Subscribe Us

यस्तो थियो गृहमन्त्री र आइजी सिध्याउने डरलाग्दो खेल

आईजी सर्वेन्द्र खनालसँग घंैटे ईन्काउन्टरको बदला 
भारतमा बसेर दाउदको शैलीमा नेपालमा त्रास फैलाउने रणनीति
प्रहरीकै केही अधिकारीसँग नियमित संम्पर्क 

हाईप्रोफाईल व्यक्तिहत्या पश्चात गृहमन्त्री र आईजी बर्खास्तमा पार्ने योजना कसको ? 


काठमाडौं । अन्डरवल्र्ड डन दाउद इब्राहिम शैली पछ्याउँदै व्यक्तिहत्या तथा फिरौती असुल्दै आएका कुख्यात गुण्डा नाईके समिरमानसिंह बस्नेतले हाईप्रोफाइल हत्या गरी गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल हटाउने योजना बनाएको रहस्य खुलेको छ । 
महानगरीय अपराध महाशाखाले गत साता पक्राउ गरेका तीन अभियुक्तको बयानबाट यस्तो डरलाग्दो तथ्य खुलेको हो । सुटर अंमर रानामगर, लोप्साङ लामा र रोशन बुढाथोकीको बयानले यस्तो खुलासा गरेको हो । त्यो बयानको भिडियो रेकर्ड गृह मन्त्रालय पुगेको छ । उच्च स्रोतका अनुसार गुण्डा नाईके बस्नेतले पछिल्लो समय प्रतिष्ठित मिडिया मालिकको हत्या योजना बनाएको स्रोतले जनाएको छ । 
उक्त हत्या योजनाको सूचना अपराध महाशाखाले पाएपछि महाशाखाको विशेष टोलीले मिडिया मालिकमाथि गोप्य रुपमा निगरानी गर्दै सुटरको खोजी थालेको थियो । दुई महिनाको निगरानी पछि महाशाखाको टोलीले बस्नेतका तीन सुटरलाई पक्राउ गर्न सफल भएको हो ।

सुटरको पक्राउसँगै तत्कालका लागि गुण्डा नाईके बस्नतको योजना असफल भएको छ । उक्त योजनामा बस्नेतको मात्र हात नभई केही राजनीतिक व्यक्ति र प्रहरीकै उच्चअधिकारीको समेत संलग्नता रहेको आशंका छ । सुटरको पक्राउ अगाडी नै बस्नेतको योजना तुहिएपछि गृहमन्त्रीको ठाडो आदेशमा बस्नेतलाई मुस्ताङ कारागार सरूवा गरिएको थियो । तर उनको परिवारले बन्दी प्रत्यक्षीकरणको रिट हालेपछि उनलाई पुन अदालतमा हाजिर गराउन काठमाडौं झिकाईएको हो । हाल बस्नेत केन्द्रीय कारागारकोे गोलघरमा छन् ।

बस्नेतले मिडिया मालिकका लागि किन सुटर खटाए भन्ने विषयमा प्रहरी र गृहमन्त्रालयले सुक्ष्म अनुसन्धान थालिसकेको छ ।  
गृहमन्त्रालय स्रोतका अनुसार यस बिषयमा छानबिन समीति बन्न सक्छ । कारागारमा रहेका बस्नेतको प्रहरीका केही अधिकारीसँग समेत नियमित सम्पर्क रहेको प्रमाण समेत महाशाखाले फेला पारेको छ । 

प्रहरीको खोजिमा रहेका अभियुक्तसँग समेत प्रहरीका केही अधिकारी नियमित संम्र्पकमा रहेको अनुसन्धानमा खुलासा भएको छ । यो संम्पर्कले प्रहरीका केही अधिकारी पनि बस्नेतको काममा सहयोगी भएको गृह मन्त्रालयको ठम्याई छ । सुरक्षामा अस्थिरता कायम गरी बस्नेत आइजी खनाल बर्खास्त भएको देख्ने इच्छामा रहेको सूटरले नै बताएका छन् ।

