Subscribe Us

‘सुन्तला जोन’ कार्यक्रम शुरु


कावासोती, २ मङ्सिर । नवलपरासीको नवलपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ‘सुन्तला जोन’ कार्यक्रम शुरु गरिएको छ ।

सुन्तलाको राम्रो उत्पादन हुँदै आएको नवलपुरको पहाडी क्षेत्रमा हाल रहेको उत्पादनलाई वृद्धि गदै व्यवसायीकरण गराउन ‘सुन्तला जोन’ कार्यक्रम शुरु गरिएको हो । यहाँ कम्तीमा ५०० हेक्टर क्षेत्रफलमा सुन्तला जातका फलफूल उत्पादन हुने भए पछि कार्यक्रम लागू भएको बताइएको छ ।

गैँडाकोट नगरपालिकाको पहाडी क्षेत्र वडा नम्बर १८, बुलिङटार गाउँपालिकाको सबै क्षेत्र, बौदिकाली गाउँपालिकाका तीन वडा, हुप्सेकोट गाउँपालिका–५ र देवचुली नगरपालिका–६ लाई समेटेर ‘सुन्तला जोन’ कार्यक्रम शुरु गरिएको छ । उक्त कार्यक्रम शुरु भएपछि सुन्तला खेती गर्ने कृषकलाई लाभ पुग्ने कृषक गणेशबहादुर रानाले बताउनुभयो ।

सो कार्यक्रम शुरु गरिएको चालू वर्षमा समूह तथा सहकारीको विवरण अध्यावधिक, बगैँचा व्यवस्थापन, १०० हेक्टर क्षेत्रफल विस्तार, सिँचाइ र गोठ सुधारका कार्यक्रम गरिने वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

हाल रहेका सुन्तला बगैँचा व्यवस्थित नरहेका, सुन्तलाका बिरुवासँगै मकै तथा कोदो लगाउने गरिएको र काँटछाट गर्ने काम नभएकाले प्रारम्भिक रुपमा यसलाई व्यवस्थित गरिने उहाँले बताउनुभयो । घरको मललाई व्यवस्थित बनाउन ५० गोठ सुधारको कार्यक्रमसमेत सञ्चालन गरिने बताइएको छ ।

सुन्तला, कागती, निबुवा, भोगटे, मौसमलगायतका सुन्तला जातका फलफूल बालीको उत्पादन बढाउन तथा बजारीकरण गर्न उक्त कार्यक्रमले सहयोग पु¥याउने उहाँले बताउनुभयो । यस वर्ष रु एक करोड २१ लाख बराबरको कार्यक्रम गरिने छ ।

कार्यक्रममार्फत सुन्तला जातका बिरुवामा ५० प्रतिशत, सिँचाइका लागि ८५ प्रतिशत, कृषि औजारका लागि ५० र सङ्कलन केन्द्र निर्माणका लागि ८५ प्रतिशत अनुदान प्रदान गरिने उहाँले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षमा २० हजार बिरुवा उत्पादन गर्ने गरी नर्सरी निर्माणको योजना तयार गरिएको छ । 

Post a Comment

0 Comments