Subscribe Us

हिन्दु राज्य बनाउन यतिसम्म हुँदैछ,
को–को हुन् दरबारका ‘कठपुतली’ ?

देशलाई रणभुमी बनाउनका लागि क्रिश्चियनको पैसा खाएर धर्म मास्ने नेताहरूले केही महिनामा नै चमत्कार देख्नेछन्

गणतन्त्रका नाममा राजसंस्था र नेपालको परिचय बेच्नेहरूविरुद्धको संघर्षका लागि मैदान खुला भइसकेको छ कुनै एक या दुई दलको एकीकरणले हिन्दू अभियान पुरा हुँदैन, यसका लागि तल्लो तहसम्म नै अभियान सञ्चालनको तयारी पुरा भइसकेको छ  


काठमाडौं । लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको १२ बर्षको अभ्यासपछि मुलुकमा हिन्दु राज्य र राजसंस्थाको फरक आन्दोलन चर्काउने अभ्यासको थालनी भएको छ । यो अभियानका लागि हिन्दु धर्म मान्ने राजनीतिक पार्टी, हिन्दु धर्मका लागि आन्तरिक द्वन्द्व गरिरहेका मूलधारका राजनीतिक पार्टीका नेता र हिन्दू धर्मका अभियन्ता सक्रिय छन् । 
यो अभियानका लागि नेपालको पशुपति नाथमा रहेको कर्मवीरदेखि कन्याकुमारीसम्म रहेको शिव सेनाको सहकार्य र समन्वय बलियो भएको बताइन्छ । नयाँ दिल्लीले पनि नेपालमा हिन्दु धर्मको आन्दोलनका लागि सहयोगी भुमिका खेल्ने उच्च स्रोतहरूको दाबी छ । यसको नेतृत्व नै पूर्वराजा ज्ञानेन्द्र शाहले गर्ने भएका छन् । उनी प्रत्यक्ष नभए पनि परोक्ष नेतृत्वमा रहने दाबी गरिएको छ ।
हालैमात्र पूर्वराजा शाहले गरेको मुम्बई भ्रमणका क्रममा त्यहाँका हिन्दूवादी संस्थासहित राज ठाकरेको शिव सेनाले नेपालमा हिन्दुत्व कायम गराउनका लागि सहयोग गर्ने आश्वासन दिएको थियो । शिव सेना भारतीय जनता पार्टीसँग गठबन्धनमा रहेको एउटा सशक्त शक्ति हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि नेपालमा हिन्दु राज्य स्थापना गराउनका लागि दरबारसँग सकारात्मक छन् । 
यसका लागि यता दरबारले राजनीतिक आन्दोलनको पनि तयारी गरेको छ । दरबारले पञ्चायतकालदेखि नै प्रयोग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका हाँगाविगा फेरि जुट्ने तयारीमा छन् । दरबार र सत्ताको वरिपरि घुमिरहेको राप्रपाका सबै पक्ष गत चुनावमा उत्तानो परेपछि फेरि दरकारको वरिपरि घुम्न थालेका छन् । नेपालमा एक अलग प्रकारको आन्दोलनका लागि पूर्वराजा ज्ञानेन्द्र शाहको ‘कठपुतली’शैलीमा राप्रपा एकीकरणको नयाँ चरणमा प्रवेश गरेको छ ।
यतिमात्र होइन, नेपाली कांग्रेसमा हिन्दु राज्यको परिकल्पना सुरू भएको छ । त्यसका लागि कोइराला परिवारको सक्रियता अघि बढेको छ । हिन्दुत्वको नारा उचालेका प्रभावशाली नेता खुमबहादुर खड्काको निधन भएपछि कांग्रेसमा हिन्दुत्वको खडेरी लागेको थियो । हुन त सभापति शेरबहादुर देउवा नै कुनै बेला दरबारको कठपुतली थिए । अहिले पनि दरबारीयासँग नाता कायम भएका देउवालाई राजनीतिक विरासतमा उभिनका लागि पनि गणतन्त्रको पक्षधरताका रूपमा देखिएको छ । त्यसैले हिन्दुत्व र धर्म सापेक्षताको विषयमा आगामी राजनीतिक नारा लिँदै पूर्वराजाको सहयोगी बनिरहेका छन् विपी कोइरालापुत्र डा. शशांक । उनीसँगै डा. शेखर कोइराला, सुजाता कोइरालाले पनि हिन्दु धर्मलाई निर्विकल्प बनाउनका लागि कांग्रेसभित्र लविङ थालेका छन् ।  