आफ्ना मित समेत रहेका कुख्यात गुण्डा नाईके घैंटे भनिने कुमार श्रेष्ठको ईन्काउन्टरको बदला लिन बस्नेतले मिडिया मालिक हत्याको योजना बनाएको उच्च प्रहरी स्रोत बताउँछ । उक्त योजना पुरा हुँदा सुरक्षा अस्थिरता आउने र गृहमन्त्री थापा र आइजी खनाललाई नैतिक प्रश्न उठ्न सक्ने थियो । 
को हुन् बस्नेत
काठमाडौं बाफलका स्थानीय बस्नेतले २०६० सालबाट गुण्डागर्दीको सुरूवात गरेका हुन् । बाफलमा टोले गुण्डाका रूपमा उदाएका बस्नेतलाई तत्कालिन समयमा अर्का गुण्डा नाईके काजी शेर्पाले मलजल गरेका थिए । ठमेलबाट दिपक मनाङ्गेले लखटेपछि समूह खडा गर्न थालेका शेर्पाले बस्नेतलाई भित्राएका थिए ।

मनाङ्गेलाई आक्रमण गर्ने योजना बनाएर हातहतियार सहित ठमेल छिरेका शर्पा सहित बस्नेतलाई तत्कालिन लैनचौर प्रहरी प्रमुख ईन्सपेक्टर हाल एसपी अशोक सिंहले आधा दर्जन तरबार र खुकुरीसहित ज्याठाबाट पक्राउ गरेका थिए । 

बस्नेतको यो पहिलो प्रहरी हिरासत थियो । केही सार्वजनिक अपराधमा २४ दिन हिरासतको बसाई पश्चात धरौंटीमा रिहा भएपछि शेर्पा र बस्नेतले चक्रेबाट रिसाएका कुमार घैंटेलाई समूहमा भित्राएका थिए । कुमार घैंटेको आगमनसँगै यो समूह झनै उग्र रूपमा गुण्डागर्दीमा संगल्न हुन थाल्यो । 

२०६१ मा मठेलको संचयकोष चोकमा ग्याङ फाईट हुँदै गर्दा तरबार सहित प्रहरीको भ्यानमा ठोकिन पुगेका बस्नेत राती हिरासतको बाथरूमको झ्यालबाट फरार भएका थिए । घैंटे, बस्नेत र शेर्पाको समूहले रात्रीकालिन र रेष्टुरेन्ट र बालुवाखानीलाई आयस्रोतको माध्यम बनाउँदै संगठित रूपमा फिरौती धन्दा पनि चलाउने थाले । मेनपावर, कलेज हुदै टेण्डर कब्जामा यो समूह सक्रिय हुन थाल्यो । शेर्पा ठेकदारकै रूपमा स्थापित हुन थाले भने गुण्डागर्दीको नाईके कुमार घैंटे बन्न पुगे । घैंटेका मुख्य सहयोगीका रूपमा बाफलका बस्नेत उदाए ।

तर तीन बर्ष अगाडी प्रहरी ईन्काउन्टरमा घैंटे मारिएपछि बस्नेतले त्यसको बद्ला लिन प्रहरीलाई निशाना बनाए । रहस्य खुलासा भएपछि बस्नेत फरार भई भारतको बिभिन्न ठाउँमा बस्दै आएका थिए । प्रहरीले तत्कालिन समयमा साजन गुरूङ र कारजोन गुरूङको पक्राउसँग बस्नेतको प्रहरीमाथि आक्रमण गर्ने योजना तुह्यो । 

घैंटे इन्काउन्टरमा मारिएपछि प्रहरीका तत्कालिन महाशाखाका एसएसपी सर्वेन्द्र खनाल (हाल आईजी)सँग बदला लिन समूहलाई परिचालन गर्दै आएको सूचनाको चुहावट भएपछि बस्नेत फरार भई भारत छिरेका थिए । भारतमा मनोज पुनसँग भेट भएपछि पुन बस्नेतले काठमाडौंमा फिरौंतीको धन्दा चर्काएका थिए । फिरौंतीको रकममा कुरा नमिल्दा व्यवसायी तथा निमार्ण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गरेको समेत पुष्टि भईसकेको छ ।

