Subscribe Us

समृद्ध नेपाल बनाउन पर्यटन क्षेत्रको विकास आवश्यक


सिन्धुली, २५ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउन पर्यटन क्षेत्रको विकासमा आफू लागेको बताउनुभएको छ । ‘सुखी नेपाली र समृद्ध नेपाल’को सपनालाई साकार बनाउन ओझेलमा परेका र सम्भावना भएका क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास र विस्तार सरकारले गर्ने लक्ष्य लिएको बताउनुभयो ।

आज ऐतिहासिक स्थल सिन्धुलीगढीमा आयोजना गरिएको २५१ औँ विजय दिवसलाई सम्बोधन गर्नुहुँदै उहाँले सरकारले १०० गन्तव्य स्थलमध्ये सिन्धुलीगढीलाई राखेको जानकारी दिनुभयो ।

अहिले पहिलो पटक पर्यटकीय स्थलको रुपमा विकास गर्न रु ५० लाख बजेट विनियोजन गरेको भन्दै जीर्ण अवस्थामा रहेको दरबारको तत्काल पुनःनिर्माण कार्य शुरु गर्न कमलामाई नगरपालिकालाई निर्देशन दिनुभयो । ‘‘यसमा सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्नेछ’’ उहाँले भन्नुभयो ।

नेपालीको वीरताको गाथा बोकेको सिन्धुलीगढी पछि परेको भन्दै मन्त्री अधिकारीले स्थानीय सरकारले बनाएको गुरुयोजनाअनुसार पुनःनिर्माणको काम गर्न आग्रह गर्नुभयो ।

नेपाल भौगोलिक अवस्थाले धेरै सम्पन्नता भएको देश र यसलाई सही तबरले परिचालन गरे रोजगारी, आम्दानी पर्यटनबाटै सिर्जना गर्न सकिने उहाँको भनाइ रहेको थियो । मन्त्री अधिकारीले निजी क्षेत्रसँग सहकार्य गरेर नेपालका धेरै स्थललाई पर्यटकका लागि गन्तव्य स्थलका रुपमा सरकारले विकास र विस्तारमा जोड दिएको छ भन्नुभयो ।

इतिहासको कालखण्डमा अङ्ग्रेज सेनाको फौजलाई हराएर पठाएको दिन आज ऐतिहासिक दिन भएकाले यसलाई आधार बनाएर नेपाली स्वाभिमानलाई कसैले पनि गिराउन नसक्ने उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “संविधान निर्माण भइसेकपछि स्थानीय, प्रदेश र केन्द्रीय सरकार आफ्नो व्यवस्थाअनुसार एकैसाथ अघि बढेकाले राष्ट्र र जनताको समृद्धि र विकासको यात्रा शुरु भएको छ ।”

समारोहमा प्रदेश नं ३ का अर्थमन्त्री कैलाश ढुङ्गेलले सिन्धुलीगढीको पुनःनिर्माणका लागि आवश्क पर्ने बजेट विनियोजन गर्ने बताउनुभयो । ऐतिहासिक स्थल र पर्यटकका लागि गन्तव्य स्थल भएकाले जीर्ण दरबारको पुनःनिर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने भएकाले पुनःनिर्माणको काम शुरु गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले सिन्धुलीगढीको पुनःनिर्माण गर्न रु १७ करोड लाग्ने भएकाले सो रकम प्राप्त भएमा नगरपालिकाले दुई वर्षमा पुनःनिर्माण गरी उक्त रकम फिर्ता दिनेसमेत बताउनुभयो ।

तत्कालीन कप्तान किनलोकको नेतृत्वमा आएको अङ्ग्रेज फौजलाई विसं १८२४ को मध्यमा यही स्थलमा गोर्खाली फौजले बहादुरीपूर्वक लडेर परास्त गरेका थिए । विसं १८२४ कात्तिक २४ गते नेपाली फौजको नेतृत्व श्रीहर्ष पन्त, वंशराज पाण्डे र वंशु गुरुङलगायतको टोलीले अङ्ग्रेज फौजलाई सिन्धुलीगढी क्षेत्रबाट हराएर पठाएको इतिहासमा उल्लेख भएको सिन्धुलीगढीका अन्वेषणकर्ताको भनाइ छ ।

अङ्ग्रेज सेनालाई पहिलोपटक १८२४ मा कत्तिक २४ गतेका दिन कहिल्यै नफर्किने गरी हार चखाएको स्मरणमा विगत नौ वर्षदेखि सिन्धुलीगढीमा विजय उत्सव मनाउँदै आइरहेको छ ।

नेपाल र नेपालीको वीरताको गाथा रच्न सफल सिन्धुलीगढीको संरक्षण र सम्बद्र्धनमा सम्बन्धित निकायबाट कुनै पनि चासो नदेखाएपछि नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाले २०६७ सालदेखि मनाउन थालेको विजय उत्सव गत वर्षबाट कमलामाई नगरपालिकाले जिम्मेवारी लिएको छ ।

यसैबीच गैरआवासीय नेपाली सङ्घले ऐतिहासिक सिन्धुलीगढी संरक्षण तथा पुनःनिर्माणसम्बन्धी गुरुयोजना कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । गैरआवासीय नेपाली सङ्घ र कमलामाई नगरपालिकाबीच सिन्धुलीगढी जीर्णोद्धार एवम् पुनःनिर्माण गुरुयोजना तयार पार्ने सम्बन्धमा भएको सहमतिअनुसार उक्त गुरुयोजना तयार गरी हस्तान्तरण गरिएको छ । 

Post a Comment

0 Comments