Subscribe Us

दुवईमा सुन तस्करसँग भेटेको छैन : आईजीपी खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले दुबई भ्रमणका क्रममा आफूले कुनै सुन तस्करसँग नभेटेको स्पष्ट पारेका छन् । विभिन्न सञ्चारमाध्यममा आईजीपी खनालले सुन तस्करसँग भेटेको समाचार आएपछि उनले उक्त आरोपको खण्डन गरेका हुन्।

आईजीपी खनाल इन्टरपोलको महासभामा सहभागी हुन एक साता अघि दुबई गएका थिए। उनको साथमा डीआईजी निरज शाही, एसएसपी देउती गुरुङ, एएसपी उमेशराज जोशी भ्रमणमा गएका थिए । बिहीबार खनाललाई एनआरएनको कार्यक्रममा सहभागी हुन निम्तो दिइएको थियो । कार्यक्रममा पूरै बस्न नभ्याउने भएपछि आफू १ घन्टाका लागि मात्र कार्यक्रममा गएको र लगत्तै फ्लाइट भएकाले फर्किएको खनालले बताए । 

उनले भने–‘एनआरएनको कार्यक्रममा सहभागी भएको हुँ, नेपालीहरुको कार्यक्रम भनेपछि जान पनि मन लाग्यो, त्यहाँ कोको आउँछन् सबैलाई चिन्ने कुरा भएन । सोही रात फ्ल्याइट भएपछि हामी कार्यक्रम नसकिदैँ फर्किएका हौं।’

यसैबीच आईजीपी खनालका बारेमा एक अनलाईनबाट प्रकाशित समाचारलाई राष्ट्रिय स्तरका मिडिया हाउसले समेत ‘कपी’ गरेर प्रकाशन गरेपछि कुनै एक गिरोह आईजीपी विरुद्ध योजनाबद्ध तरिकाले लागेको प्रष्ट हुन्छ । यसैबीच एनआरएनए यूएईले एक प्रेस विज्ञप्ति जारी गर्दै आईजीपीले कसैसँग पनि भेटघाट नगरेको प्रष्ट पारेको छ ।

Post a Comment

0 Comments