दावा लामाको हत्या योजना, दुर्गा तिवारीको हत्या समेत बस्नेतकै योजना र आदेशमा भएको गत साता पक्राउ परेका तीन सुटरले खुलासा गरेका छन् । सुटरले बस्नेतपत्नीे माया शेरचनले हतियारको व्यवस्थापन र खर्चको चाँजोपाँचो मिलाउने गरेको बयान दिए । माया पनि अहिले प्रहरी हिरासतमा पुगेकी छिन् । 

घैंटेको ईन्काउन्टरपछि भारतमा लुकेका बस्नेतलाई विवादित ठेकेदार सन्तोष गौतमले सूचना दिने गरेको समेत पक्राउ परेका सुटर मध्यका लोप्साङले बयान दिएका छन् । लोप्साङले भने, ‘मैले चिनेको छैन, तर समिरलाई ठेक्कापट्टा सबन्धित सूचना र ठेकदारको नम्बर सन्तोष भन्ने व्यक्तिले उपलब्ध गराउँदै आएका थिए । नियमित जसो सन्तोष भन्ने व्यक्ति र समिरको भाईबरमा कुरा हुन्थ्यो ।’

हत्या भएको एक महिना अगाडी  दश अर्बको  हुलाकी राजमार्गको टेण्डर चिनियाँ कम्पनीलाई दिलाउन गौचन सफल भएका थिए । जसमा गौचनको समूहले महासंघको नाममा ठेक्का दिलाईदिए बापत ५० करोड कमिशन लिएका थिए । उक्त पैसा ठेक्का दिलाउने निकायदेखि महासंघका पदाधिकारीमा समेत भागबण्डा गरिएको थियो । 

महासंघ स्रोतका अनुसार भागबण्डामा नपरेका ठेकदार सन्तोष गौतमले गुण्डा नाईके बस्नेतको प्रयोग गरेर गौचन हत्या भन्दा एक महिना अगाडीदेखि गौचनलाई तीन करोडको अफर गर्दै आएको थियो । तर, गौचनले यी सब कुरा हल्का रूपमा लिदै वास्ता नगरेपछि बस्नेतको आदेशमा गौचनमाथि गोली प्रहार गरिएको सुटर अंमर राणाले समेत पुष्टि गरेका छन् ।  

को हुन् सन्तोष गौतम ?
प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैंटेका पार्टनरका रूपमा चिनिने हेटौंडाका सन्तोष गौतमले गुण्डाका नाईकेलाई सहयोग र दुरूपयोग गर्दै आएको महासंघ स्रोत बताउँछ । गौतमले घंैटेका मित समिरमान बस्नेतलाई सहयोग गरी दुरूपयोग गर्दै आएको रहस्य समेत अहिले खुलासा हँुदै आएको छ । 

गौतमको गोली काण्डमा संलग्नता छ वा छैन भन्ने बारेमा प्रहरी टोलीले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको स्रोत बताउँछ  ।स्रोतका अनुसार गौतमको अपराध महाशाखा र सिआईबीका केही भ्रष्ट प्रहरीसँग राम्रो सम्बन्ध रहेका कारण उनी अनुसन्धानको दायरामा सजिलैसँग तानिन सकेका छैनन् । 

घैंटे इन्काउन्टर पश्चात गुमनाम रहेका गौतम प्रहरीसँग हिमचिम बढाउन पुगेका थिए । घैंटेको करोडौं रकम उनीसँग भएको भन्दै अपराध महाशाखाका तत्कालिन प्रमुख खनालले निगरानी राखेका थिए । घैंटेपत्नी पिङ्की शेर्पाले समेत गौतमसँग करोडौं रूपैयाँ भएको दाबी गर्दै आएकी छिन् ।

तर, गौतमले भने चिनजान भएको तर कुनै व्यवसायीक साझेदारी नभएको दाबी गर्ने गरेका छन् । गजुरमुखी निमार्ण सेवाको शेयर होल्डर समेत रहेका गौतमले कुनै ताका टेण्डर कब्जा गर्नकै लागि घैंटेलाई आफ्नो कम्पनीमा भित्राएका थिए । 

गौचन हत्या पश्चात बनेको तत्कालिन डिआईजी गणेश केसीको छानबिन समीतिले समेत गौतमको बयान लिएको थियो । तर केही नेता र प्रहरीकै सक्रियतामा गौतम जोगिएको स्रोतको दाबी छ । 


Post a Comment

0 Comments