Subscribe Us

दश महीनामा ११ लाखले लुम्बिनी भ्रमण गरे


काठमाडौँ, ९ मङ्सिर । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सन् २०१८ को दश महीनामा ११ लाख ४८ हजार ४८२ जना स्वदेशी तथा विदेशीले भ्रमण गरेका छन् ।

लुम्बिनी विकास कोषकाअनुसार लुम्बिनी भ्रमणमा नेपालीको सङ्ख्या अत्याधिक रहेको छ । दश महीनाको अवधिमा आठ लाख ९२ हजार ३६१ जनाले लुम्बिनीको भ्रमण गरेका छन् ।

यस्तै एक लाख ३२ हजार १८२ भारतीय पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । तेस्रो मुलुकका एक लाख २३ हजार ९३९ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । सन् २०१८ को जनवरीमा ९५ हजार ८२३ नेपालीले लुम्बिनी भ्रमण गर्दा १२ हजार ९८८ भारतीय र अन्य देशका नौ हजार ७१४ जनाले भ्रमण गरेका छन् ।

यस्तै सन् २०१८ को अक्टोबरमा ८८ हजार ५८२ नेपालीले भ्रमण गर्दा १६ हजार ९०८ जना भारतीय र अन्य देशका १८ हजार ३८८ जनाले भ्रमण गरेका छन् । कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले हरेक वर्ष लुम्बिनी भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै आएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार लुम्बिनीमा श्रीलङ्काका ३७ हजार १३ जनाले लुम्बिनी भ्रमण गरेका छन् । यस्तै म्यान्माका १४ हजार २२४ जनाले लुम्बिनी भ्रमण गर्दा थाइल्याण्डका १४ हजार ७७९ पर्यटकले भ्रमण गरेका छन् । यस्तै सन् २०१८ को अगस्तसम्म १० हजार ५७७ जना चिनियाँ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।

उपाध्यक्ष त्रिपाठीले लुम्बिनी क्षेत्रको भौतिक पूर्वाधार निर्माणमा विशेष ध्यान दिइएको र पर्यटकमैत्री बनाइएका कारण पनि पछिल्ला दिनमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको जानकारी दिनुभयो । आगामी जेठभित्र गौतमबुद्ध विमानस्थलसमेत निर्माण सम्पन्न भई सञ्चालनमा आउने भएकाले पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने उहाँको दाबी छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी क्षेत्रको भौतिक विकासका लागि सरकारले दीर्घकालीन लक्ष्यका साथ काम गरिरहेको छ । आगामी तीन वर्षभित्र लुम्बिनी गुरुयोजनालाई पूरा हुने गरी काम अगाडि बढाइएको छ ।

लुम्बिनी क्षेत्रभित्रको भौतिक पूर्वाधारको विकास, प्रचारप्रसारलाई समेत विशेष जोड दिइएको जानकारी दिँदै उहाँले सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा लुम्बिनीसमेत विशेष प्राथमिकतामा रहेको बताउनुभयो । 

Post a Comment

0 Comments