Subscribe Us

माइक्रो चालक र सहचालकलाई फ्लोरेसेन्ट ज्याकेट


काठमाडौँ, २ मङ्सिर । काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले शनिबारदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुरको संयुक्त आयोजनामा शनिबार न्यूरोड गेटबाट उक्त अभियानको निरन्तरता दिइएको हो ।

उपत्यकाका सबै रुटमा समेत रुट नम्बर र रुटको नामसमेत सवारी साधनमा राख्ने व्यवस्था शनिबार देखि नै शुरु भएको छ ।

महाशाखाका तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन शुरुआत गरे पनि प्राविधिक कारण सम्पूर्ण चालक र सहचालकले ज्याकेट लगाउन सकेका थिएनन् ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त अभियानले निरन्तरता पाएसँगै उपत्यकाभित्र दुर्घटना न्यूनीकरण हुने, चालक सहचालकमा अनुशासन कायम हुने र सवारी प्रयोगकर्ताले सहजै चालक र सहचालकको पहिचान गर्न सक्ने बताउनुहुन्छ ।

“चालक र सहचालकलाई ज्याकेट लगाएसँगै आचरण र व्यवहारमा परिवर्तन हुने र यात्रु र चालक सहचालकको सम्बन्धमा सुधार हुने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । ठूला सवारी साधनका चालक तथा सहचालकलाई समेत क्रमशः ज्याकेट लगाउने व्यवस्था गर्ने उहाँले बताउनुभयो ।

महासङ्घका महासचिव सरोज सिटौला ज्याकेटले चालकको पहिचान, रातिको समयमा चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने बताउनुहुन्छ । “अभियानले चालक र सहचालकलाई मर्यादित र अनुशासन कायम गर्न मद्दत पुग्ने हुँदा अभियानको कार्यान्वयनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लाग्नेछ”, उहाँले भन्नुभयो ।

नेपाल यातायात मजदुर सङ्घ क्षेत्रीय संयोजक जगन्नाथ गौतम, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईलगायतले प्लोरोसेन्ट ज्याकेट लगाएसँगै यातायात मजदुरलाई अनुशासित बनाउन सिकाउने भएकाले मजदुर लगाउन प्रतिबद्ध भएको बताउनुभयो ।

“अभियानले मजदुर, व्यवसायी र ट्राफिक प्रहरीको सहकार्यलाई समेत मद्दत पुग्नेछ”, उहाँहरुले भन्नुभयो । महाशाखाले यसअघि उपत्यकामा सञ्चालित ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको थियो ।

सोहीअनुसार हाल उपत्यकाका सम्पूर्ण ट्याक्सी चालकले प्लोरोसेन्ट ज्याकेट लगाउँदै आएका छन् । हाल काठमाडौँ उपत्यकाका १५ रुटमा एक हजार हाराहारीमा माइक्रोबस सञ्चालनमा रहेका छन् । 

Post a Comment

0 Comments