शाहले एकीकरणका लागि दिएको दबाबको एक वर्षपछि तीन राप्रपा एकीकरणको तयारीमा जुटेका हुन् । गत बर्ष झापा भ्रमणमा पुगेका बेला शाहले राप्रपा एकीकरण गरी हिन्दूवादी आन्दोलन अघि बढाउन दबाब दिएका थिए । तर गणतन्त्र र धर्म निरपेक्षता स्वीकार गरी सत्ताको स्वाद पनि चाखेका पार्टीले त्यसलाई गहनताका साथ लिएका थिएनन् । हिन्दूवादी आन्दोलन चर्काउने घोषणा सहित प्रजातान्त्रिक राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले पनि राप्रपा एकीकरणको प्रयासबारे खुलासा गरेका छन् । 
दरबारसँग नजिक रहेका र इतिहास जोडिएको दललाई नै सक्रिय बनाएर शाहले नेपालमा हिन्दूवादी आन्दोलन अघि बढाउने तयारी  गरेका छन् । २०१९ मा हुन लागेको भारतको लोक सभाको चुनावमा भारतीय जनता पार्टीले हिन्दूवादी नारालाई बलियो बनाइरहेका बेला त्यसको हावा नेपालमा पनि चलाउने तयारी दरबारको रहेको छ । २६ जनवरी, २०१९ मा भारतमा पूर्वराजाले गणतन्त्र दिवसको औपचारिक कार्यक्रममा सहभागीता जनाउनुअघि नेपालमा पनि हिन्दूवादी आन्दोलनलाई मुकाम दिने तयारी भएको छ । 
धार्मिक अनुष्ठान, सभा सम्मेलनलाई बलियो बनाउँदै नेपाललाई हिन्दू राज्य कायम गर्दै, व्यवस्था परिवर्तनका लागि राजसंस्थाको पुनः उदय गराउने अभियानमा शिव सेना नेपाल, विश्व हिन्दु महासंघ, यसका लागि भारतीय संस्थापनले बहुमतमा रहेको नेपाल कम्युनिस्ट पार्टीको हिन्दूवादी कित्तालाई अलग गराउने तयारी गरेको छ ।‘कम्युनिस्ट पार्टीका कतिपय नेता हिन्दुत्व र राजसंस्थाका विषयमा उदार छन् । पश्चिमाले प्रयोग गरेका आधारमा धर्म निरपेक्षता लादियो । यसलाई चिर्न सबैतिरबाट सक्रिय सहयोग हुने आश्वासन छ’, स्रोतले भन्यो । 

त्यसो त हिन्दुत्व जोगाउनका लागि शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलगायतको एउटा समूहले देशव्यापी रूपमा जनमत पनि बुझेको थियो । उक्त जनमत बुझ्नका लागि पूर्वयुवराज पारस शाह पनि सक्रियताका साथ हिँडेका थिए । यो अभियानले पूर्णता पाउने हिन्दुवादीहरूको विश्वास छ । ‘लोकतन्त्रका नाममा १० बर्ष हिंसा गरेको एउटा शक्ति आज कहाँ विलय भएको छ ? राजसंस्था र हिन्दुत्व भनेको आस्थामात्र होइन, विचार पनि पनि बनिसकेको छ । यो विलय हुँदैन’, स्रोतले भन्यो,‘स्थापित गराई छाड्ने योजनाअनुसार कुटनीतिक प्रयोगका काम पनि भइरहेका छन् ।’ 


Post a Comment

0 Comments