छन् । मङ्सिर ३ देखि ६ गतेसम्म आयोजना गर्न लागेको पहिलो मस्र्याङ्दी महोत्सवमा आउनेलाई सुरुङमार्ग हुँदै त्यस क्षेत्रअन्तर्गतका झरना तथा पर्यटकीयस्थलमा अवलोकन गर्ने व्यवस्था मिलाइने गुरुङले बताउनुभयो ।

सुरुङमार्गमा १८ टनभन्दा बढी तौलका सवारीसाधनलाई प्रवेश निषेध गरिएको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताउनुभयो । “सुरुङमार्गमा धेरै लोड भएका सवारी साधनलाई रोक लगाएका छौँ । उहाँले भन्नुभयो, “अन्यको हकमा भने खुला गरेका छौँ । जो कोही पनि घुम्न र हिँड्न पाउँछन् ।” 

Post a Comment

0 Comments